सप्ताहन्त

सम्बन्धको सारांश

शुभाषचन्द्र पोख्रेल |
फागुन २, २०७८ सोमबार १०:२७ बजे

विश्वविख्यात अंग्रेजी कवि जोन किट्सको प्रख्यात पंक्ति छ- ‘अ थिङ अफ ब्युटी इज अ जोय फरएभर ।’ 

यो हरफलाई विश्वेश्वरप्रसाद कोइरालाले गरेको भावानुवाद चाहिँ मलाई सबैभन्दा मीठो लाग्छ । कोइरालाले आफ्नो पुस्तक ‘आत्मवृत्तान्त’को कुनै सन्दर्भमा उक्त हरफको उल्था यसरी गरेका छन- ‘क्षणभरको सौन्दर्यानुभूित जीवनभरका लागि आनन्ददायी हुन्छ ।’


छोटो तर कति मीठो छ है यो हरफ !

मान्छेको जीवनमा संघर्ष, दुःख, अप्ठेरो कहिले आउला भनेर कुर्नु पर्दैन । संघर्ष, दुःख र असजिलो यस्तो ज्याद्रो चिज हो नि, यसले मान्छेलाई जसरी पनि खोज्छ, भेटाउँछ । हामीले मिहिनेतपूर्वक खोज्नुपर्ने, भेटाउनुपर्ने र जोगाउनुपर्ने त खुसी र सुख हुन् ।

जसरी भए पनि ठेगाना पत्ता लगाएर आइहाल्छन दुःखहरू । त्यसैले हामीले जोगाउनुपर्ने ती चिज हुन् हो जसले जीवनभर कुनै न कुनै हिसाबले आनन्दित बनाउँछन् । बालापनका सुन्दर सम्झना, पढाइमा पास हुँदाको खुसी, रमाइलो यात्रा, जागिर वा व्यावसायिक सुरुवात र सफलतापछिको खुसी । प्रेम, विवाह, सन्तान, सन्तानप्रतिको माया र उनीहरूको सफलतासम्म । अवश्य, यी मोडहरूले खुसी देखाइबसेका हुन्छन् । हो, यस्तै खुसी र सौन्दर्यानुभूतिका अविछिन्‍न तरेली नै आगतका सुख र खुसी खोज्न सघाउने दियालो हुन् ।

हाम्रो वैदिक मान्यताका हिसाबले पनि अहिले प्रणय (विवाह) मौसम हो । अनि अर्को संयोग, अंग्रेजी पात्रो र पश्चिमा प्रचलनका हिसाबले फागुनको सुरुवात (फेब्रुअरी १४) मै ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस पनि ।

प्रेम र प्रणयका सन्दर्भमा पूर्वीय दर्शन र पाश्चात्य परम्परामा कस्तो भेद छ वा के के समरूपता छन् ? सम्बन्धको शक्ति र सीमा के हो ? सुन्दर र सफल सम्बन्धको परिभाषा के हो ? यी र यस्तै यावत सवालहरूको दार्शनिक चर्चा गर्न सक्ने मेरो क्षमता पनि छैन र अहिले चर्चा गर्न खोजेको पनि होइन ।

एउटा कुरा चाहिँ यहीँ भनेर अगाडि बढाऊँ है ?

समाज र साहित्यबारे उत्तरआधुनिक विमर्शको कुरा गर्दा एउटा शक्तिशाली मान्यता के छ भने ‘द इन्ड अफ ग्रेट न्यारेटर’ अर्थात् महान् कथावाचकको अन्त्य । कुनै पात्र विशेषको महान् गाथा लेख्नु, सुन्‍नु र उक्त गाथाले निरन्तरता पाइराख्नु, त्यो हिजोको कुरा हो । तर अहिले दुनियाँ फरक गतिमा दौडिरहेको छ । महान् नायक (नायकत्व)को पगरी बुन्‍ने र भत्किने सिलसिला असाध्यै छिटो-छिटो भइरहन्छ ।

आदर्श व्यक्ति र आदर्श जीवनशैलीका सीमारेखाको निर्माण र विघटनका लागि प्रत्येक व्यक्ति खुलस्त हुन सक्नु, अनि कुनै आम मान्छे वा पात्र पनि महान् नायक बन्‍न सक्छ भन्‍ने विचार निर्माणको जग नै सायद महान् नायकको अन्त्य भन्‍नुको अन्तर्यमा छ ।

जस्तै : राजनीतिको ठूलो नेताले टेलिभिजन अन्तर्वार्तामा गर्ने दिक्कलाग्दा तर्कभन्दा चिया पसलमा जुटेर गफ गर्दै गरेका आम मान्छेका राजनीतिक गफ र तर्क कहिलेकाहीँ अब्बल हुन्छन् । ‘सेलिब्रेटी’को ताज बोकेको कुनै नामुद कलाकारको कलालाई टक्कर दिन कुनै आम मान्छे टिकटक वा फेसबुकमा आउन सक्छ ।

धनी, चर्चित, सुन्दर, सम्पन्‍न र सेलिब्रेटीहरूको प्रेम, प्रणय, विवाह, पारिवारिक मिठास र सामाजिक अन्तर्घुलन भन्दा मीठो किस्सा आम मान्छेको, आम जोडीको हुन सक्छ । ती आम मान्छेका मीठो जीवन कथा सतहमा आउन पाउनु वा आउन सक्नु भनेकै महान् नायकको अन्त्य त हो नि । होइन र ?

कुरा गर्दागर्दै भूमिका बाँधेको जस्तै पो भयो त ।

सहयात्रामा सुखभन्दा संघर्ष ज्यादा छ

मूल कुराकै चर्चा गरौँ ।

मन पराए पनि नपराए पनि हामी बाँचेको समाजमा प्रेम दिवसका रूपमा भ्यालेन्टाइन डे प्रवेश गरेको छ । पश्चिमा समाजमा प्रेम र विवाहबीचको सामाजिक अनुबन्धन र वैधानिक दूरी निकै कम छ । त्यो दूरी कतिखेर कोरियो वा कतिखेर मेटियो पत्तै हुँदैन । तर हाम्रो पूर्वीय समाजमा अझ पनि प्रेम र विवाहबीचको दूरी अलि लामो छ ।

प्रेम असाध्यै गहिरो विषय हो । यसको व्याख्या म के गर्न सकूँ ? प्रेम, प्रणय र विवाहलाई एकै ठाँउमा राखेर सम्बन्धको सारांश निकाल्नुपर्यो भने तपाईं के रोज्नुहुन्छ ?

प्रेम/प्रणय ? वा विवाह ? म चाहिँ विवाह रोज्दै छु है । प्रेमपछिको विवाह पनि प्रेमकै निरन्तरता हो । विवाहपछि पनि त झन् मीठो प्रेम विकसित हुन सक्छ, होइन त ? त्यसो भए विवाहलाई प्रेमको वैधानिक संरचना माने पनि त भयो । 
विवाह औपचारिक र वैधानिक संस्कार हो । विवाहको वैधानिक अनुबन्धनलाई पारपाचुकेमार्फत टुङ्ग्याउने बेमेलको औसत दर हाम्रो समाजमा बढ्दै छ अचेल । यस्तो हुनुको अन्तर्यमा  सामाजिक, आर्थिक र खुलापनका थुप्रै आयाम छन् । त्यो पाटो छुँदै नछुम् अहिले ।

विवाहको माध्यमबाट बनेका जोडीको सम्बन्ध पनि औपचारिक हुनुपर्छ ? या जोडी आफ्नो दाम्पत्य यात्रामा अनौपचारिक र उदात्त भएको बेस ? यसमा मतैक्य हुन त गाह्रो छ, तर मेरो विचारमा चाहिँ औपचारिक पनि होइन, उदात्त पनि होइन । अर्धऔपचारिक भनौँ वा अर्ध-उदात्त हुनुमै बडो आनन्द छ ।

आफ्नो दाम्पत्य यात्रालाई अर्धऔपचारिक बनाएर  हिँड्नुहोस त, तपाईंको यात्रा सम्बन्धको जस्तो नभएर साथी-साथीको जस्तो बन्‍ने छ । खगेन्द्र संग्रौलाको वसुन्धरा कथाको सानो प्रसंग जोड्न चाहन्छु । संग्रौलाको उक्त कथामा दुई अलग अलग जोडीको जीवन शैली र मनोवैज्ञानिक चर्चा छ  ।  

एउटा जोडीको दाम्पत्य यात्रा संघर्ष र नोकझोंक सहितको खस्रो मिजासपूर्ण प्रेममा चलेको हुन्छ । अनि अर्को जोडी चाहिँ लोकले देख्दा असाध्यै मिठास, सुखद र औपचारिक रूपमा चलेको हुन्छ । श्रीमतीलाई घरको काम बाहेक अरू गर्न नपार्ने श्रीमान्, लगाउन र खान मन लागेको चिज श्रीमानले खोजीखोजी घरमै ल्याइ पुर्याउने ।  श्रीमतीले घुमाउरो इसारामा सिनेमा हेर्ने रहर गर्दा हलमा किन जानु भन्दै डेक र क्यासेट नै किनेर घर ल्याइदिने श्रीमान ।

खासमा, अलिक नोकझोंक र खट्टा खालको दाम्पत्य भएका पहिलो जोडीको जीवनमा सम्बन्धको सारांश कहिल्यै नसुक्ने मह झंै कुटकुट जम्मा हुँदै गएको हुन्छ । अनि सुन्दर र सुखद देखिने दोस्रो जोडीको जीवनमा भित्रभित्रै चुक जमेको हुन्छ ।

कथाको उत्कर्ष र अन्त्य यस्तो हुन्छ नि, सुखद र सुन्दर देखिने दास्रो जोडीको श्रीमती आफ्ना श्रीमानको औपचारिक रबैया र अविश्वासका कारण आफ्नै घरछेउ पर्खाल बनाउन ढुंगाा खसाल्ने ट्रक ड्राइभरसँग भागेर वैधानिक श्रीमानसँगको औपचारिक नातामा पारपाचुके गर्छिन । अरुका लागि कृत्रिम मिठासमा बाँचिदिनु सजाय हो, आफ्नै लवजमा बाँच्नु र हाँस्नु त्यो सुख हो । कथाको भाषा र सिलसिला फरक थियोे होला, मैले बुझेको सार यस्तै हो ।

हामीले देखेका छौँ- नाम, दाम र चर्चाको चुलीमा पुगेका व्यक्तित्वको वैवाहिक जीवन केही समयको सुन्दर कहानीबाट एकाएक बिषाक्तपूर्ण वियोगान्तमा पुगेर टुङ्गिएको ।

चर्चित अनुहारहरूको  क्षणिक आदर्शभन्दा निकै सुन्दर छन् आम मान्छेका संघर्षपूर्ण वैवाहिक जीवनका कहानी ।

यदि तिमीले आफ्नो प्रेम/वैवाहिक जीवनलाई संघर्ष र सुखको समानान्तर धारमा सन्तुलन बनाएर हिँड्न सकेका छौ भने बुझ्नु तिम्रो प्रेम वा तिम्रो सम्बन्ध वा तिम्रो दाम्पत्य साँच्चै आदर्श हो । तिम्रो सफल सम्बन्ध नै खासमा नायकत्व हो । मैले यो लेखनको सुरुमै संकेत गरेको द इन्ड अफ ग्रेट न्यारेटरको थिमपनि सायद यस्तै हो ।

आदर्श सम्बन्धकस्तो हुन्छ ? अनि जाँच्‍ने चाहिँ कसरी त ?
सजिलो छ, साना साना कुरामा औपचारिक नबन्‍ने, बरु झगडा किन नहोस । जस्तै : नुहाएर चिसो टवेल बिस्तरामै छोडेको निहुँमा, तरकारी पिरो बनाएको बहानामा, बच्चालाई पोसाक कस्तो किनिदिने भन्‍ने बिषयमा, सुत्दा ज्यादाको घुर्छ ? भन्‍ने जस्ता वाइघात कुरामा । बिहानको खाना खाएर चुठ्न नपाउदै दिउँसोको खाजा के खाने भन्‍ने निहुँमा । निक्कै मिहिनेत गरेर पकाएको परिकारको प्रसंसा नगरेको कारण । यस्तै यस्तै साना मसिना कुराहरूमा ।

तर आफ्नो जिम्मेवारीमा भने इमानदार बन्‍नुपर्यो, जस्तो आमा बुबाको स्याहार÷ सत्कार गर्न पाउनुलाइ कामका रूपमा नभई कर्तव्यका रूपमा लिनुपर्यो । दुई सुन्दर परिवारका दुई हिमनदीको समिश्रणबाट नै विवाह रूपी संस्थाले गंगा यात्रा गर्ने हो । हिमनदीको महत्त्व र पवित्राको बोध छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध आदर्शपूर्ण छ ।

अनुहारको रेखा हेरेर के सोचेको हो भने हुन्छ भनी मन पढ्न सक्नुहुन्छ ?

गाँस निलेको भरमा उसको भोक र स्वाद तपाईंले अन्दाज गर्न सनुहुन्छ ?

अलि मिठो खानेकुरा पाक्दा/खाँदा आँखा छलेर आफ्नो भागबाट उसको भागमा खसाल्ने गर्नु भएको छ ?

आफ्नो स्वयंवरको औँठी र  खुत्रुकेमा चानचुन राखेर जम्मा गरेको पैसा थपेर आफ्नो   श्रीमानको जन्मदिनमा औँठी उपहार दिनु भएको छ ?

रक्सी नपिउने मान्छेले पनि संयोगले कतै उपहार पाएको एक बोतल विदेशी रक्सीलाई ग्रोसरीमा लिलाम गरेर श्रीमतीको जन्मदिनका लागि स्वेटर उपहार किन्‍नु भएको छ ?

सबैभन्दा अप्ठेरोष् समयमा धैर्य र साहस बटुल्न एक अर्काको औंला  समाएर  समय धकेल्ने कोसिस गर्नुभएको छ ?

लेखक सुबिन भट्टराईको ट्विटको भाव सापटी लिएर अझ सजिलो गरी बुझाउन चाहन्छु । ‘सबैभन्दा अफ्ट्यारो परेको बेलाको समय सबैभन्दा सजिलै  जोसँग कट्छ, यस्तो एकैजना मात्र भए बुझ्नु जिन्दगीमा अथाह छ ।’ यस्तै सरल सूत्रहरू त हुन्, तपाईं हाम्रो प्रेम, प्रणय र वैवाहिक सम्बन्धको आदर्श नाप्ने । खुसी लाग्छ । सुबिन भट्टराईले भने झैँ हाम्रो जिन्दगीमा पनि अथाह छ ।

लेखको सुरुकै उद्धरण गरिएको जोन किट्सको पंक्ति ‘अ थिङ अफ ब्युटी इज अ जोए फरएभर’मै फर्कछु ।

२०६७, पौष १३ गते मंगलबार, बिहान १०ः३० बजे । बुटवल, बेलबासको प्रतिक्षालयमा कसैको कलेज बस कुरेर बसेको अवस्था । मणिमुकुन्द क्याम्पसको बस बेलबास चोकमा रोकेपछि दुई कलेज कन्या ओर्लिन्छन् । कलेज ड्रेसमाथि निलो ब्लेजर, हातमा मफलर, किताबकापीले लच्किएको ब्याग, फराकिलो निधार सहितको हँसिलो अनुहार ।

छेउको चिया पसलबाट माइलो दाजुले संकेत गर्नु भो- तेरो विवाहका लागि प्रस्तावित केटी उही हो । मैले उसलाई पछ्याउँदै गए, ऊ अघि-अघि म पछि-पछि । कम्तीमा एक सय मिटर जति हिँडेपछि मेरो संदेहात्मक पिछा लगाइलाई नम्र शैलीमा प्रतिरोध गर्दै उसले सोधि, ‘तपाईं नयाँ हो यो ठाउँमा ? कसैलाई खोज्दै हुनुहुन्छ ?’ मैले कुनै बनिबनाउ नक्कली उत्तर दिएँ सायद । त्यो क्षणभरको जम्काभेट र सवाल जवाफ नै मेरा लागि नयाँ यात्राको सौन्दर्यानुभूति बन्‍न पुग्यो । अनि त, त्यही दिनको साँझ उसको घरमै औपचारिक कुराकानीका लागि हामी हाजिर थियौं ।

२०६७ पुस १३ को त्यो  क्षणभरको सौन्दर्यानुभूति माघ १ गतेको टिकाटालो र माघ १७ गतेको विवाह उत्सवसँगै आनन्दित एघार वर्ष बितिसकेको छ । हामी ढुक्क छौ, क्षणभरको त्यो सौन्दर्यानुभूति हाम्रो जीवनभरका लागि आनन्दित रहनेछ ।

कवि एवं प्राध्यापक रामप्रसाद ज्ञवालीले कुनै सन्दर्भमा भनेको एउटा कुरा जोड्न चाहन्छु । आफ्ना प्रिय पाठकलाई सम्मान गर्दै उहाँले भन्‍नुभएको थियो- मेरो सफलता र सुखद जीवनका लागि मेरी आमाको जति शुभेच्छा सायद अरु कसैको छैन तर मैले आमाको मुखबाट ‘बाबु तँलाई फलानो कामका लागि शुभकामना छ है’ भनेको मैले अहिलेसम्म सुनेको छैन । पाठकले मलाई शुभकामना भने पनि नभने पनि उनीहरू मेरा लागि आमा जत्तिकै स्तुत्य छन् । स्रष्टा ज्ञवालीको यो भावपरक तर्क मलाई निकै घत पर्छ ।

मेरो स्वभाव पनि त्यस्तै छ । आफ्नो सर्वप्रिय मान्छेका सामु औपचारिक हुन पटक्कै आउँदैन । जे छ मह बनेर मनमा बसिरहेको हुन्छ । यसै पनि अहिले भर्चुअल माध्यममा  शुभकामनाको अरिमो परिमो खुबै फस्टाएको छ । सायद यस्तै बेहोर्नु नपर्ने शुभकामनाको बाढीबाट दिक्क भएर होला शक्तिशाली कवि विनोदविक्रम केसीले शुभकामनालाई ‘फोहोरको नयाँ प्रजाति’का रूपमा परिभाषित गरिसकेका छन । मेरो शुभकामना त्यति सस्तो नबनोस् भनी सचेत हुन खोज्दै छु । हाम्रो सहयात्रामा सुखभन्दा संघर्ष ज्यादा छ । यो हामी दुवैले सहर्ष रोजेको र स्वीकार गरेको राजमार्ग हो ।

हाम्रो यात्रा र राजमार्गमा पर्ने प्रत्येक बिसौनीहरू हाम्रा लागि सधैँ विशेष दिवस बन्‍ने नै छन् । कुनै एक दिन विशेष प्रणय दिवसको के कुरा । मलाई मेरि आमाले जत्तिकै  सरल तरिकाले पढ्न सक्ने मेरो आस्थाको प्रतिविम्ब । म तिमीबाट सधैँ पढिइरहन चाहन्छु ।

नदीछेउ एक्लै थिएँ तुइन बनी तार्यौ मलाई ।
पाखाबारी फुल्थे कतै फूलबारीमै सार्यौ मलाई ।।

जिउनु मात्र होइन ठुलो सुख-दुःख थोरै धेरै ।
तर तिमीले हरपल ‘सुख’ मात्र पार्यौ मलाई ।।

जीतको माला लाउने खुबी तिम्रो पनि बरोबर छ
यी सबै पाखा राखी ‘जीत’ दिन हार्यौ मलाई ।।

कहिलेकाहीँ तिम्रो बोझ आधाआध बाँडौँ भन्छु ।
फिस्स हाँसी भैगो भन्दै सधैं सधैं टार्यौ मलाई ।।

यिनै शब्द समर्पणसहित ह्याप्पी भ्यालेन्टाइन डे डियर ।


Author

शुभाषचन्द्र पोख्रेल

पोख्रेल स्वतन्त्र पत्रकार हुन् ।


थप समाचार
x