सप्ताहन्त

वेदप्रसाद, जसले सरस्वती सदन ठड्याए

वसन्त लोहनी |
माघ २२, २०७८ ७:० बजे

त्यो अनकन्टारको समय र परिवेश । त्यसको सिलसिला हेरौँ । विसं. १९०३ को कोतपर्वबाट जङ्गबहादुरले हत्याएको सत्ता जङ्गबहादुरकै भाइ श्री ३ रणोद्दीप र छोराहरूको हत्या भयो । त्यो पनि उनकै कान्छा भाइ धीरशमशेरका छोराहरूबाट । जुन ‘४२ साल’को पर्वबाट सुरु भएको यो नयाँ सिलसिला । धीरका जेठो वीर शमशेर श्री ३ महाराज भए, १९४२ सालमा । तर मिसन पूरा गर्ने उनको दोस्रो भाइ खड्गशमशेर अधैर्य भए । आफूले दुई घण्टामा नेपाल लिएको कुरा दोहोर्याइरहन्थे । खड्गले सत्ता हत्याउन खोजेपछि वीर शमशेरले खड्गलाई डाँडा कटाइए ।

खड्गका सहयोगी चन्द्रशमशेर पनि त्यो हाल हुन लागेकामा बचाइदिए, देव शमशेरले श्री ३ वीरसँग अनुनय विनय गरेर । तर राजनीतिमा कोही कसैका हुँदा रहेछन् । देव शमशेर श्री ३ भएको चार महिनामा नै उनैलाई पदच्युत गरेर सत्ता हातमा लिए चन्द्र शमशेरले १९५८ सालमा । उनको २८ वर्षको लामो शासनको उत्तरार्धका बेला थियो त्यो जहाँबाट यो समय प्रवाह सुरु हुन्छ । एउटा साधारण व्यक्तिको जो नेपालमा आर.सी.सी अर्थात् सिमेन्ट ढलान प्रविधि सुरु गर्ने पहिलो नेपाली बने । उनी हुन्, वेदप्रसाद लोहनी । उनले ७८ वर्षअघि गरेको परिकल्पना साकार रूपमा रानी पोखरीको पूर्वी किनारमा उभिइरहेको छ । त्यो हो, सरस्वती सदन ।   


जङ्गबहादुरको बेलाइत भ्रमणपश्चात् १९१० सालमा स्थापना भएको नेपालको पहिलो स्कुल हो- दरबार स्कुल । तर यसमा सर्वसाधारणले पढ्ने सौभाग्य भने ४७ वर्षपछि १९५७ सालमा मात्र प्राप्त भयो । वीर शमशेरले गुठीबाट खर्च जुटाएकामा पछि जुद्ध शमशेरले सरकारले खर्च बेहोर्ने गरेपछि निःशुल्क पढाइ हुन्थ्यो । खाजा पनि खान पाइन्थ्यो निःशुल्क । सिङ्गो मुलुकमा अङ्ग्रेजी पढ्ने एउटै मात्र ठाउँ थियो, दरबार स्कुल । वेदप्रसाद लोहनीले नौ क्लाससम्म मात्र पढे त्यहाँ । त्यसपछि छाडिदिए ।

कारण थियो, उनी क्लास रुममा अटाउन सकेनन् । उनको कल्पना उडूँउडूँ लाग्ने खालको थियो भने जीवनको वेग पहाडबाट हामफाल्न हतार हतार झरेको हिमचुलीबाट उद्गम नदीको जस्तो थियो । अनि भौँतारिए केही वर्ष । यहाँनिर मैले कता कता दाँज्न खोजेको त पक्कै पनि होइन किनकि दाँजिने कुरा नै होइन, तर अनायास अल्बर्ट आइन्स्टाइनको झझल्को आउँछ । क्लास रुमभित्र नअटाएका आइन्स्टाइन नौ क्लासमा पुगेपछि स्कुल छाडेर भौँतारिन पुगेका थिए । पछि मात्र हेक्का भयो उनलाई कि जीवन धान्‍न पैसा चाहिँदो रहेछ र एउटा सीप नभइकन पैसा प्राप्त हुँदो रहेनछ । त्यसैले उनी त्यो सीपको जोहो गर्न स्विट्जरल्यान्डको ज्युरिकस्थित पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना भए । उनलाई सम्मान स्वरूप ‘हाइ स्कुल ड्रप आउट’ भन्‍ने गरिन्छ ।

भौँतारिँदै जाँदा जे बुझे त्यसको जगमा निर्माण भएको हो, उनको जीवन । कद हिमालजस्तो ठाडो थियो । त्यसैले कहिले झुक्नै जानेनन् उनले त्यति बेलाको काँडाको तारभित्र बन्द गरिएको समयमा पनि । अमानवीयकरणको स्वीकृत मान्यतामा पनि । थिचिँदै गएर बाध्यताले कठाङ्ग्रिँदा आमनेपाली आफू जस्तै अर्को मान्छेका लागि बन्‍न लागेको महलको एउटा इँट सरह बनेको बेला थियो त्यो । त्यो बेलामा भयो उनको पहिलो रोमाञ्चकारी यात्राको सुरुवात जब डिल्लीबजारस्थित गुरुज्यूको घरमा लकडी बेच्‍न सक्ने  मान्छेको खोजी भएको थियो ।

‘कसलाई पठाउन लाग्याँै त लकडी बेच्‍न’, बडागुरुज्यू तर्कराजले सोधे आफ्नो तहबिलको हाकिमसँग । ती थिए तर्कराजको आफ्नो भानिज रुद्रप्रसाद ।  ‘म जान्छु’, आफ्नो बूढो मामाघर भएकाले गुर्जुको पल्टनले सुरक्षा दिएको ठाउँ भए पनि बिनारोकटोक कताबाट त्यहाँ पुगेका उनले आफ्नो पिताले केही भन्‍नु अगाडि नै बोले ।‘भइहाल्छ नि’, तर्कराजले फ्याट्ट भनिहाले ।

रिसले काटे रगत आउने जस्तो भयो रुद्रप्रसादको मुख । आफ्नै मामा भए पनि गुरुज्यूको अदब मान्‍नुपर्ने र उनले भनेपछि त्यो हुकुम सरह हुन्थ्यो रुद्रप्रसादका लागि । कुरा फर्काउन मिल्दैन थियो । भित्र भुइँचालो गए पनि रुद्रप्रसाद चुपचाप थिए । कहिले घर नछोडेको बालक छोरो कहाँ तराई गएर लकडी लिएर भारत बेच्‍न जाने र पैसा बोकेर फर्कने । यो कुरा कहालीलाग्दो थियो ।

नौ क्लास छोडेर भौँतारिएको केटोले पहिलो पटक घर छोड्यो, पढ्न होइन, विदेशमा लकडी बेच्‍न । लरी चढेर थानकोट । त्यहाँबाट हिँडेर तल मार्खुमा बास बस्छन् । कुलेखानी हुँदै भीम फेदी पुग्छन् । अनि त्यहाँबाट बस चढेर अमलेखगन्ज । यो ठाउँ चन्द्र शमशेरले १८६८ सालमा दासत्व मोचनको या दास-दासी अमलेख गरिएको सम्झनाका लागि भिच्छाखोरीको बदलिदिएको नाम हो । दास-दासी, जातपात र छुवाछूतको कुरा गर्दा यहाँनिर यति भनिहालौँ कि वैदिक युगमा मान्छे सबै बराबर थिए ।

वैदिक विश्वास हिन्दू धर्मभन्दा अगाडिको हो । बाहुन, क्षत्री, वैश्य, शुद्र यस्तो केही थिएन, जातपात र छुवाछूत थिँदै थिएन । यो कुरा वाल्मीकि रामायण र ऋग्वेदमा पनि लेखिएको छ । मान्छेले मान्छेलाई शोषण गर्न थालेपछि बनाइएको हतकण्डा हो यो त । विश्वमा कहीँ नभएको जातपात र छुवाछूत नेपाल र भारततिर मात्र रहँदै आएको छ । र, जतिसुकै कानुन बनाइए पनि यो विकृतिले समाजलाई अझै निकै नै असन्तुलित पारि नै रहेको छ ।

सिमेन्ट ढलान प्रविधि सुरु गर्ने पहिलो नेपाली बने । उनी हुन्, वेदप्रसाद लोहनी । उनले ७८ वर्षअघि गरेको परिकल्पना साकार रूपमा रानी पोखरीको पूर्वी किनारमा उभिइरहेको छ । त्यो हो, सरस्वती सदन ।

मूल विषयमा नै लागौँ । उनी त्यहाँबाट नेपाल सरकारको रेलबाट चार कोसे झाडी हुँदै वीरगन्ज र त्यसपछि भारतको रक्सौल पुग्छन् । रेल राति त्यही बस्थ्यो र भोलिपल्ट नेपालभित्र फर्किन्थ्यो । यो रेललाई एनजीआर भनिन्थ्यो र यति ढिलो हिँड्थ्यो कि सुस्त गतिमा हिँड्ने कुराको वर्णन गर्दा दिइने उपमा अलङ्कार नै बनिसकेको थियो । चार कोसे झाडीलाई चिरेर धेरै हल्ला गर्दै हिँड्ने यो रेलबाट दुबैतिर जङ्गल देखिन्थ्यो । बीच-बीचका केही जङ्गली जनावरहरू पनि । पहिलो पटक रेल चढ्दा रोमाञ्चित थिए उनी ।

रक्सौल पुगेपछि त्यहाँबाट भारतीय रेल चढेर भारतको बगाह पुग्छन् । लकडी ढुवानी गर्न लकडीको र्‍याफ्ट बनाएर नदीमा उतारिन्छ । र, यो र्‍याफ्टमा बेच्‍न लैजाने लकडी सन्तुलित रूपबाट चाङ लगाएर राखिन्छ । कामदारहरू बस्छन्, ओढ्ने र बस्ने-सुत्ने लम्पटसहित । त्यही र्‍याफ्टमा उनी पनि चढ्छन् । गङ्गा नदीबाट गरिएको एउटा रोमाञ्चकारी जलयात्रा सुरु हुन्छ, उनको ।

कति पटक सूर्य उदाए, कति पटक अस्ताए- धरती न्यानो हुन्थ्यो, अनि चिसो । चन्द्रमाले कैयौँ पटकभित्र बाहिर गरिन्, त्यो दूर आकाशबाट । कहिले आकाशमा त कहिले बहिरहेको गङ्गामा देखिएकी चन्द्रमाबारे उनी आलोपालो गरेर सोच्दथे । र्‍याफ्टमा सीमित उनी असीमित कल्पनाको आकाश गङ्गाको सयरमा थिए । गङ्गाको प्रवाहमा गन्तव्य पहिल्याउँदै गइरहेको थियो त्यो र्‍याफ्टले । तर त्यसमाथि बसेको केटोको भने जीवनको गन्तव्य थिएन । जिल्ल परिरहेको थियो, हेरिरहेको थियो टाढा टाढासम्म जहाँसम्म उसका आँखाहरूले देख्‍न सक्थे ।

उडिरहेको थियो कल्पनाको यानमा जहाँसम्म त्यो उड्न सक्थ्यो । ऊ समात्न खोजिरहेको थियो एउटा सपनालाई । र्‍याफ्ट कहिले जङ्गल त कहिले बस्ती, कहिले सहर त कहिले फाँट हुँदै गङ्गाको प्रवाहसित लयबद्ध थियो । यो सब पनि आलोपालो गरेर नियालिरहेको केटो जति टोलाइरहेको थियो त्यो भन्दा धेरै बढी आफैँभित्र हराइरहेको थियो । यस्तो आफू र अनि त्यो दृश्य जहाँ ज्ञानेश्वरको ठूलो जहान घरको होहल्लाभित्र नसुनिने भएकी आफ्नी अर्धाङ्गिनीबीचको रिक्ततामा ऊ गन्तव्य खोजिरहेको थियो । जीवनको सार्थकता टटोलिरहेको थियो ।

उनको विवाह भएको पनि सात वर्ष भइसकेको थियो । जेठी छोरी भवानी टुकुटुकु हिँड्ने भइसकेकी थिइन् । अझ बाजे पद्मनाभको देहान्त भएको कारणले गर्दा एक वर्ष ढिलो भयो । नत्र दस वर्ष लाग्दा नै उनको विवाह धोबीधारा बस्ने डिट्ठा विश्वनाथ पाठककी छोरीसँग रुद्रप्रसादले तय गरिसकेका थिए । तर सोको जानकारी भने उनलाई थिएन । युगभित्रको पनि अर्को युग थियो त्यो ।

एउटा सभ्यताको मुहान बनेर, अनि संस्कृतिको धरोहर बनेर आफ्नो अन्तिम गन्तव्यतर्फ निरन्तर बहिरहेकी थिइन् गङ्गा । त्यसमाथिबाट निर्दिष्ट गन्तव्यतर्फ बहिरहेको थियो र्‍याफ्ट । अनि त्यसमाथि बसेर टोलाइरहेका उनी, गङ्गा र जीवन प्रवाहको ताल सुरमा छोटो जीवनको मीठो सङ्गीत खोजिरहेका थिए । गन्तव्य तलास गरिरहेका थिए । यो एउटा अनौठो संयोजन थियो । अनि एउटा यस्तो सम्मिलन पनि- समयको, नियतिको अठोटको र जागरणको । जीवन बुझ्ने यस्तो क्रमसँग अनुबन्धित भएका उनी कैयौँ दिनपछि पटना पुग्छन् ।

अनि लकडी बेच्छन् र पैसा पटुकामा बाँधेर काठमाडौँ फर्किन्छन् । काम फत्ते गरेर गुरुज्यूलाई पैसा बुझाएबापत उनले केही पारिश्रमिक पाउँछन् । जीवनको पहिलो कमाइले अँगालेको सेरोफेरोबाट एउटा अठोटको जन्म हुन्छ- केही गर्नु पर्दछ जीवनमा र यसका लागि नपढी हुँदैन । यसपछि उनले कहिले पछि फर्केनन् ।

पढाइ छाडेर भौँतारिएका उनी अब पढ्ने अठोट गरेर बनारस पुग्छन् । र, त्यही  ठाउँमा आश्रय लिन्छन् जहाँ गुरुज्यूका दुई पुत्रहरूलाई पढाउन भाडामा घर लिइएको थियो । म्याट्रिकुलेसन पास गरेपछि नेपाल सरकारको डाइरक्टरेट अफ पब्लिक कन्स्ट्रक्सनले दिएको छात्रवृत्ति पाएर लखनउ पुग्छन् । त्यहाँको लाटुस रोड, जसको नाम गौतम बुद्ध मार्ग रहेको छ, त्यहाँ रहेको पलिटेक्निक इन्स्टिच्युटबाट इन्जिनियरिङ्मा सन् १९४२ मा डिप्लोमा गर्दछन् । प्रसङ्गवश, यो लेखक २००५ अप्रिलको पहिलो हप्तामा त्यहाँ पुग्दा लाटुस रोडको त्यो इन्स्टिच्युट लखनउबाट फैजाबाद जाने हाइवेमा सरेको पायो । र, त्यो पुरानो भवनमा हाल लेडिज होस्टेल रहेको देख्यो ।
क्रमशः


Author

थप समाचार
ad
x