सप्ताहन्त

लिली

चे शंकर |
भदौ १९, २०७८ शनिबार ७:५४ बजे

जीवन आकाशबाट खस्ने लामपुच्छ्रे तारा जस्तो भइदिए । यो कस्तो खस-खस होला ? न खस-खस भएको ठाउँको पत्तो लाग्छ, न किन भएको भनेर ढुक्क हुन सकिन्छ । मन बादलुले ढाकेको डाँडा जस्तो धुमिल र भावनाहरू बादल झैँ छरपस्ट हुन्छन् । बादलुले छाडेको सितको थोपाहरू जस्तो आँखाबाट आँसु बग्छ । यो आफैँले आफैँलाई नबुझ्‍ने खसखस अरु कस्ले पो बुज्ला ? यो आँसुको अर्थ यस्तै विकराल होला । मनमा हुने अनुभूति पनि त्यस्तै । सायद, पबमा नसाले मात्तिएर ढोका भुलेको कुनै दिनको म जस्तै । त्यस मध्यरात म नशाले मात्तिएको थिएँ आजको रात भावनाले मात्तिएको छु । त्यसरात आफैँलाई भुल्न चाहन्थेँ आज अरुलाई भुल्न खोजिरहेको छु । बिना ग्रजेज । 

हिजो म कोठाबाहिर हेर्दै थिएँ । यो झ्यालबाट मलाई विशेष लाग्‍ने चिजहरू देखिन्छन् । पारि हिमाल छ । हरियो डाँडासँगै एउटा सानो गाउँ देखिन्छ । गाउँ हेर्न मलाई चस्मा लगाउन पर्छ, नत्र गाउँ मेरो मनजस्तै देखिन्छ, बादलुले ढाकेको । धुमिल । चस्मा नलगाई देखिने 
कुराहरूमा वरपरका घरहरू, बटुवाहरू, सपना र बाध्यताको लगामले तानेका मान्छेहरू पर्छन् । वरपरका घरहरूमध्ये पनि मलाई एउटा घर विशेष लाग्छ । त्यो घरको झ्याल र म बसिरहेको झ्यालको बनोट झन्डै उस्तै छ । यो झ्यालमा म बसेर टोलाउँछु । संगीत सुन्दै । त्यो घरको झ्यालमा करिब ७० वर्षकी महिला सेतै फुलेको कपाल हल्लाउँदै नाचिरहेकी हुन्छिन् । कस्तरी भने नि, जस्तो कि सुमधुर हावाले मेरो झ्यालको पर्दा हल्लाउँछ । जसरी म बजिरहेको संगीतमा हराउँछु । जसरी म मैले मन पराएको मान्छेको कल्पनामा हराउँछु या सँगै हुन्छु । यस्तै यस्तै भावना छरेर जान्छ समय । भित्रको मनलाई उत्ताउलो पारेर सर्छ अर्को अंक । 


आज तिनी नाच्दा पुतली जस्ती देखिइरहेकी थिइन् । जस्तो गरी मेरो गमलामा फुलेका फूलहरूमा पुतली नाचिरहेको थियो । म भने मलिन थिएँ । मेरो छाती गह्रौँ भएको थियो । म डरसँग मडारिइरहेको थिएँ । यो डरले मलाई कमजोरभन्दा कमजोर बनाइरहेको थियो । मैले ती महिलालाई हेर्न आज चस्मा लगाउनुपर्यो । मलाई उनको त्यो खुसी हेर्न गाह्रो भयो । आफूलाई हावामा विलीन गराउन मन लाग्यो ।

क्याक्टस र खुसी मान्छे, यो दुवैले मभित्र एकै किसिमको उकुसमुकुस किन बनाइरहेछ भन्‍ने मलाई थाहा हुँदाहुँदै पनि मैले आफूलाई बाहिर निकाल्न सकिरहेको थिइनँ । मैले चस्मा फुकालेँ । क्याक्टसको सानो पट समातेँ । मसिना काँडाहरूले भित्र कतै घोचे जस्तो भयो । मैले पट टेबलमा राखेँ । झ्यालबाट झरेँ र बेडको कुनामा गएर बसेँ । तकिया तलको डायरीले मलाई हेरेर हाँस्यो । क्याक्टसको मसिना काँडाहरूदेखि मलाई झनै डर लाग्‍न थाल्यो ।

अनायासै मेरा आँखाहरूबाट आँसु निस्के । छाती गह्रौँ भयो । म बेडमा ढल्किएँ । डायरी समातेँ र हेरेँ । अगाडि भएको खुसी इमोजीमा आँखा अड्कियो । छायाँको मुस्कान सम्झिएँ । म डायरी जलाउने सोचिरहेको थिएँ । मलाई लाग्यो, डायरी आफूले उन्मुक्ति पाउने खुसीले हासेको थियो । बिचराले मेरो दुःख, खुसीको भारी त बोक्नु पर्दैन अब । माया पनि लाग्यो सँगसँगै । मैले डायरी अन्तिम पल्ट पल्टाउने सोच्दै जे पल्टन्छ त्यही पढ्न थालेँ । 

२०७० माघ १ 
११:५०, भक्तपुर 
मेरो मनजस्तै भएर चम्किएको छ, आज जून । मलाई जून एकदमै मन पर्छ, कारण सोचेकी छैन । घामको प्रकाशले मनलाई यत्र-तत्र फिँजाइदिन्छ । जूनको प्रकाशले मेरो औरालाई पत्तो नदिई आफैँतिर तान्छ । म पनि हराइदिन्छु उसको न्यानोपनमा । आकाशमा जून, मेरो मनमा खुसी बसेजस्तै मेरो स्टडी टेबलमा एउटा बिरुवा उभिएको छ । क्याक्टसको बिरुवा । त्यो क्याफेको दाइ सायद रिसायो होला । काम गर्ने त्यो भाइ र बैनीले गाली खाए होलान् । म यति धेरै चिन्तित छैन किनकि हामीले यो बिरुवा चोरेको हेर्ने क्यामेरा त्यहाँ थिएन । 

त्यस मध्यरात म नशाले मात्तिएको थिएँ आजको रात भावनाले मात्तिएको छु ।

मैले छायाँलाई नलैजाऊ त भनेको थिएँ । तर उसको मुस्कानलाई नाइँ भन्‍नै सकिनँ । छायाँको मुस्कान नै त्यस्तो लाग्छ मलाई, किन किन मन पग्लिहाल्छ । मैले सबैको आँखा छलेर बिरुवा मेरो ब्यागमा राखेँ । छायाँले बिल दियो । हामी निस्कियौँ । बाहिर पानी परिरहेको रहेछ । गफै गफमा हामीले पानीलाई पनि भुलेछौँ । छायाँ पानीमा रुझ्‍न खुब मन पराउँछ । ऊ फेरि मुस्कुरायो । मैले नाइँ पानी रोकिएपछि जाऊ समेत भन्‍न सकिनँ । 

पानीमा रुझ्दै मैले स्कुटर चलाएँ । त्यस्तो जाडोमा पानीमा रुझ्दा पनि किन जाडो नभएको होला सोचेँ ! मेरो मनले मलाई चिमोट्यो अनि म हाँसेँ । ओठहरू मुस्कुराए । छायाँलाई उसको घर नजिकै छाडेँ । छायाँले मलाई मायाले उसको मफलर घाँटीमा बाँधिदियो । दिन रमाइलो बित्यो । मंगल होस् !

मन खुसी भयो र अल्मल्लियो पनि । डर पनि लाग्यो । मैले फेरि डायरीको पाना पल्टाएँ भने म कमजोर हुन्छु । आँखाहरू रसाउँछन् अनि छातीमा कस्तो गहिरो गरी चिसो हुन्छ । छायाँ फेरि सम्झनामा आउँछ । मेरो अनुहार मलिन र सानो हुन्छ । ममीले डिनर गर्न बोलाउन आउनुभयो भने मेरो रूपले ममीको मन दुखाउँछ । डायरी खेलाउँदै यस्तै यस्तै के सोच्दै थिएँ । अमिलो भएको मन मेरो आफ्नै छायाँ हेरेर मुस्कुरायो । प्रायः क्याक्टस फुलेको मैले देखेको थिइनँ । टेबलको क्याक्टस फुल्ने तरखरमा थियो । म दुःखी भएको बुझ्यो होला यसले पनि । यी सबै कुराहरूलाई छाडेर अर्को पाना पल्टाएँ ।

२०७१, होली 
छायाँले मलाई किन नबुझेको होला ? बिहानदेखि मलाई यो प्रश्नले ज्वरो आइरहेको थियो । मन भतभत पोलिरहेको थियो । लाग्यो, यस्तो सानोतिनो कुरा हुनु सम्बन्धमा ठीकै होला । मैले छायाँलाई सबै कुरा भनेँ तर उसले किन मैले सोचे जस्तो रियाक्ट नगरेको होला ? 
होली खेल्न भेटेको हामी न होली खेल्यौँ । न साथीहरूलाई भेट्यौँ । दरबार स्क्वायरको कफीले हामीलाई बाँधेर राख्यो । रंग खेल्नुको सट्टा हामी दुवैलाई छायाँले तानेको आर्टिक ब्रस्टको धुवाँले खेल्यो, दिनभर । 

आज मैले छायाँलाई फिर्ता गर्न लागेको मफलर पनि दिइनँ । सोचेँ, छायाँले जे भने नि म उसलाई प्रेम गर्छु । आज म छायाँसँग खुसी थिइनँ । मेरो कुरा बुझेकामा धन्यवाद मफलर । मलाई मफलरलाई धन्यवाद भन्दा कस्तो खुसी लाग्यो ।

I know, it’s full moon night. It will heal me.
I will be healed.I know I will have good sleep today.

सबै कुराको रंग हुन्छ । सबैको आफ्नै आकार र भाषा छ । मलाई यो कुरा बुझ्‍न किरा गाह्रो भएको होला है ? म अर्कै मान्छे, छायाँ अर्कै मान्छे । हाम्रो आफ्नै भाका र भाषा छ । मैले प्रेम त गरेको थिएँ । किन मलाई कसैको हत्या गरेको जस्तो गाह्रो भइरहन्छ, हरेक दिन ? अनि कसरी छायाँ त्यति खुसी हुन्छ र बोल्दा पनि उसको शब्दहरूमा कुनै रस देखिँदैन ? रुखो । 

ममीले ढोका ढकढक गर्नुभयो । ममी नबोल्दै मैले भनेँ, ‘ममी आइहाले, खाना पस्किनुभए पनि हुन्छ ।’ ममीले हाँस्दै भन्‍नुभयो, ‘अघि नै पस्किसकेँ, अब खुसी भएर आइजो ।’ डायरी सिरानीमा राखेँ । कता पल्टेको थियो, हेरिनँ । म डराएँ ममीले किन खुसी भएर आइजो भन्‍नुभएको होला ? के ममीले मेरो डायरी पढ्नुभयो । ममीले मलाई छायाँसँग झगडा गरेको कतै देख्नुभयो कि ? फोनमा चर्को स्वरले बोलेको सुन्‍नुभयो होला । आफूलाई हँसिलो देखाउन खोजेँ । लाग्यो, म खुसी छु । डिनर गर्न किचन पुगेँ । 

ममी डाइनिङ टेबलमा बसिरहनुभएको थियो । खाना हामीलाई बोलाइरहेको थियो, मीठो वासना छरेर । मैले भनेँ, ‘ममी किचनमा हुनुभएको बेला बेग्लै बास्ना आउने के ?’ ममीले आफ्नो प्लेट आफूतिर तान्‍नुभयो अनि भन्‍नुभयो, ‘यस्तो मीठो कुरा गर्ने मान्छेको अनुहार किन फुंग उडेको नि आजकाल ?’ 

मैले ममीलाई नहेरी ‘खुब होला नि’ भनेँ । केही स्पुन खाना खाएँ अनि ममीलाई नहेरी भनेँ, ‘फेस वास नै सक्किराछ ।’ ममी हाँस्‍नुभयो । मैले अनुभूत गरेँ नहेरी । ‘तँ खुसी छस्’ ममीको प्रश्न नसकिँदै ‘अहँ, छु भनेँ’ हतार हतार । ममीलाई सोधैँ, ‘हजुर’ । ममीलाई बाडुल्की लाग्यो । ‘अहँ, कोसिस गर्दैछु’ ममीले ग्लासको पानी सुरुप्प पारेर भन्‍नुभयो । लाग्यो, मैले ममीको मन दुखाएको छु । नदुखाए पनि मैले ममीलाई त्यस्तो व्यवहार देखाएँ होला । मैले प्लेट सिङकमा राखेँ न कोठातिर लम्किएँ । 

‘त्यो ब्याग खोल त’ ममीले भन्‍नुभयो । ममीलाई नहेरी म सोफातिर गएँ । सोफामा भएको सानो ब्याग खोलेँ । ब्यागबाट एउटा रातो फुलेको लिली मलाई हेरेर मुस्कुरायो । म पनि मुस्कुराएँ । मलाई हेरेर ममी पनि मुस्कुराउनु भयो । ‘आज के गरौँ के भयो अनि तेरा लागि यो लिएर आए । मन पर्यो ?’ मैले ममीलाई धन्यवाद भनेँ । ममी म नजिकै आएर मेरो कपाल सुम्सुमाउनु भयो । मेरो आँखामा हेरेर निधारमा चुप्पा खानुभयो । मैले ममीलाई हग गरेँ ।  

लिली लिएर म कोठामा गएँ । झ्यालको पर्दा अझै खोलेँ । जूनको उज्यालोले मेरो कोठा र नयाँ लिलीलाई मीठो स्पर्श गर्यो । भित्ताको मिररमा आफैँलाई हेरेँ । जूनकिरी भित्र छिर्‍यो । जूनकिरी मेरो मन बोकेर उड्न थाल्यो कोठाभरि । मनभरि ममीको कुरा खेल्न थाल्यो । लाग्यो, मैले ममीको चित्त दुखाएको रहेछु । मैले नभने पनि ममीले मलाई हेरेर थाहा पाउनु हुँदोरहेछ भन्‍ने लग्यो र मैले निर्णय गरेँ अबबाट ममीसँग म केही पनि कुरा लुकाउँदिनँ । 

लिलीलाई टेबलमा राखेँ । क्याक्टससँगै लिली सुन्दर देखिएको थियो । एउटा फोटो खिचेँ । मोबाइल पनि मुस्कुरायो म जस्तै गरेर । डायरी तकियामा सुतिरहेको थियो । मलाई यो डायरीको पानाको बनावट र कभर खुब मन पर्छ । यसलाई जलाउने आफ्नै विचारहरूप्रति घृणा लाग्यो । डायरी टिपेँ र हातमा लिएँ । जूनले डायरीलाई पनि चुप्पा गर्यो । लिलीलाइ हेरेँ, मभित्र अर्कै अनुभूति नाच्‍न थाल्यो । छायाँ मनमा आयो तर यसपालि मन हलुका भयो । खै, एक्कासि के भयो मभित्र । 

झ्यालबाहिर फूल फूलिरहेको थियो । आफैँलाई सम्झेँ, म दुःखी हुँदा पनि बिरुवाहरू आफ्नै गतिमा बढ्दै गए, फुले, सुके र झरे । छिमेकीको पारिजातको स्मेल कहिल्यै फरक भएन । जीवनमा कति कुरा यस्सै आइलागे कत्ति कुरा गुमाउँदा त्यसले लामो असर गर्यो । आखिर सबै कुरा अनुभूतिका लागि आइरहने त रैछन् । डट्सहरू जोडिए जस्तो । ममीलाई सम्झेँ । ममीको कोमलता र प्रेम । 

मलाई थाहा छ, आजको रात म जूनको न्यानो प्रकाश, लिलीको रंग र जूनकिरीको चुल्बुलता जस्तै ढुक्क र आरामले निदाउनेछु ।

मन र शरीरको भाषा एउटै भयो भने म्याजिक हुँदो रहेछ, लाग्यो । मुस्कुराएँ । मलाई छायाँको याद आयो तर जूनको शीतलताजस्तै गरी । छायाँ र हामीले बिताएको समयप्रति म कृतज्ञ भएँ । ढोका ढकढक गर्‍यो र ममीको स्वर गुन्जियो । ‘नानी सुतेको छैनस्’ ? मैले डायरी सेल्फमा राख्दै ‘छैन’ भनेँ । 

म भित्र आऊँ ? ममीले मलिन स्वरमा भन्‍नुभयो । मैले खुसीसाथ ढोका खोलेँ । मेरो कोठामा छिर्दै ममीले भन्‍नुभयो, ‘तँलाई देखेर खुसी लाग्यो । माथि हेर त्, जून कस्तो राम्रो देखिएको ।’ म मुस्कुराएँ । ममीको हातमा वाइन र दुइवटा ग्लास थियो । ममी कुर्सीमा बस्नुभयो र बोतल अनि ग्लास टेबलमा राख्नुभयो । म कुर्सी तानेर ममीसँगै बसेँ । टेबल भरिभराउ भएर आफैँ दङ्ग थियो । ममीले ग्लासमा वाइन राख्नुभयो । हामी दुवैले चियर्स गर्‍यौ । 

ममीलाई देखेर म आज अचम्भित थिएँ । ममी डिनर गर्नु भएपछि वाइन खान बस्नु हुन्थेन अर्को आज ममी अलिक उदास देखिनुहुन्थ्यो । मैले सोधेँ, ‘ममी, अल गुड ?’ ममीले वाइनको सिप तान्दै मुस्कुराउनु भयो । मेरो आँखामा हेर्दै भन्‍नुभयो, ‘तिमी जस्तो खुशी चन्द्रमा हुँदाको दुःखी हुन्छ ?’ 

म त्यसै त्यसै मख्ख परिदिएँ । ममी मुस्कुराउनु भयो । ममी मुस्कुराउँदा कस्तो राम्री देखिनु भएको । मैले सायद ममीलाई यति खुसी पहिलो पल्ट देखेकी थिएँ । ममीले आफ्नो ग्लासको वाइन सक्नु भयो । ‘तिमीलाई खानु मन भए खाऊ, मलाई पुग्यो । तिम्रो बाबा र म यसै गरी जूनको उज्यालोमा रमाउँदै वाइन पिउँथ्यौँ । आज यो जूनको शीतलता र तिम्रो खुसीले कस्तो इमोसनल बनाइदियो । गुडनाइट डार्लु ।’ ममी मुस्कुराउँदै आफ्नो कोठातिर जानुभयो । मैले ग्लासको वाइन सट्ट पारेँ । मेरो आँखामा जूनको छायाँ नाचिरहेको थियो अनि मनमा आफू हुनुको बोध । 

आजकाल हरेक दिन बिरुवाका पातहरू नाच्छन् मसँगै, जसरी म उनीहरूलाई गोडमेल र पानी दिन्छु । मलाई उनीहरूले गिज्याए जस्तो लाग्छ । आफैँ हाँस्छु । यति बेला म दुःखी भएको दिन अंकमाल गर्ने जून आफैँभित्र चल्पलाएको जस्तो अनुभूति हुन्छ ।  
आफूलाई म सधैँ जस्तो पारिजातको स्मेल जस्तै अनुभूत गर्छु अनि पारिजातले पनि मलाई प्रेम गर्छ आफ्नो वासनाजस्तै । 

चन्द्रमा बिस्तारै सर्दै गयो, शीतलता छाडेर । छायाँले जे गर्यो सायद उसका लागि सही होला । छायाँलाई धन्यवाद दिएँ र उसका लागि जूनको उज्यालोमा मेत्ता छाडिदिए । मनमा जहिल्यै त त्यो मान्छे बस्छ जसलाई हामी माया गर्छौं । जे गरेँ त गरेँ भनेर आफूसँग पनि कृतज्ञ भएँ । 

भोलि नयाँ डायरी किन्‍न जाने योजना बनाउँदै म बेडमा पल्टिएँ । मलाई डायरी लेख्दा रमाइलो लाग्छ । मलाइ थाहा छ, आजको रात म जूनको न्यानो प्रकाश, लिलीको रंग र जूनकिरीको चुल्बुलता जस्तै ढुक्क र आरामले निदाउनेछु । 


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x