सप्ताहन्त

नेपालको भूगोल रचना गर्ने : पृथ्वीनारायण, रखवारीमा सक्रियः बुद्धिनारायण

ध्रुवहरि अधिकारी |
भदौ ५, २०७८ शनिवार १५:२० बजे

बुद्धिनारायण श्रेष्ठको नवीनतम् कृति अङ्ग्रेजीमा आएको छः The Border Man of Nepal (अर्थात् सीमारक्षक यद्वा पाले)  

आवरण हेर्दै अनुमान हुन्छ, यो श्रेष्ठको आत्मकथा हो । तर निजी जीवन  सरकारी सेवामा रहँदाका उकाली–ओराली र वृत्तिविकास सन्दर्भ मात्र छैनन्– यस पुस्तकमा । वास्तवमा यस किताबलाई लेखकले नेपालको सिमाना र नाप–नक्साहरूको नालीबेली केलाउने प्रकाशन बनाएका छन्– आफूलाई पथ–प्रदर्शकको भूमिकामा उभ्याउँदै ।


आवरणमा देखिएको सीमा–स्तम्भ (मुर्चल) र लेखकले त्यसको व्याख्या गर्ने सिलसिलामा फैलाएको ठूलो कागजले पुस्तकका करिव ३५० पृष्ठमा पाइने सचित्र पाठ्य–सामग्रीलाई इङ्गित गरेको छ ।

आवरणभित्रका पाताहरू पल्टाउन थालेपछि उपयोगी सूचना,नक्सा र तस्बिरहरू त पाइने नै भयो; थपमा केही रोचक घोचक प्रसङ्ग पनि भेटिन्छन् । जङ्गे पिलरको चर्चा आउँदा रोचक कुरा पाइन्छन् भने दक्षिणतर्फका सीमा–स्तम्भहरू हराएका,उत्तरतिर ठेलिएका घटनाबारे लेख, आलेख लेख्ने आफ्नो कामलाई भूमिसुधार मन्त्रालयका सचिवले हतोत्साहित गर्ने ध्येयले निवृत्तिभरण रोक्का गराइदिनेसम्मका कुरा आएका रहेछन् । 

यी प्रसङ्गलाई घोचक मान्दा फरक परोइन । लेखक यस्तोमा भारतीय दबाब चर्को परेको हुनुपर्छ भनेर अड्कल गर्छन् । 

पूर्व, पश्चिम र दक्षिणमा गरेर भारतसँग १,८०० किलोमिटरभन्दा बढी लामो सीमारेखा भएजस्तै नेपालको उत्तरतर्फ १,४०० किलोमिटरभन्दा बढीको चीनको तिब्बत दोसाँधी पर्छ। यी सीमारेखाहरूको रखबारी गर्ने काम बहालमा रहेका सरकारी यन्त्र,संयन्त्रहरूको त हो, देशको ‘भौगोलिक अखण्डता’ को रक्षा गर्ने जिम्मेवारी नेपाली सेना र सशस्त्र प्रहरी बलले पाएका पनि छन्– संविधान र ऐन मुताविक । 

तर बुद्धिनारायण ढुक्क हुन सक्दैनन् । जनस्तरबाट प्रकट हुनुपर्ने तीन करोड नेपालवासीको चिन्ता बुद्धिनारायणले लिंदैआएका छन् । ७१+१ ठाउँमा नेपाली भू–भाग मिचिएको छ, मिचिने क्रम चलिरहेको छ । सीमा, नापी, सर्वेक्षण लगायतका विषयमा जानकार नेपाली हुन् । अनि  कसरी टुलुटुलु हेरेर बसिरहुन् ? कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रको अतिक्रमण जग–जाहेर छ । सुस्ताको नेपाली भूमिमा विवाद निकालिएको वर्षौं भैसककेको छ ।  

मेची–महाकाली बीचका ६८ जिल्ला पुगेका लेखकले आफ्नो अध्ययन किताबी र सैद्धान्तिक पढाइमा भन्दा स्थलगत जानकारी बटुल्नमा बढी लगाएको देखिन्छ । ‘पढेर भन्दा परेर’ हासिल हुने ज्ञानको वजन अधिक हुने कुरामा लेखकको विश्वास छ । सुदूरपूर्व र सुदूरपश्चिम दुबैतर्फ जाँदा उनले बेहोरेका जोखिमहरू त्यसै कुराका प्रमाण हुन् । किताबमा परेका यस प्रकृतिका सूचनाको विश्वसनीयता महत्वपूर्ण पक्ष हो ।

भूगोलमा स्नातकोत्तर (एम् ए) गरेपछि गरेका थप अध्ययन र लिएका अतिरिक्त तालीमसँगसँगै लेखकले इतिहासप्रतिको आफनो अभिरुचि निकै बढाएको रहेछ । त्यो पाटो ठाउँ–ठाउँमा प्रकट भएको छ । सन् १८१६को सुगौली सन्धि यस्तै एक उदाहरण हो । यसको धारा ५ ले नेपालको दाबी (महा)काली पारिको भूभागमा नलाग्ने भनेर किटानसाथ लेखिदिएको छ । यसको तात्पर्य महाकाली नदीको पल्लो तटसम्मको नेपालको दाबी जायज मानिनु पर्छ। जङ्गबहादुरको बहादुरी र त्यसबाट नेपाललाई भएको लाभको चर्चा पनि लेखकबाट सविस्तार भएको छ ।  

‘खुल्ला सिमाना’ को सन्दर्भ कोट्याउने क्रममा लेखकले अफ्रिकी देश नाइजेरिया–बेनिन सिमानाको स्थलगत अवलोकन गरेको बेहोरा किताबमा परेको छ । अन्यत्र पनि कतिपय ठाउँमा गई त्यहाँको प्रचलन बुझेको देखिन्छ । क्यानडा–अमेरिका र मलेसिया–सिंगापुरका सिमाना ‘खुल्ला’ किसिमका रहेछन् । पर्खाल, काँडेतार आदिको छेकबार नभए तापनि सिमानामा ओहोर–दोहोर गर्नेले आफ्नू साथमा हरघडी परिचयपत्र (वा राहदानी) राख्नुपर्छ, र खोजेको बेला देखाउनु पर्दो रहेछ । लेखकले नेपाल–भारतको सन्दर्भमा पनि यस्तो बन्दोबस्त गरिहाल्नु पर्छ भनेर सही तर्क दिएका छन् । जब हवाइजहाजबाट नेपाल र भारतका बीच यात्रा गर्नेको हकमा यो नियम लागू भैसकेको छ भने जमीनको बाटो सिमाना पार गर्नेहरूलाई उही व्यवस्था लागू गर्न के कठिनाइ छ ? 

तीनवटा बुँदा

१. तथ्य–तथ्याङ्क र नक्सामा आधारित तथ्यगत कृति हुँदाहुँदै पनि प्रस्तुतिको अनौपचारिक शैलीले यस पुस्तकलाई लामो कथा (वा उपन्यास) जस्तो बनाइदिएको छ। ‘खेकोब’ नामक सूत्रधार खडा गरेर ती मार्फत आफ्ना अनुभव र अनुभूति पाठकहरूसँग बाँडचुँड गर्ने लेखकको तरीका रोचक लाग्दछ । 

२.लेखकको विषयगत अध्ययन,स्थलगत वार्ता र बहस र सम्बन्धित ऐेतिहासिक सामग्रीका आधारमा लेखिएको हुनाले यो पुस्तक नेपाली सेना र सशस्त्र प्रहरी बल दुबै संस्थाको लागि उपयोगी प्रकाशन हुने प्रष्टै छ ।

३. नेपालको भलो चाहने विदेशी मित्रहरू संसारैभर छन्; अनुसन्धानकर्ताहरूको संख्या पनि बढ्दो छ। प्रवासमा बसेका नेपाली र नेपालीभाषीमध्ये कतिपयले यस पुस्तकमा समेटिएका कुराहरू अङ्ग्रेजीमा पढ्न सजिलो मान्ने परिस्थिति पनि विद्यमान छ। यी सबै समूहको लागि पनि यो किताब घतलाग्दो पाठ्य–सामग्री हुनेछ ।

कविशिरोमणि लेखनाथको कथन छः––

                       दबिन्छ गुणीको दोष गुणका राशिमा परी ।
                       रश्मीले चन्द्रको दाग दबाएकै छ बेसरी ।

कतै हिज्जे नमिलेको,कहीं सम्पादनमा पर्याप्त ध्यान नपुगेको, पुनरुक्ति परेको जस्ता कुराहरूबाट यो ग्रन्थ  पनि मुक्त छैन । अङ्ग्रेजीमा दखल भएका विद्वान्ले त भाषासम्बन्धमा केही अन्य कुरा पनि भन्न सक्लान् । तर यस्ता कमजोर आधारले यस किताबको गहनता घटाउन सक्दैनन् । एक दर्जनभन्दा बढी कृति नेपाली वाङ्मयलाई एक्लैले दिइसकेका लेखक आफैंले पनि यीमध्ये कतिपय कुरा ठम्याइसकेको हुनुपर्छ । आगामी संस्करणमा संशोधन,परिमार्जन र सुधार हुने अपेक्षा गरौं ।
 


Author

थप समाचार
x