सप्ताहन्त

पुस्तक पसलमा कस्ता कुरा हुन्छन् ?

नीरज लवजू |
असोज २, २०७८ ७:४० बजे

लकडाउनका कारण काठमाडौँका पुस्तक पसल चहार्न नपाएको लामै समय भइसकेको थियो । पसलको ढोकाछेउ घुम्ने सो केसमा राखिएका न्यु अराइभलबाट सुरु गर्दै पसलको सबभन्दा कुनामा चाङ पारेर राखिएका पुस्तकको सबभन्दा तलका ठेली नियाल्दै बस्ने तलतल मेटाउन पाइएको थिएन । यसरी पुस्तकहरूसँग मौन संवाद गर्दै गर्दा पुस्तक पसलमा आउने विभिन्न थरी मान्छेका कुरा पनि सुन्दै गर्नुको मज्जा बेग्लै हुन्छ । कतिबेला विद्वान्हरूबीच थरीथरीका पुस्तक र लेखकबारे कुराकानी जमिरहेको हुन्छ । गम्भीर विषयका लेखकहरूसमेत त्यहाँ भेला भएर आफ्ना मित्रजनसँग केटाकेटी जस्तै जिस्किरहेका हुन्छन् । उनीहरूका रसिक कुराकानी सुनेर पुस्तकको चाङले छेलिएर कतिबेला त खितखिताइरहेको हुन्छु । कतिबेला उनीहरूले पनि सुन्ने गरी अट्टहास निस्कन्छ । 

पसलेका लागि सबै ग्राहक भगवान् । पुस्तक पसलका साहुलाई पनि कुन भगवान्लाई कसरी पूजा गर्नुपर्छ, राम्ररी थाहा छ । पसलमा यसरी सिद्धहस्त लेखकहरूले घण्टौं हँसीमज्जाक गर्दै बस्दा लक्ष्मीको तस्बिरसामू धुप बालेजस्तै हुन्छ भन्ने कुरामा उनी अनुभवी छन् । त्यसैले सकेसम्म कुराकानी लम्बियोस् भनी उनी कफी, चिनी भएको–चिनी नभएको दूधको चिया, चिनी भएको–चिनी नभएको कालो चिया अर्डर गर्छन् । व्यस्तता र उमेरको भारीले यसरी बाहिर गफिन नपाएका लेखकहरूलाई त्यत्ति भएपछि के चाहियो र ? उनीहरूका कुराकानी सुनेर पसलमा लकडाउनका कारण कुँजिएर बसेका प्रत्येक पुस्तक पनि जीवन्त भए जस्तो अनुभव गर्छन् पसलमा काम गर्ने कर्मचारीहरू । 


“तपाईले अमिश मुल्मीको ‘अल रोड्स’ पढ्नुभयो ?”
“चर्चा निकै सुनेँ । पढ्ने विचारमा छु । आज लानुपर्ला एउटा ।”
“केटोले गज्जब मिहिनेत गरेर लेखेका छन् । यसअघि टुक्राटुक्रामा पढेका कुरालाई एउटै थालीमा पस्केजस्तो अनुभव भयो ।” 
“हेनरी किसिङ्जर ‘एन्ड द राइज अफ चाइना’ पनि पढ्नुपर्ने नयाँ पुस्तक छ ।” 
“कस्को ?” 
“लेखहरूको संकलन हो । सञ्जय बारु र राहुल शर्माको सम्पादन । सञ्जय बारु, उही क्या ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ लेख्ने ।” 
“ओके”
“सर, इन्डिया एन्ड एसियन जिओपोलिटिक्समा पनि धेरैले चासो देखाएका छन्”, पसले मसला थप्दै भन्छन् ।
....
पसलमा कतिबेला भर्खर पुस्तक पढ्ने बानी बस्दै गरेका किशोरकिशोरी आउँछन् । उनीहरूको पाइला सिधैै फिक्सन वार्डतिर जान्छ । “मुराकामीका बुक्स कहाँ छन् दाइ ?”, उनीहरू यस्तै आख्यानकारका नाम जप्दै आइपुग्छन् । उनीहरू घुम्न त पसलका सबै कुना घुम्छन् । तर, गोजी हलुका भएकाले हुनुपर्छ आखिरमा एकाध ठेली झोलामा राखेर निस्कन्छन् । कतिले त काउन्टरमा पाँच छवटै ठेली लिएर आउँछन् । तर, क्यासिएरले टोटल देखाए पनि ‘दाइ, यो दुईवटा पछि लागौंला है’ भनेर फिर्ता गर्छन् । नयाँ ग्राहकलाई मात्र होइन, म जस्तो चिया खान पुग्ने मात्र आम्दानी भएको ग्राहकले पनि महँगो पुस्तकमा आँखा लगाउनु नै पनि पाप हो । 
‘यति पुस्तक त अहिले नपढे पनि पछि पढ्नलाई संग्रह गर्नुपर्छ’ भन्ने मनमा हुन्छ । तर, प्राइस ट्यागमा टंकन गरिएको मूल्य देखेपछि भविष्यमा कुनै कमाउ जागिर भएपछि किन्नुपर्ला भनी मन मार्छु । एक बोरा चामल आउने मूल्यमा पनि कसैले पुस्तक किन्छ होला र ? मलाई त्यस्तो लागे पनि खासमा पुस्तक पसलमा बस्दै गर्दा लाग्छ, किताब किन्न पानी बगाएजस्तै पैसा बगाउने पनि धेरै हुन्छन् । 
....
“दिदी ! यहाँ चिल्ड्रेन लिटरेचर पाइन्छ ?”, आफ्नो बाल्यकालमा धेरै पढ्न नपाउँदा जीवनभर अत्यास अनुभव गरेका नयाँ आमाहरू कतिबेला फूलजस्ता नानीहरूलाई पसलको खुड्किलो नघाउँदै भित्र पस्छन् । आफूले पूरा गर्न नपाएका सबै रहर आफ्ना छोराछोरीमार्फत पूरा गर्ने गहिरो सपना बोकेका आमा–बाहरू यसरी पुस्तक पसलमा आउने गर्छन् । यस्ता आमाबुवाको संख्या भने थोरै देख्छु । तर, जति आउँछन्, उनीहरूका कुरा सुनेर मनखुस हुन्छ । 
एक साल भृकुटीमण्डपको पुस्तक मेलामा पुतलीजस्ता दुई छोरीको औंला समाएर डुल्दै गरेका आमा–बुवालाई भेटेको थिएँ । 
“नानु, हेर ! तिमीलाई कुन बुक मन पर्छ ?”
“बाबा र्‍याबिट भएको”, सानीले भन्दै थिइन् । 

“मलाई सिन्ड्रेला स्टोरी”, जेठीले पनि उही ऊर्जाका साथ भनेकी थिइन् । 
सँगै आमाले अरू पनि नेपाली र अङ्ग्रेजी भाषाका चम्किला बालपुस्तक किन्न काखी च्याप्दै थिइन् । मेरो मनमा कुरा खेलिरहेको थियो– विद्यालय पठाएर आफ्नो जिम्मेवारी सकिएको ठान्ने आमाबुवा कति होलान् अझै देशमा ! अझ विद्यालय नै किन पठाउनुप¥यो र ? किन पढाउनु प¥यो र ? पाँच कक्षा पास गरे भइहाल्यो त नि ! स्कुलमा पढाउनेबाहेक अरू किताब किन पढ्नुपर्‍यो र ! यस्ता तर्क पेल्ने अभिभावक कति होलान् । 
पुस्तक पसलहरूमा हिजोआज त्यस्ता चिल्ड्रेन कर्नर पनि बन्न थालेका छन् । त्यहाँ पुस्तकबाहेक बालबालिका रमाउने अन्य विभिन्न खेल सामग्री र रमाइला चित्र पनि राखिएका हुन्छन् । यद्यपि, यस्ता कर्नर भने शून्य शून्य देख्छु प्रायशः । 
....
चिया पसलको साहुलाई चियाको, कपडा पसलको पसलेलाई कपडाको, जुत्ता पसलको पसलेलाई जुत्ताको विषयमा थाहा भएजस्तै पुस्तक पसलको साहुलाई पुस्तकको विषयमा भरमार जानकारी हुन्छ । कति पुस्तक पसलका साहुहरू त आफैँ बौद्धिक जस्तो लाग्छ । कति पुस्तक पसलका साहुहरू आफँै गम्भीर अध्ययनशील स्वभावको भएको पाउँछु । म जस्ता काँचो अध्ययन भएका ग्राहकलाई त्यस्ता पसलेले पुस्तकका नामको सिफारिसले पुरिदिन्छन् । 
“भाइ, कुन विषयमा रुचि राख्छौ ?” 
“..........”
“लौ त्यसो भए बारबरा टुचम्यानको ‘नोट्स फ्रम चाइना’ पढ्नु त ।” 
“हेनरी किसिन्जरको ‘अन चाइना’ मात्र पढेर चाइना कहाँ बुझिन्छ र भाइ !” 
“एड्गर स्नो र अन्ना लुइ स्ट्रङ पढ्नुपर्छ ।” 
“कल्चरल रुभोल्युसन बुझ्न एलन गिन्सबर्गको ‘माइ फस्ट सिक्स्टी एयर्स इन चाइना’ र ‘अ म्यान इन माओज राइट’ पढ । अहिलेको चीन बुझ्न त धेरै पुस्तक यहीँ पनि छन् ।” 
उनका सिफारिसको पंक्ति लम्बिने थियो, यदि पसलमा नयाँ ग्राहक भित्र नपसेको भए । 
सङ्गत गुणा फल । पुस्तकका अक्षर पिउने प्यासीहरूको सङ्गतले पुस्तक पसलेलाई पनि अक्षरको साधक बनाइसकेको अनुभव हुन्छ । 
....
पुस्तक पसलको ‘नेपाल सेक्सन’मा नियाल्दै गर्दा एक दिन आइपुगिन् एक जना स्वीडिस । भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ पढेपछि नेपाली समाजलाई अझ नजिकबाट पढ्ने रुचि पलाएको थियो । नेपालको वास्तविकता नबुझी विदेशी साहित्य र समाज मात्र पढ्न खोज्दा हामीले धेरै अपेक्षा पाल्दा रहेछौं । अनि ती अपेक्षा कतिबेला नेपालको माटोमा नमिल्दा फसल नलाग्ने रहेछ । वस्तुगत अवस्थाभन्दा ठूलो अपेक्षा पाल्दा मानिसलाई कुनै पनि क्षण निराशाले झ्याम्म समात्ने रहेछ । त्यसकारण नेपाल चिन्नुपर्छ भन्ने विद्वान्हरूको भनाइ लामो अनुभवको सार हो । नेपाल चिन्न या त पढ्नुप¥यो अथवा घुम्नुप¥यो । घुम्न नसक्दा कम्तीमा पढ्नुप¥यो । नेपाल सेक्सनमा मसँगै पुस्तकका लहर नियाल्न थालेकी स्वीडिस मलाई गज्जब लागिन् । उनले पुस्तक पसलबाट झण्डै पन्ध्र ठेली पुस्तक किनिन् । उनको नेपाल बसाइ झण्डै दुई महिना । उनले छानेका पुस्तकमा मैले लोभी आँखा लगाएँ– सबै नेपाली समाजको समाजशास्त्र, इतिहास र राजनीतिबारे पुस्तक थिए । उनी एकातिर नेपाल घुम्दै जानेछिन्, अर्कोतिर पुस्तकमार्फत आफ्नो अनुभवलाई आधिकारिता दिँदै जानेछिन् । क्या मज्जाको मान्छे । उनी पक्कै लेखक वा पत्रकार हुनुपर्छ । विडम्बना मैले उनलाई सोधिनँ । 

फ्रान्सेली लेखक र नेपालका पुराना मित्र (उनको आग्रहमा नाम लेखिएन) यतिबेला नेपाल आउन आतुर छन् । तर, कोभिडका कारण उनी आउन सकिरहेका छैनन् । उनलाई नेपाल आउनै नपाई मरिने पो हो कि भन्ने पीर लागेको छ । नभए उनी हरेक वर्ष नेपाल आएर केही महिना बसेर जान्छन् । उनले नेपालको संस्कृति, राजनीति र समाजशास्त्रबारे केही पुस्तक र धेरै सङ्ख्यामा लेख लेखेका छन् । 

उनका लेखहरू प्रज्ञा–प्रतिष्ठानको अङ्ग्रेजी बुलेटिनमा प्रकाशित भइरहेको हुन्छ । पनौती सहरबारे उनले गहिरो अध्ययन गरेका छन् । नेपाली समाजबारे उनका कुरा सुनेर हामी हाम्रो देशको कुरा एक जना विदेशीको मुखारबिन्दबाट सुन्दै छौं भन्ने यथार्थबोधले साह्रै असजिलो अनुभव हुन्छ । नेपाल र नेपाली समाजबारे हामीलाई कति कम मात्र थाहा रहेछ । हामी दैनिक हिँड्ने बाटो र छिचोल्ने ठाउँबारे हामीलाई कति कम मात्र थाहा रहेछ । 
....
लकडाउनमा पुस्तक पसल चहार्न नपाए पनि अनलाइन अर्डरबाट झिकाएका केही पुस्तकका चहकिला गाता र पुस्तकका पानाबाट सुवासित गन्ध पढेरै मन बुझाइएको थियो । लकडाउनले धेरैको बानी बिगारेको छ– घरबाट बाहिर निस्कनै मन नपर्ने । उस्तै काम नपरे त घरमा महिनौं थुनिएर बस्न मन लाग्ने । त्यसैले पुस्तक पसल धाउन पनि अल्छी लागेको छ । जे होस्, मन न हो । ढिलै भए पनि पुस्तक पसल नियाल्दा मन ‘गार्डन गार्डन’ भएको छ ।



Author

थप समाचार