सप्ताहन्त

प्रतीक्षालयबाट प्रत्यक्ष प्रसारण

विज्ञान राज |
भदौ १२, २०७८ शनिवार ७:११ बजे

म थपक्क बसेको छु प्रतीक्षालयमा । म प्रायः थपक्क नै बस्‍ने गर्छु प्रतीक्षालयमा । मलाई प्रतीक्षालयमा थपक्क बस्‍न मन पर्छ । जुन प्रतीक्षालयमा म थपक्क बस्‍न सक्दिनँ त्यहाँबाट तुरुन्त उठिहाल्छु । नजिकै अर्को प्रतीक्षालय छ भने बस्‍ने कोसिस गर्छु । यदि त्यस प्रतीक्षालयमा पनि म थपक्क बस्‍न सकिनँ भने हिँडिहाल्छु । जुन प्रतीक्षालयले यात्रुहरूलाई थपक्क बसाल्न सक्दैन । त्यो प्रतीक्षालय मेरो निम्ति प्रतीक्षालय होइन । त्यो अरु नै केही हो । त्यो अरु नै केही हुनुपर्छ । 

यस्तै म एउटा प्रतीक्षालयमा थपक्क बसेको छु । जुन प्रतीक्षालयमा म बसेको छु उक्त प्रतीक्षालय कहाँनेर छ जस्तो प्रश्नमा हामी कोही पनि नअल्झेकै बेस । त्यो जहाँ भए पनि धर्तीमा नै अवस्थित छ । यसलाई यसरी भनौँ न त्यो प्रतीक्षालय जहीँ तहीँ छ । त्यो प्रतीक्षालय तिनीहरूलाई सजिलै भेटिन सक्छ, जसलाई थपक्क बस्‍न मन पर्छ र थपक्क बस्‍ने आदत बसेको छ । 


थपक्क बस्‍नुलाई तपाईंले कसरी अर्थ्याउनु भयो ? मैले भन्‍न खोजेको र तपाईंले बुझेको अर्थमा भिन्‍नता त आएन ? म कामना गर्छु त्यस्तो भिन्‍नता सकभर नआओस् । तैपनि यस विषयमा म केही स्पष्ट पारिदिन्छु । कसैको अनुपस्थितिमा बिल्कुल शान्त भएर, फगत मगजमा कुराहरू खेलाएर, अनि आफैँमा तल्लीन भएर बस्‍नुलाई थपक्क बस्‍नु भनेको हुँ । थपक्क बस्‍नुको मेरो आफ्नो निजी अर्थ हो । त्यसैले ठयाक्कै यसको अर्थ यही नै नहुन जाला । सबैको विचारमा अलगअलग होला । यो आलेखको अवधिभर तपाईंहरूले यो अर्थका रूपमा बुझिदिए सजिलो हुनेछ ।

एउटा चमत्कार जस्तो भयो । वातावरण एकाएक फेरिएझैँ भयो । किनभने अघिसम्म म बसेको प्रतीक्षालयमा म मात्र थपक्क बसेको थिएँ । अहिले कति खेरदेखि पो हो, दुइटा केटा आएर मेरो छेउमा बसेका छन् । एक मभन्दा सानो उचाइको हो । अर्को मेरो उचाइको हो । उनीहरू मस्तसँग गफमा लीन छन । उनीहरू आएको र चर्कोचर्को आवाजमा गफ गरिरहेको मैले कसरी थाहा पाएनछु ? 

केही तल ओरालोमा म आउँदा बखत त्यहाँ मानिसको नामोनिसान थिएन । अहिले एउटा जोडी आएर टिकटक बनाइरहेको छ । जुन प्रतीक्षालयमा म बसेको छु, त्यसको अगाडि सडक छ । अघिसम्म उक्त सडकमा एउटा गाडी पनि चलिरहेको थिएन । अहिले एकाएक गाडीहरू हुइँकिरहेका छन् । ती प्रत्येक गाडीहरूले उक्त जोडीको नाचका, अभिनयका ठुम्काहरू तन्कीतन्की, फर्कीफर्की हेर्दै गइरहेका छन् । अरे पैदल यात्रीहरू पनि फटाफट निस्किन थालेका छन् । जसरी कताकताबाट कमिलाका ताँतीहरू निस्किन्छन् । 

म बसेको प्रतीक्षालयभन्दा ठीक विपरीत दिशामा अथवा सडकको पल्लो किनार अलि पर एउटा चौर छ । त्यहाँ अघिसम्म पूर्णरूपले खाली थियो । अहिले केटाकेटीहरू फुटबल खेलिरहेका छन् । सडकको किनार नजिकै एउटा पानीपुरीको ठेला अवस्थित छ । मानिसहरू झुम्मिएका छन् । वरपरबाट मेसिनहरूको, कन्ट्रक्सनको, गाडीहरूको, मानिसहरूको कल्याममल्याम समवेत रूपले आइरहेको छ । 

एकाएक फेरबदल भएको यस वातावरणबारे म छक्क छु । यद्यपि म आत्तिएको भने छैन । हिँडिहालेको भने छैन । म अघि जस्तै प्रतीक्षालय माथि थपक्क बसेको छु । तर अघिजस्तो आफ्नो मगजमा भइरहेको अन्तरकलह भने म थप अगाडि लिन नसक्ने भएको छु । त्यसको साटो बरु म एकाएक फेरबदल भएको नौलो वातावरणलाई ध्यानपूर्वक हेर्ने चेष्टा गरिरहेको छु ।

प्रेम जोडी 
ठेला नजिक एउटा चल्तीको बाइक आएर रोकियो । पछाडि सिटबाट एउटी केटी झरी । अगाडिबाट एउटा केटो झर्‍यो । तिनले बडो प्रेमले हात समाए । हल्का लजाए–लजाए जस्तो गरेर ठेला पसलनेर पुगे । ठेला अगाडि ग्राहकलाई भनेर एउटा फलामको बेन्च राखिएको थियो । तिनीहरू त्यसमै बसे । तिनीहरू कस्तरी बसे भने दुइटा खुट्टा यताउता पारेर एकअर्कालाई देखिने गरेर बसे । अनि एक पेलेट पानीपुरी मगाए ।

टिकटक जोडी
एउटाले एनड्रोइड मोबाइल समातेको छ । समात्ने मान्छे उमेरले बालिका हो । मोबाइलमा सायद यही हप्ता ट्रेन्डिङमा परेर भाइरल भएको कुनै एउटा गीत बजिरहेको हुनुपर्छ । गीत मैले त्यति प्रस्ट नसुनेको भए पनि यदि त्यो गीत पहिले कसैले सुनेको भए मज्जैले खुट्टाउन सक्थ्यो । म उति ट्रेन्डिङमा अपडेट नभएको हुनाले मैले त्यो खुट्टाउन सकेन । अहिले त मैले त्यो गीतको धुन, लय र शब्द पूर्ण रूपले बिर्सिसके । उतिखेरै भन्‍न परेको भए म मज्जैले भनिदिन्थेँ । खैर त्यो जुनसुकै गीत होस् । मोबाइलमा घन्किरहेको छ । समात्नेले क्यामरा अन गरेको छैन । किनभने उक्त गीतमा मोडलिङ गर्ने जोडी डान्स स्टेपहरू अभ्यास ग्रिरहेका छन् । घरी के मिल्दैन । घरी कसलाई चित्त बुझ्दैन । घरी बाज्छन् । घरी नाच्छन् । यो क्रम चलिरहेको छ ।

केटाहरूको जोडी
उनीहरू सायद केटीहरूबारे कुराकानी गरिरहेका छन् । बेलाबेलामा उनीहरू केटीहरूसँगको प्रसंगलाई लिएर चिच्चाई चिच्चाई हाँसिरहेका छन् । उनीहरूको संवादमा कुनै एउटी केटीको मात्र नाम आएको छैन । अनेक केटीहरूको नाम आएको छ र तिनीहरूसँग गाँसिएका प्रसंगहरू बडो उत्तेजित तरिकाले एक आपसमा प्रष्फुटित गरिरहेका छन् । उनीहरूले गरिरहेको संवाद पूर्ण रूपले नबुझे पनि आधाआधी बुझेकोबाट सारसंक्षिप्त निकाल्न भने सजिलै सक्छु । उनीहरू फेरि एकफेरि हाँसेका छन् । तर ठयाक्कै कुन प्रसंगमा हाँसे मैले सुनिनँ ।

प्रेम जोडी
पानीपुरी आइसकेको छ । तिनीहरूलाई होस छैन, आफूहरू बीचमा एक पेलेट पानीपुरी राखिएको छ भन्‍ने । तिनीहरू एक अर्कालाई आनन्दले हेरिरहेका छन् । ओठमा स्वाभाविक रूपले फिस्स हाँसो छुटिरहेको छ । तिनीहरू यसरी डुबेका रहेछन् कि ठेलावालले पानीपुरी ल्याएको जानकारी तीन पटकमा दिएपछि बल्लबल्ल थाहा पाए । हल्का लजाए । आफूलाई समाले ।

टिकटक जोडी
गीत घन्किरहेको छ । क्यामरा अझै अन गरिएको छैन । किनभने डान्स स्टेपहरू पूर्ण रूपले फाइनल भइसकेको छैन । यतिखेर अलि फरक दृश्य देखापर्यो । के देखापर्यो भने केटो टवाल्ल परेर हेरिरहेको छ । केटी चैँ गीतमा मिल्दो डान्स स्टेप गरेर देखाउँदै छे ।

यसो हेर्दा गायिकाले गाएको भागमा केटीले डान्स स्टेपहरू गर्न खोजिएको र गायकले गाएको भागमा भने केटाले डान्स स्टेपहरू गर्न खोजिएको जस्तो देखिन्छ । यो पटक केटीले गरेका स्टेपहरू केटाले सिक्नुपर्ने भएको छ । त्यसैले केटो टवाल्ल परेर हेरिरहेको छ ।

केटाहरूको जोडी
मेरो समकालीन उचाइको केटोको मोबाइलमा मेसेज आयो । मेसेज हेरेर ऊ तर्सिएको जस्तो देखियो । उसले अर्कोलाई मेसेज देखायो । फोन लगायो । व्यस्त छ भन्‍ने रेकर्डिङ आवाज आयो । फेरि गर्यो । फेरि व्यस्त छ भन्‍ने रेकर्डिङ आवाज आयो । उसले कयौँ पटक फोन लगायो । हरेक पटक उताबाट उही आवाज दोहोरिरह्यो । 

ऊ बसेको ठाउँबाट जुरुक्क उठयो । अनुहार रातो न रातो भएको छ । यताउता गरिरहेको छ । आत्तिएको छ । छटपटिएको छ । मेरो अनुमानमा उसको आउनुपर्ने सबै भागतिरबाट पसिना आएको होला । जुन रूपले ऊ तड्पिरहेको छ, असिनपसिन भएको छ त्यही अनुरूपले मैले अनुमान लगाएँ ।

एक्कासि लगलग काम्न थाल्यो । अर्को जो मेरो भन्दा सानो उमेरको थियो उसले समात्यो । समाल्यो । अढेस लगाएर बसाल्यो । अहो उसको त होस नै गएछ । केटो ठेलातिर दुगुर्‍यो पानी ल्याउन ।

प्रेम जोडी
आफूबीच पानीपुरीको पेलेट राखिएको देखेपछि उनीहरू खानलाई तम्सिए । केटीले एउटा पुरी समाई । पानी हाली । केटाले पनि एउटा पुरी समात्यो । पानी हाल्यो । तर पानीपुरी समातिरहेको आफ्नो हात आफ्नो मुखमा नभएर एकअर्काको मुखतिर लम्किएको उनीहरूले ख्याल नै गरेनन् । मुखमा परिसकेपछि मात्र उनीहरूले ख्याल गरे ।

किनभने उनीहरूलाई एकअर्काको नाचमा चित्त बुझिरहेको छैन । अघिसम्म हल्काफुल्का रिसाउने, झर्किने, सर्किने गर्थे । अहिले त मात्रा बढेर गएको छ ।

जब ख्याल गरे संकोचभन्दा पनि तिनीहरू प्रफुल्लित देखिए । त्यसपछि निरन्तर हातहरू पानीपुरी समातेर एकअर्काका मुखतिर धाइरहे । पेलेटमा पानीपुरी सकिएकासम्म होस नगरी उनीहरू खालि हात एकअर्काको मुखतिर लम्काइरहे । ठेलामा पानी लिन आएको केटोले उनीहरूको छेउको टेबलमा राखेको जग उठाएर लियो । न केटोलाई उनीहरूको हर्कत याद भयो । न उनीहरूले नै आत्तिएर आएको केटोले आफ्नो छेउको जग उठाएर लिएको याद गरे ।

टिकटक जोडी
यसपटक केटी टवाल्ल परेर हेरिरहेकी छे । गायकले गाएको भागमा केटाले डान्स स्टेपहरू गरेर देखाउँदै छ । केटीले यी जम्मै स्टेपहरू सिक्नु छ । बालिका पट्यारलाग्दो मौसममा उभिएर मोबाइल समाइरहेकी छे । ऊ दिक्कलाग्दा डान्स स्टेपहरू हेर्न छाडेर ठेलातिर हेरिरहेकी छे । दुइटा केटाकेटीले खाली हात एकअर्काको मुखतिर लिइरहेको देख्छे । अनि हतारहतार एउटा केटो पानीको जग लिएर सडकको अर्को किनारतिर दौडिरहेको देख्छे । मलाई देख्छे वा देख्दिन, यसै भन्‍न सकिँदैन । तर मेरो छेउमा पल्टिरहेको केटोलाई चैँ पक्कै देख्छे होली । धेरै बेर त्यहाँ नहेरेर ऊ बन्दै गरेको सभागृहतिर हेर्छे । त्यहाँबाट पनि नजर हटाएर आफूहरू भन्दा हल्का तल्तिर रहेको सरकारी स्कुल हेर्छे । 

त्यहाँबाट पनि नजर हटाएर आफूहरूलाई बीचमा पारेर सडकका दुई साइडबाट कुदिरहेका गाडीहरू हेर्छे । गाडीमा बसेका मानिसहरूले टिकटक बनाइरहेको फर्कीफर्की हेरेको ऊ मज्जा मानी मानी हेर्छे । पैदल यात्रीहरू कानेखुसी गर्दै, हाँस्दै हिँडिरहेको पनि मस्तले हेर्छे ।

केटाहरूको जोडी
जगको ढक्कन खोल्यो । अन्जुलीमा पानी सार्‍यो । अनि अनुहारमा पानी छम्क्यो । केही बेर छम्केपछि उसको होस आयो । सानो उचाइको केटोले उसलाई आड दियो । टाउकोमा र निधारमा सुमसुमायो । केहीबेर यत्तिकै बसेपछि बिस्तारै ऊ सामान्यजस्तो देखियो । सामान्यजस्तो देखिए पनि उसले सामान्य व्यवहार भने गर्न सकेको छैन । ऊ एकोहोरो, एकसुरे भएको छ । कत्ति पनि बोलेको छैन । उसको नजर ठेला अगाडिको बेन्चमा बसेका केटाकेटीमा अडिएको छ । नजर तिनीहरूमा अडिए पनि उसले खाली हातहरू एकअर्काको मुखतिर लिइरहेको देखेको छैन । उसलाई तिनीहरूको अनुहार, लुवाइ केही पनि देखिएको छैन । कहिलेकाहीँ हुन्छ नि, नजर एकचीजमा भए पनि ध्यान भने अर्कैतिर ।

प्रेम जोडी
खाएर सकिएको पानीपुरिको पेलेट लिन एउटा बालकअघि देखि आएको रहेछ । त्यो बालक ठेलावालको छोरा हुनुपर्छ । खाली हात एकअर्काको मुखतिर धाइरहेको देखेर ऊ सशंकित भएको जस्तो देखिन्छ । अब यस्तो अवस्थामा कसरी सुटुक्कै पेलेट उठाएर लिने ? उसले हिम्मत जुटाउन सकेको छैन । न कुनै उपाय नै जुराउन सकेको छ । 

पानीपुरी र चाट बनाउन अनि ग्राहकहरूलाई दिन व्यस्त आफ्नी दिदी र बुबालाई भन्‍ने कुरा नै भएन । जाबो एउटा पेलेट उठाउन सकेन भनेर कसरी भन्‍नु ? यो त सरासर एउटा बालकको घमण्डमाथिको बज्र हुनेछ । उसका अनुहारमा सलबलाएका धर्मसंकटका धर्साहरू म देख्‍न त सक्दैन तर जसरी ऊ टवाल्ल परेर उभिरहेको छ यसबाट भने म सजिलै बुझ्‍न सक्छु । 

एउटा बालक अघिदेखि सामुन्‍ने उभिएर आफूहरूलाई क्वारक्वार्ती हेरिरहेको बल्लबल्ल थाहा पाउँछन् । ठेला नेरबाट गएको बाइकले हरन नबजाएको भए उनीहरूले अझै केही बेरसम्म थाहा पाउने रहेनछन् । यही मौकामा असजिलो तरिकाले बालकले पेलेट उठाएर टाप कस्छ । र मस्काएर धुन थाल्छ ।

टिकटक जोडी 
गायिका र गायकले गाएका दुवै भागमा डान्स स्टेपहरू तयार भए । उनीहरूले अभ्यास पनि गरिसके । बालिकालाई क्यामरा अन गर्न भने । बालिकाले उत्सुकले क्यामरा अन गरी । तिन, दुई, एक । उनीहरू तयार भएका स्टेपअनुसार नाच्न लागे । नाच्दै गर्दा एउटा समस्या आइपुग्छ । के समस्या आइपुग्छ भने केटीलाई गायिकाको भागमा तयार पारिएका डान्स स्टेपअनुसार केटाले गरेको डान्स कत्ति पनि चित्त बुझ्दैन ।

यता केटोलाई पनि गायकको भागमा तयार पारिएका स्टेपअनुसार केटीले गरेको डान्स कत्ति पनि मन पर्दैन । नाच्दानाच्दै रोकिन्छन् । क्यामरा अफ गर्न भन्छन् । एक अर्कालाई भस्मे हकार्छन् । गायिकाको भागमा तयार पारिएका स्टेप केटी रन्किएर नाचेर देखाउँछे । गायकको भागमा तयार पारिएका स्टेप केटो रन्किएर नाचेर देखाउँछ । एकछिन पछि रिस शान्त हुन्छ । फेरि क्यामरा अन गर्न भन्छन् । तिन, दुई, एक । तिनीहरू नाच्‍न थाल्छन् । तर फेरि उही समस्या आईपर्छ । यो एउटा चटकेको चटक भन्दा बेसी केही लाग्दैन ।

केटाहरूको जोडी
मेरो समकालीन उचाइको केटो उस्तै शान्त छ । मूर्तिवत् छ । ठेलातिर एकोहोरो हेरिरहेको छ । सानो उचाइको केटो उसको टाउकोलाई आफ्नो कुममा आड दिएर मेरो छेउमा बसेको छ । मेरो र सानो उचाइको केटोको बीचमा एउटा मोबाइल देखे । पानीको जग पनि त्यै छ । म पानीको जगलाई हेर्दै छु । मोबाइलमा मेसेजमा देखापर्यो । साइलेन्स रहेछ । त्यसैले आवाज आएन । आवाज नआएको हुनाले सानो उचाइको केटोले थाहा पाएन । 

मेसेज हेर्न त मन छैन । अर्काको मेसेज त्यसरी हेर्नु राम्रो पनि होइन । तथापि हेरिहाले । यस्तो लेखिएको छ, ‘सिधै ब्रेकअप गर्न सकिन । त्यसैले एउटा मेसेज लेखेर मैले उसलाई सबैतिरबाट ब्लक गरिदिए । मैले उसलाई सदाका लागि छाडे । म कहिले पनि उसको सम्पर्कमा आउनेछैन । म तिमी, बस तिमी हुन चाहन्छु । तिमीले भनेअनुसार मैले उसलाई छाडिदिए । अब त तिमी मलाई स्वीकार्छौ नि ? अहिले नै मलाई भेट्न आऊ । म तयार भएर बस्छु । अनि बाँकी कुराकानी गरौला । छिट्टै आऊ ।’ 

एकछिन पछि सानो उचाइको केटोले आफ्नो मोबाइल उठायो । अनि हेर्यो मेसेज । खुसीले उसको अनुहार रापिलो भएको म देखिरहेको छु । उसलाई कतिखेर यहाँबाट निस्किऊँ भएझैँ भयो । उसले पानीको जग समात्यो । पुराएर आउँछु भनेर ठेलातिर लाग्यो ।

प्रेम जोडी
तिनीहरू अहिले भलाकुसारी गरिरहेका छन् । तिनीहरूलाई वरपरको वातावरणसँग कुनै सरोकार छैन । तिनीहरूका आँखा एकअर्काबाट एकछिनका लागि पनि यताउता गएका छैनन् । ठेलामा अरु पनि मानिसहरू छन् । सडकमा गाडी हुइँकिरहेका छन् । सडकको पल्लो किनारमा प्रतीक्षालय छ । उक्त प्रतीक्षालयमा तीन जना बसेका छन् । तीमध्येको एउटा केटो पानीको जग ल्याएर यतै आउँदै छ । तीमध्येकै अर्को एकोहोरो आफूहरूलाई हेरिरहेको छ । 

तीमध्येको अर्को घरी आफूहरूतिर, घरी छेउमा बसेका केटाहरूतिर, घरी अलि तल्तिर टिकटक बनाइरहेका जोडीहरूतिर हेरिरहेको छ । आफूहरू बसेको ठेलाभन्दा अलि पछाडि चौर छ । र उक्त चौरमा फुटबल चलिरहेको छ । तिनीहरूलाई यी सब चीजको उपस्थितिबारे अलिकति पनि हेक्का छैन । कति कतिखेर त तिनीहरूलाई स्वयं आफ्नो अस्तित्वको हेक्का समेत छैन ।

म एकछिन फुटबल हेर्दै छु । केटाकेटीहरू जथाभावी रूपले बललाई हानिरहेका छन् । उनीहरूलाई नियमसँग, टिमसँग केही मतलब छैन । उनीहरूलाई खाली गोल हान्‍नमा ध्यान छ । एक्कासि केही पड्केको जस्तो आवाज आयो । मेरो छेउको केटो नराम्रैसँग झस्कियो । मेरा आँखा, कान लगायतका सबै ज्ञानेन्द्रीयहरू जागरुक भए । केको आवाज हो ? कताबाट आएको हो ? एकछिन त अलमल्ल भइयो । 

पारि ठेलाबाट गाइँगुइँ आवाज आएपछि त्यतातर्फ हेरे । त्यहाँ हेर्दा जुन दृश्य देखियो मेरो शरीर जिङरिङ भयो । केटो रिसले तात्तिएको छ । ऊ आफ्नो ठाउँबाट उठेको छ । उसले केटीलाई एक झापड लगाएको रहेछ । केटी घोसेमुन्टो लगाएर रुँदै छे । ठेलामा भएका अरु मानिसहरू जडवत् भएर हेरिरहेका छन् । केटो हिँडेर बाइक नजिक आएको छ । बाइकमा चढिहाल्यो । हेलमेट लगाइहाल्यो । स्टार्ट गरिहाल्यो । हुइँकाइहाल्यो । अलप भइहाल्यो । 

पानीको जग पुर्‍याउन गएको केटोलाई यो घटनाको कुनै होस नै भएन । ऊ आफ्नै खुसीमा रापिएको छ । जग राखेर प्रतीक्षालयतिर फर्कियो । जग राख्दा बेन्चमा घोसेमुन्टो लगाएर रोइरहेकी केटीलाई उसले देख्दै देखेन । खासमा यतिखेर ऊ केही पनि नदेख्‍ने भएको छ । टिकटक बनाइरहेकाहरू नाच्‍नमै व्यस्त देखिन्छन् । उनीहरूलाई यसबारेमा कत्ति पनि थाहा भएन । 

टिकटक जोडी
गीत अझै घन्किरहेको छ । बालिका अझै मोबाइल समातिरहेकी छे । जोडी अझै नाचिरहेको छ । तर दुवैलाई चित्त बुझ्ने गरी भिडियो बनेको छैन । किनभने उनीहरूलाई एकअर्काको नाचमा चित्त बुझिरहेको छैन । अघिसम्म हल्काफुल्का रिसाउने, झर्किने, सर्किने गर्थे । अहिले त मात्रा बढेर गएको छ । एकअर्काप्रति द्वैष भाव देखा परिरहेको छ । त्यो भाव बेलाबेला बिचरी बालिकामा माथि खनिने गर्छ । ऊ निन्याउरो मुख बनाएर उभिएकी छे । 

बडो सकसले उनीहरू फेरि नाच्न तमतयार हुन्छन् । बालिका क्यामरा अन गर्छे । गीत बज्छ । तीन, दुई, एक । नाच्दानाच्दै केटीले नाच्न छाडिदिन्छे । ऊ रिसले चुर भएकी छे । बालिकाको हातबाट मोबाइल खोस्छे । अनि उसलाई जबरजस्ती घिच्चाएर अगिअगि हिँडाल्दै घरतिर लाग्छे । केटो नतमस्तक भएर हेर्छ ।

केटाहरूको जोडी
सानो उचाइको केटो जग पुर्‍याएर आइसकेको छ । अलि हतारमा देखिएको छ । एक सुरे भएको केटोलाई आफू इमर्जेन्सी काममा जानुपर्ने भयो भनेर हतासिलो तरिकाले भन्छ । एकसुरे केटोले हुन्छ भन्छ । अनि जान हतारिएको केटोले अटो रोक्छ । बस्छ । हेर्दाहेर्दै मोडबाट अलप हुन्छ । 

बिस्तारै मेरोछेउको केटो उठेर हिडयो । ठेला अगाडिको बेन्चमा घोसेमुन्टो लगाएर रोइरहेकी केटी आँसु पुछेर अटो चढेर गई । टिकटकवाला केटो निन्याउरो मुहार लगाएर चियापसल भित्र छिर्‍यो । ठेलामा सामान मिलाएर ठेलावालहरू जान लागे । केटाकेटीहरू हल्लाखल्ला गर्दै आ-आफ्ना घरतर्फ लागे । 

म भने अझै प्रतीक्षालयमा थपक्क बसेको छु । गाडीहरू लाइट बालेर गुडिरहेको देखेर बल्ल होस भयो । अहो झमक्क साँझ पो भएछ । अब त उठ्नैपर्ने भयो । अघि आउँदा कति शान्त थिए मन र वातावरण । अहिले यहाँबाट जाँदा कति अशान्त छन् मन र वातावरण । खासमा म प्रतीक्षालयमा थपक्क बसेको रहेनछु । शान्त र अशान्तको माझमा प्रतीक्षालयमा बसेको रहेछु । म लाग्छु, आफ्नो घरतर्फ । तपाईंहरू पनि उठनुहोस् । अनि लाग्‍नुहोस् आआफ्नो घरतर्फ ।


Author

थप समाचार
x