सप्ताहन्त

पुस्तक समीक्षा

अब्बल ‘अब्बा’

विज्ञान राज |
मंसिर ४, २०७८ शनिबार १३:१४ बजे

कथा १ : लाटीको छोरो
एकदिन लाटीको पेट अचानक उठेको देखिन्छ । सारा सहर संशकित र अचम्भित हुन्छ । आखिर कसले उठायो लाटीको पेट ? शंकाको घेरामा सहरका ती पुरुष पर्ने नै भए जो हिजोसम्म लाटीसँग चल्न, जिस्किन र अनेक बहानामा उसको शरीरलाई सुमसुमाउन लागिपरेका हुन्थे । यीमध्ये पक्का कोही हो जसले लाटीको पेट उठायो भनेर हामी सामान्यतया यहीँनेर निर्क्यौल निकालिहाल्छौ । तर कथाले यहीँनेरबाट कस्तो आरामले आफ्नो मोड लिन्छ । गति लिन्छ । कथा पढ्दाखेरि तपाईं गडगडाहट बग्‍ने खोला ठहरिनु हुनेछ । जसै यो कथाले आफ्नो अन्त्य लिनेछ, तपाईंलाई आफू कतिखेर खोलाबाट बगर बनाइएँ पत्तै हुनेछैन । 

कथा २ : कालो रातको कुरुक्षेत्र
आखिर कस्तो देखिन्छ कालो रातमा कुरुक्षेत्र ? एउटी चारु नाम गरेकी महिला आफ्नो सोम नाम गरेको मृत पतिको खोजीमा कालो रातमा कुरु क्षेत्रभर भौँतारिरहँदा सम्भवत: थाहा हुन्छ । 


कथा ३ : म मरेपछि
कोही पनि मानिस मरेपछि कहाँकहाँ अनुपस्थिति हुँदै जान्छ ? कसरी अनुपस्थित हँुदै जान्छ ? मानिसहरूले उसको अनुपस्थिति कसरी भोग्छन् ? ठाउँहरूले, वस्तुहरूले, बाटाहरूले कसरी भोग्छन् ? आजसम्म ऊ जहाँजहाँ उपस्थित थियो, मरिसकेपछि अब त्यहाँ अरु कोही उपस्थित हुन्छ ? वा त्यहाँ उसको केवल अनुपस्थिति रहन्छ ? यस्ता अनेकन् कौतूहलले तपाईंको मनलाई घचेटेर छोडिदिन्छन् ।

कथा ४ : मन्त्रीकी प्रेमिका
एउटा मानिस कुन संयोग र जालझेलले मन्त्री बन्छ ? अनि मन्त्री बनिसकेपछि उसले कहाँ बसेर ती जालझेलहरूलाई सम्झिन्छ ? कसको भट्टी पसलमा बसेर ? कसको माझमा बसेर ? कौतूहलताका पत्रपत्र अहो ! कस्तो रहस्यमयी ढङ्गले पो खुल्दै जान्छन् ।

कथा ५ : मुक्तिको आगमन
पिँधमा पारिएका जनतालाई कसरी शक्तिमा बसेकाहरूले वा सामन्तहरूले छल गर्छन् ? अनि आफूलाई छल गरिएको कुरा थाहा पाएर पनि किन ती पिँधमा पारिएका जनताको प्रतिरोधमा बक फुट्दैन ? किन आँखामा ज्वाला बल्दैन ? किन तिनीहरूका मुट्ठी कस्सिदैनन् ? किन तिनीहरूका पाइला उचालिँदैनन् ? किन तिनीहरू निर्धक्क उभिएर सामन्तहरूका आँखाको ठीक मध्य भागमा हेर्न सक्दैनन् ? बरु उल्टो किन तिनीहरू तिनै सामन्तका पछि उभिन्छन् र शिर झुकाएर लुरुक्क हुन्छन् ? 

यस्तो परिवेशमा एकजना कोही मुक्तिले प्रतिरोध गर्छ । तर त्यो मुक्तिलाई माओवादी हुनैपर्ने बाध्यता किन पर्छ ? र ऊ किन मारिन्छ ? अनि किन ती पिँधमा पारिएका जनताहरू मुक्तिको आगमनमा सास अड्काएर बस्छन् ? किन तिनीहरू स्वयं आफू मुक्ति बन्‍ने चेष्टा गर्दैनन् ? अँ, साँच्ची के अन्त्यमा मुक्तिको आगमन हुन्छ ? यी र यस्तै यावत प्रश्नहरूको पेरिफेरीमा कथा रुमलिएको छ ।

कथा ६ : अन्धकारभित्र
देशमा माओवादी द्वन्द्व चर्केर चरम सीमामा पुगेको समयमा सरकार पक्षतर्फका सेनाहरूले कसरी एउटी अबला आमाको केरकार गर्छन् ? अन्तत: कसरी अन्धकारमा पालैपालो बलात्कार गर्छन् ? अनि पेटमा गर्भ रहँदा समाजले कसरी अवहेलना गर्छ ? सबैभन्दा घतलाग्दो कुरा त यी सबै आर्तनादको अवस्थामा एउटा बालकले कसरी धैर्यपूर्वक आफ्नी गर्भवती आमालाई समाल्छ ? र अन्तत: त्यसरी आफ्नी आमाको कोखबाट जन्मिएको शिशुलाई उसले कसरी ग्रहण गर्छ ? यो कथा पढिसक्दा सम्भवत: हामी भावुक भएर एकछिन यत्तिकै टोलाइबस्न मन गर्नेछौँ ।

कथा ७ : अब्बा
अब्बाले आफ्नो छोरोलाई किन सहरको अपरिचित पसलमा छाडेर जान्छ ? अनि त्यसको भोलिपल्ट किन उसको लास मैनावती खोलामा भेटिन्छ ? त्यसपछि त्यो छोरो कस्तो परिस्थितिको चपेटाका माझमा हुर्किन्छ ? हुर्किने क्रममा ऊ कसरी एउटी केटीको प्रेममा पर्छ र एकदिन कहाँ भगाएर लगेर जान्छ ? फेरि फर्केर गाउँ आउँदा ऊ कसरी माओवादी र सेनाको दबदबामा पर्छ, कस्तो सास्ती पाउँछ र कसरी एकदिन ऊ बम आक्रमणमा परेर मर्छ ? कथासंग्रहको शीर्ष कथाका रूपमा रहेको यो कथा तपाईंको सासलाई एकछिन फेर्न गाह्रो बनाएर सकिन्छ ।

कथा ८ : तेह्र हजार दुई सय छयालिस
एउटा आर्ट ग्यालरीमा देखाइएको ‘लडाइँमा जनता’ नामक फोटो किताबभित्रका फोटोहरूले मुख्य पात्र भावविह्वल हुन्छ । र ऊ ती कहालीलाग्दो मृत्यु भोगेका पात्रहरूलाई विपनामै देख्‍न, भोग्न थाल्छ । उसले कसरी देख्छ ? अथवा कसरी देखाइएको छ ? उसले कसरी भोग्छ ? अथवा कसरी भोगाइएको छ ? यस कथामा जुन स्तरमा शैली प्रयोग भएको छ वास्तवमा बोधगम्य छ । 

कथा ९ : वसन्तपुर
एउटा केटो द्वन्द्वकालमा कसरी काठमाडौँ पढ्न आइपुग्छ ? त्यहाँ उसको एउटी केटीसँग कसरी प्रेम हुन्छ ? अनि गाउँमा उसकी बहिनी माओवादीका तर्फबाट युद्ध लड्दालड्दै कसरी मर्छे ? फेरि करिब दश वर्षपछि के सोचेर केटो गाउँ फर्किन्छ ? र गाउँको नक्सा कसरी फेरिएको पाउँछ ? अचम्मलाग्दो कुरो त उसकी आमा हाड र छालामा मात्र कसरी जीवित भएर उसलाई कुरिबसेकी हुन्छिन् ? आमा मरिसकेपछि काठमाडौँ फर्किए लगत्तै उसकी प्रेमिकाले उसलाई छाडेर अमेरिका जाँदा ऊ कस्तो मनोदशामा पुग्छ ? यी सबै घटनालाई बडो घतलाग्दो भाष्यबाट कथिएको छ ।

कथा १० : एक रातको कथा
एउटी वेश्याका कस्ता चिन्तन हुन्छन् ? कस्ता परिस्थितिहरू हुन्छन् ? के उसको धन्दामा संवेदना हुन्छ ? संवाद हुन्छ ? के उसको सबै ग्राहकसँग एउटै खाले व्यावहार हुन्छ ? कि कुनै ग्राहकसँग ऊ विशेष र फरक अनुभूति गर्छे ? यो धन्दामा के वेश्या बलात्कार हुन्छे ? यदि भई भने के हुन्छ ? मुख्य पात्रले यी सब कुरा भन्दै एक रात सकाउँछे । आजसम्म उसले यस्ता कति रात सकाएकी होली ? यो प्रश्न हामी पाठकका निम्ति भनेर छाडिएको छ । जसले कथालाई झनै गम्भीर बनाएको छ ।

कथा ११ : चोर
बाटोमा भेटिएको पचास हजारको पोकोले कसरी एउटा गरिब दाम्पत्यको निदहराम गराउँछ ? आफूलाई सारा गाउँलेले चोर ठम्याइसकेका छन् भन्‍ने भ्रम र अहिलेसम्म नठम्माए पनि भोलि पर्सि त पक्का ठम्माउनेछन् भन्‍ने भयले उनीहरू कसरी गाउँबाट भागेर सहर आउँछन् ? त्यहाँ उनीहरूले कस्तो परिस्थितिको सामना गर्छन्, कसरी गुजारा गर्छन् अनि कसरी बाँच्छन् भन्‍ने कुरालाई यस कथामा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ ।

कथा १२ : मृत्युको कथा 
यो कथाको बारेमा केही लेख्‍न सकिनँ । 

उपसंहार
यसभित्रको ‘कालो रातको कुरुक्षेत्र’ कथा पढ्दा एक्कासि मैले किताब मिल्काइदिए । त्यो भुइँमा पछारियो । म खाटमा यथास्थानमा पल्टिरहेँ । ल्यापटपमा किशोरी अमोन्करको आलाप र पण्डित हरिप्रसाद चौरासियाको बाँसुरीबीचको जुगलबन्दी मधुर लयमा गुञ्जिरहेको थियो । मनभित्र एकपछि एक गरेर उठिरहेका ज्वारभाटा र जुगलबन्दीबीच तादात्म्य मिलिरहेकाले झन् म उद्वेलित भएँ । झन् अशान्त भएँ । जुरुक्क उठेँ । किताब उठाएँ । किताबलाई कोलियामा पछार्दै बाहिर बरण्डामा ल्याएँ । अनि बरण्डामा पछार्दै कोलिया हुँदै भित्र ल्याएँ । त्यसपछि आएर खाटमा पूर्ववत् स्थानमा पल्टिएँ । फेरि त्यही कथा दोहोर्‍याएर पढ्न थालेँ ।@karkibigyanraj


Author

थप समाचार
x