पुस्तक समीक्षा
अद्भुत आत्मकथा
बुकहिल प्रकाशनद्वारा हालसालै पुन:प्रकाशित पुस्तक ‘दमनराज तुलाधर’ मित्र निर्मल थापाले पठाइदिनु भएको थियो । आजसम्म पढिएका जीवनी तथा आत्मकथाहरूमध्येमा दमनराज तुलाधरको आत्मकथा विशेष लाग्यो । हामीले पढेको इतिहासमा नलेखिएका, नाम समेत नसुनिएका दमनराजले नेपालका लागि विभिन्न क्षेत्रमा निकै धेरै योगदान पुर्याएको देखिन्छ ।
उपलब्धता र रुचिका कारण सबैले पुस्तक पढ्ने मौका नपाउन सक्छन् तसर्थ पुस्तक अध्ययनपश्चात् उनका बारेमा आफूलाई लागेका केही विषयलाई जानकारीका रूपमा दिन चाहेको छु । थप बुझ्न, जान्न चाहनेले पुस्तक खोजेर पढ्न पनि सक्ने हुँदा मलाई मन परेका केही घटना-परिघटना समेटेर समीक्षाका रूपमा लेख्ने जमर्को गरेको छु ।
‘राजा त्रिभुवन नाति ज्ञानेन्द्र बाहेक सपरिवार काठमाडौँको भारतीय दूतावासमा केही दिन बसेर दिल्ली प्रस्थान गरेपछि काठमाडाँैमा भएको आन्दोलन सक्रिय रह्यो । त्यही आन्दोलनमा पहिलो सहादत प्राप्त गर्ने नुच्छेरत्न शाक्यको शवयात्रा र त्यसपछि भएको जुलुसमा भोगेन्द्रमान अनि लगत्तै दानमान बाँडा, श्यामचा ज्यापुको ज्यान गएको उल्लेख गर्दै आज यो घटना सम्झँदा त्यसै दिन गोलीबाट मुक्त भएको भए म पनि शहीदहरूको लाममा उभिने थिएँ र बुढेसकालको यो हैरानी भोग्नुपर्ने थिएन होला जस्तो पनि लाग्छ ।’
यसबाट उनको जीवनको पछिल्लो काल त्यति सहज थिएन होला कि भन्ने सहजै लख काट्न सकिन्छ । आफैँले लेखेको पाण्डुलिपिलाई २०३९ सालमा केवल ३६५ प्रति मात्रै छपाइएको यो पुस्तकको पुन:प्रकाशन भने २०७७ साल दसैँमा भएको देखिन्छ । पुस्तकको अन्त्यमा ‘राजा महेन्द्रको स्वर्गारोहणको समाचार सुनी विक्षिप्त भएर एउटा कविता लेखी यो अधुरो जीवनी यही टुंग्याउँछु’ भनेसँगै सकिन्छ ।
त्यसैले उक्त दिन २०२८ माघ १७ गतेपछिका घटना यस पुस्तकमा समेटिएका छैनन् । त्यसपछिको करिब करिब २० वर्ष उनको जीवन गुमनाम रहेको बुझिन्छ । त्यसैले होला, यस प्रकाशनमा त्यसपछिका कुनै थप जानकारी उल्लेख भएका छैनन् ।
दमनराज १९७३ श्रावण कृष्ण नवमीको दिन बाबु बलराज र आमा देवीमाया तुलाधर परिवारमा जन्मिएका थिए । उनका बुवा हजुरिया जर्नेल मोहन शमशेरको ढोकामा जागिरे थिए । अंग्रेजी राम्रो भएका कारण दरबारमा अंग्रेजी पत्रिका पढेर सुनाउने, केही लेख्न परे लेख्ने, सबै काम गर्ने हुँदा सबैको प्रिय पात्र बनेका थिए ।
छोरालाई पनि राम्रो शिक्षा दिलाउन घरमा नै गुरुको व्यवस्था गरिएको थियो । अंग्रेजी सिकाउन विशेष व्यवस्था पनि भयो । सात वर्षको उमेरमा दरबार हाइस्कुलमा दुई कक्षामा प्रवेश गरेर १९९१ सालमा एस.एल.सी. पास गरे । आइ.ए. पनि पास भए तर बि.ए. पास हुनेबित्तिक्कै एम.ए. गर्न कलकत्ता जान पर्छ, पास भएर आएपछि दरबारमा जागिरे हुनुपर्छ भनेकाले जसरी भए पनि बि.ए. फेल हुने उपाय सुझाएको बुझिन्छ ।
अंग्रेजीको तीन पेपर दिनुपर्नेमा एउटा छाडिदिएका थिए । र उनी बि.ए. फेल भएकामा खुसी भए । तुरुन्तै अर्को परीक्षामा सामेल मात्रै भए पनि परिक्षा उत्तीर्ण गराइदिने भन्दा पनि उनले अस्वीकार गरेका थिए । १९९४ सालमा स्थापना भएको नेपाल बैंकमा अन्य केही साथीहरूले काम गरेको देखेर आफू पनि जागीरे हुने इच्छाले बैंकका मेनेजरलाई भेट्न गएका थिए । भोलिबाट काममा आउनु त भन्यो तर बुबाले तिम्रो हिसाब सारै कमजोर छ के बैंकमा काम गर्छौ ? बरु जुद्धोदय स्कुलमा पढाउन थाले हुन्छ भन्ने सल्लाह भएपछि कुरा मोडियो ।
यही कुरा जाहेरी गर्न जाँदा मोहन शमशेरले दरबार स्कुलमा पढाउनू म भन्दिन्छु भनेका थिए । त्यो त ठूलाबडाका बच्चाहरू पढ्ने अनि पढाउनेहरू पनि धेरै योग्य हुने हुँदा मैले आफ्नो क्षमता देखाउन सक्दिनँ होला भनेर जवाफ उनले दिँदा ‘तँ अब सड-गल-मर, अबदेखि मलाई भेट्न नआइज !’ भन्दा पनि उनी आफ्नो निर्णयमा अडिग रहेका थिए ।
१९९८ असारतिर काठमाडौंमा प्रजा परिषद्को नाममा राजनीतिक प्रचारका लागि पर्चा छरिएको थियो । कक्षा चारमा पढाउन जाँदा टेबलमा एउटा खाम देखी खोल्दा त्यही पर्चा रहेछ । राणाहरू आफूविरुद्ध कहाँ के भइरहेको छ भन्ने खुबै निगरानी राख्थे । सबै साथीहरूसँग पैसा नहुने हुँदा केही साथीहरूले नियमित पैसा जम्मा गर्ने र आवश्यक पर्दा सबैले मिलेर खर्च गर्ने गरेको समेत दरबारमा थाहा पाएर हप्काइ खान परेको थियो ।
केही महिनापछि प्रजापरिषद्मा संलग्न सबैलाई धरपकड हुन थाल्यो । शुक्रराजका भाइ वाकपती राजले नै सुराकी गरेर टंकप्रसादबाहेक सबैलाई पक्राउ गर्यो । बनारसमा रहेका टंकप्रसाद आचार्यका बुवा बिरामी सिकिस्त भएको जाली खबर पाएर घर आउँदा उनलाई पनि बाटोमै समात्यो । अनुमति नलिई विद्यालय खोल्ने, टोलमा पुराण पढी हिँड्ने पण्डित, कविता पढ्ने, समाज सुधारका काम गर्नेसहित केही विद्यार्थीलाई पनि धरपकड भएको थियो ।
आफूलाई पनि समात्ला भनी घरमा भएका सबै पुस्तकहरू दमनले लुकाए पनि कात्तिक १८ गते पक्राउमा परिहाले । चार जनालाई मृत्युदण्डसहित धेरैलाई आजीवन काराबास भएको त्यो घटनामा उनको खासै संलग्नता नदेखिएको हुँदा ८०÷९० दिन जेल सजाय पाएर निस्केका थिए ।
बुबाको मृत्युपछि दमनराजको अवस्था जटिल बन्न पुग्यो । घर चलाउन तथा समाजमा ठूलो मान्छे भएपछि इज्जत जोगाउन धेरै नै ऋण आइपरेको थियो । खर्च गर्दा केही ध्यान नदिने फुर्मासी रवाफका थिए । ठूलोबाको मृत्यु पछाडि सबै दाज्युभाइबीच अंशबण्डा गर्नुपर्ने अवस्था आयो ।
धन ऋणको हिसाब गर्दा ऋण नै धेरै देखियो । उनले भाइहरूको पनि स्याहारसुसार गर्नुपर्ने भयो । ४२ हजारको ऋण तिर्न र घर व्यवहार चलाउन उनले अब ट्युसन पढाउने निर्णय गरे । रातदिन दु:ख गर्दा महिनामा करिब चार सय जति आम्दानी हुन्थ्यो । यो तरिकाले त ऋण तिर्न सकिँदैन घर बेचेर सानो डेरामा जाऊँ भन्ने श्रीमतीको सुझाव सुरुमा इन्कार गरेर गालीसमेत गरे । कलकत्तामा इन्जिनियरिङ पढ्न गएका भाइलाई पैसा पठाउन नसक्दा पढाइ बीचमा नै छाडेर फर्कन परेको थियो ।
एक इमानदार स्वाभिमानी मिहिनेती गुमनाम व्यक्तिको जीवनको उतारचढाव ।
साहुहरूले पनि हामीले ब्याज खान ऋण दिएको हैन सावा तुरुन्त फिर्ता गर्न दबाब दिएपछि बाध्य भएर २००२ सालमा नरदेवीको पुख्र्यौली घर बेचेर गल्कोपाखास्थित एउटा टहरोमा बस्न थालेका थिए । हुनत बुबाको मृत्युपछि मोहनशमशेरलाई विन्ती चढाउन नगएका हैनन्, तर तेरो बाउलाई तीन लाख रुपैयाँ चलाउन दिइएको थियो त्यसको पनि हिसाब किताब भएन भनेर थप सहयोग पाउने सम्भावना भएन ।
वि.स. १९९६ देखि २००२ सम्म सक्रिय रूपमा शिक्षण पेसामा लागेर पनि राजनीतीमा नजिक हुने इच्छा छँदै थियो । जुद्धशमशेरको मृत्युपछि पद्म शमशेर उदय भएसँगै नेपालमा राजनीतिक चहलपहल सुरु भयो । आफू राजनीतिमा लाग्दा विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्ला भनी एक वर्ष अध्ययन बिदा लिए । त्यसपछि स्कुलमा सक्रिय हुन सकेनन् ।
२००३ सालमा गोपालप्रसाद रिमाललगायत केही साथीसँग मिलेर पहिला पशुपति र पछि शोभाभगवती मन्दिरमा नियमित भजन गर्ने बहानामा थुप्रै मानिस जम्मा गरी राजनीतिक क्रियाकलाप गर्न थाले । यही पृष्ठभूमिमा गोपालप्रसाद रिमालले रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत रचना गरेका थिए ।
राजालाई सर्वोपरि मानी राष्ट्रियताको भावना जगाउने उद्देश्यसहित नेपाल नेसनल लिग (नेपाल राष्ट्रिय संगठन) खोल्ने निर्णय भयो । सरकारप्रति कुनै विरोध वा द्वेष उत्पन्न नहुने गरी जनतामा सामाजिक र राजनीतिक चेतना प्रवाह हुने गरी विभिन्न भाषामा पर्चा-पुस्तक वितरण गर्ने निर्णय भयो ।
संगठनले तत्कालीन रूपमा अछुत उद्धार, नारी शिक्षा प्रदान, सैनिक सेवामा जाति भेद हटाउने र कुनै पनि नेपालीलाई गढीमा जान राहदानी नचाहिने, हिन्दुस्तान जान मात्रै राहदानी चाहिने व्यवस्था गर्ने उद्देश्य राखियो । संगठन निर्माण गर्दै जाँदा साथीहरू एकआपसमा भेट्दा अहिले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले प्रयोग गर्ने ‘जय नेपाल’ भन्ने प्रचलन त्यसै ताकाबाट सुरु भयो । यो अभियानमा धेरै जनताहरू सक्रिय हुन थालेपछि त्यसले राजनीतिक रूप लियो र सबै सक्रिय सदस्यहरूलाई गिरफ्तार गरियो ।
करिब एक वर्षको जेल जीवन काटेपछि उनलाई नेपाल बस्न मन लागेन । त्यति बेला हिन्दुस्तानमा नेपाली कांग्रेसको अध्यक्ष पदका लागि झगडा सुरु भइसकेको थियो । नेताहरूबीच सहमति गराउन सकिन्छ कि भनी उनी वनारस र कलकत्ता पुगे ।
नेताहरूबीच नीतिमा नभई व्यक्तिगत मनमुटाव भएकोदेखि विरक्तिएर नेपाल पनि फर्कने इच्छा लागेन । त्यतैबाट दार्जीलिङ पुगी पूर्णबहादुर मानवकोमा बस्न थाले । काम खोज्दै जाँदा एउटा विद्यालयमा अङ्ग्रेजी पढाउने शिक्षक चाहिएको रहेछ तर बि.ए. पास हुन जरुरी थियो ।
प्रधानअध्यापिकाले एकपल्ट तपाईंको पढाउने तरिका हेरौं न त भनेकाले कक्षामा गएर पढाए । विद्यार्थीहरू खुबै प्रभावित भएकाले दुई हप्तापछि काम सुरु गर्न सक्नुहुन्छ भनेका थिए । त्यति नै बेला कलकत्ताबाट आमसभा गर्न बीपी कोइराला, गणेशमान सिंह, लक्ष्मीप्रसाद देवकोटा लगायतका केही नेताहरू र धनकुटाबाट गजेन्द्रबहादुर प्रधानाङ्ग दार्जलिङ्ग आएका थिए । गजेन्द्रसँग परिचय गर्दा ए तपाईं त हामीलाई चाहिएको मान्छे रहेछ म एउटा हेडमास्टर पनि खोज्न आएको हुँ । तपाईं भोलि नै धनकुटा जानुस् म सबै व्यवस्था मिलाइदिन्छु भनेपछि उतै जाने निर्णय भयो । त्यहाँ अङ्ग्रेजी पढाए र हेडमास्टर बने ।
शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरले यो कुरा थाहा पाएकाले उनलाई त्यहाँबाट हटाउने जालो बुन्न थालियो । नभन्दै बि.ए. पास नगरेको मानिसलाई हेडमास्टर बनाएको बुझिएकाले तुरुन्त अर्को व्यवस्था गर्नू भन्ने आदेश गयो । त्यसपछि उनले चैनपुर जाने निर्णय गरे । त्यहाँ पनि उनी अति नै सक्रिय रहे । पढाउनको अलावा संगठन विस्तार सांस्कृतिक कार्यक्रममा पनि सक्रिय भइरहे ।
दुई कांग्रेस मिलेर एउटा मात्रै कांग्रेस बनाउने निर्णय भएकाले सकेसम्म धेरै साथीहरू लिई कलकत्ता आउनू भनी सूर्यप्रसाद उपाध्यायले पत्र पठाएकाले जाने निर्णय भयो । त्यसपछि काठमाडौँ गएर नै राजनीतिमा सक्रिय हुने भए ।
२००७ सालको उथलपुथलपछि नेपाल प्रजा परिषद्को महासचिव बनेका तुलाधर पार्टीको कामको सिलसिलामा धनकुटा चैनपुर जाँदा विराटनगरमा मनमोहन अधिकारीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा पक्राउ परी एक महिना जेल परे । छ दिन अनशन बसी जेलबाट छुटेर काठमाडौँ आउँदा टंकप्रसाद आचार्यले प्रजापरिषद्लाई माक्र्सवादी र लेनिनवादी भनी घोषणा गरेकोले आफू समाजवादी हुँला तर कम्युनिस्ट हुन सक्दिनँ भनी आफ्नो पदबाट राजीनामा दिए । राणा शासन अन्त्य भइसकेकाले आफ्नो राजनीतिक उद्देश्य पूरा भएकाले निजामती जागीरे हुने निर्णयमा पुगे ।
राजा त्रिभुवनसँग उनको राम्रो सम्बन्ध थियो । प्रजातन्त्रपछि देशमा धेरैवटा पार्टी नहोस्, दलीय व्यवस्थालाई बलियो बनाएर राणाहरूलाई देखाउन पर्छ भनी सल्लाह हुन्थ्यो । दमनराजका बुवाले त्रिभुवनलाई धेरै सहयोग गरेको कुरा पनि सुनाएका रहेछन् । प्रजा परिषद्लाई बलियो बनाउन आवश्यक सहयोग हामीबाट हुन्छ देशभरि पार्टी बनाउन अर्थ पनि आवश्यक हुन्छ । देशमा अमनचैन भए डेढ दुई वर्षमा चुनाव गराउँछु, तिमीहरूको पार्टीले बहुमत ल्याउन पर्छ । त्यसलाई नै विधानसभा बनाई नयाँ सविधान बनाउनुपर्छ, त्यसले गणतान्त्रिक संविधान बनायो भने म आफ्नो पदबाट राजीनामा दिन्छु समेत भनेका रहेछन् । तर प्रजा-परिषद्ले अर्कै बाटो समातेको हुँदा त्यो सम्भव भएन । छुट्टिने बेलामा एउटा खाम दिई यो किताब तिमीले पढ्नुपर्छ घरमा गएर खोल्नू भनेका रहेछन् ।
घर पुगेर खोल्दा त १० हजार रुपैयाँ रहेछ । चित्तधर हृदयकी बहिनी मोतीलक्ष्मीले गोर्कीको ‘मदर’लगायत केही किताब मागेर अस्पतालको लंगडी डाक्टरलाई पढ्न दिन्छु भनेर राजा त्रिभुवनलाई पढ्न दिएको कुरापछि किताब माग्दा महाराजले फिर्ता नदिएको कुरा सुनाउँदा थाहा भयो । दिल्ली सम्झौतापछि राजा त्रिभुवन नेपाल फर्किंदा स्वागतार्थ विमान पुगेको भीड बढ्दै जाँदा बाशुपासा मोहन शमशेरसँग ठोकिएपछि मोहन शमशेरले कस्तो मान्छे ? भनेर बकबकाउन थालेपछि के भनिस् ? भनी मुक्का उठाउन खोजेपछि त्यो दृश्य देखेका त्रिभुवनले बाशुपासालाई अङ्कमाल गर्दै सञ्चै हुनुहुन्छ भनेर झण्डै बिग्रिसकेको अवस्थालाई सम्भालेर अप्रिय घटना रोकेको स्मरण पनि गरेका छन् ।
काठमाडौँको स्थानीय बासिन्दा नेवार परिवारमा हुर्केको त्यसमा पनि विभिन्न महत्वपूर्ण पदमा बसी देश-विदेशको भ्रमण गर्ने अवसर पाएकाले होला मदिरापानमा विशेष आसक्ति भएको देखिन्छ । पहिलोपल्ट सिंगापुर जाँदा जहाजमा राजकुमारी आयनका प्रेमीको दाइ मेजर टाउन सेन्ड पनि साथै हुन्छ ।
विभिन्न खालका मदिरा पिउने प्रतिस्पर्धा हुँदा धेरै पिएर जहाजबाट कसले कसरी होटल पुर्याएसमेत सम्झिन सकेनन् । संयुक्त राष्ट्र संघको ११औँ अधिवेशनमा न्युयोर्क जाँदा हृषीकेश शाहले व्यवस्था मिलाइदिएको होटलमा बसेर राजाको भाषण तयार गर्दा दिनभरिमा आधा बोटल ‘क्यानेडियन क्लब’ व्हिस्की रित्याएको, बेलुकी राजासँग बस्दा ‘किंग्स अफ द किंग्स’ ब्रान्डको व्हिस्की खोलियो ।
मिसमास भए पचाउन सक्दिनँ भन्दा राजाले तिमीले नपिउँदा मज्जा नआउने भयो नि ? भनेपछि हृषीकेश शाहले राजाको आदेश मान्नपर्छ भनेपछि सुरु गरे । थप्दिनँ भन्दा पनि आदेश भन्दाभन्दै धेरै पिए । जमघट नसक्दै जबर्जस्ती बिदा मागेर आफू बस्ने होटल जान खोज्दा कुन चाहिँ लिफ्ट थिच्नेभन्दा भन्दै त्यही नै लड्न पुग्यो । भोलि बिहान उठ्दा नेपाली नियोगमै पो रहेछ ।
नेपाल-तिब्बतको सीमा स्तम्भ लगाउने जिम्मा लिएर रसुवा, केरुङ, झोङगा, मानसरोवर, हुँदै खोजरपुरसम्म पुग्दा चीनको पक्षबाट धेरै रात्रिभोज सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो । मद्यपानको व्यवस्था त झन् विशेष हुने नै भयो । बिदाइ कार्यक्रममा भएको भव्य रात्रिभोजमा कति उनीहरूको मात्रै पिउने भनेर आफ्नै घरमा बनाइएको आठ बोतल तीन पाने सबैलाई चखाएको किस्सा उल्लेख छन् । कामको सिलसिलामा सरकारको प्रतिनिधित्व गर्दै सिंगापुर, टोकियो, दिल्ली, मनिला, बैंकक, अमेरिका, फ्रान्स, बेलायत पुगेको उल्लेख छ ।
आन्दोलनमा त्यति धेरै सक्रिय भएको नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्ति प्रजातन्त्र स्थापना पछाडि किन जागीरे जीवन रोज्न पुगे त्यो निकै अर्थपूर्ण देखिन्छ । हुन त राजनीतिमा नै सक्रिय भएको भए पनि त्यति बेलाको अस्थिर राजनीतिक अवस्थामा थोरै समय मन्त्री बनेर खासै देशका लागि धेरै योगदान दिन सक्दैन थिए होला तर सरकारी नोकरीमा संलग्न भई विभिन्न जिम्मेदारी लिएर देशका लागि धेरै नै योगदान पुर्याएको देखिन्छ । योजना विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेखदेख दौडाहा, शाही भूमिसुधार आयोग, आर्थिक योजना मन्त्रालय, प्रचारप्रसार मन्त्रालयमार्फत धेरै नै योगदान पुर्याएको देखिन्छ ।
२००८ माघ १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि निजामती सेवामा काम गर्न निर्णय गरी खाद्यमन्त्री सूर्यप्रसाद उपाध्यायलाई आफ्नो इच्छा जानकारी गराए । उनले हुन्छ त भने तर धेरै दिनसम्म सम्पर्क नगरे पनि उद्योग वाणिज्य मन्त्री गणेशमानसिंहकहाँ पुगे । उनले ल मसँग हिँड भनेर सिधै प्रमसँग भेट्न गए ।
मातृकाप्रसादले दमनराज देखेपछि अब मशाल जुलुस कहिले निकाल्ने हो त भनी व्यंग्य गरे तर गणेशमानले उनले राजनीति छाडिसक्यो अब जागिर खाने भनेर आएका हुन् भने । तुरुन्तै छेउमै रहेका राज्य व्यवस्था विभागका सचिव अच्युतराज पाण्डेतिर हेरेर उहाँलाई तुरुन्तै योजना विकास मन्त्रालयको डेपुटी सेक्रेटरीमा नियुक्ति दिन आदेश भयो । तर दमनराजले म त डेपुटी हुन्न भनेकाले गणेशमान सिंहले अहिले त्यसैमा सुरु गर्नु केही समयपछि हामी अर्को व्यवस्था गरौँला नि भने । तर उनले त अस्तिसम्म जिन्दावाद-मुर्दावाद भन्नेले एकैपटक कसरी डेपुटी हुने बरु एसिस्टेन्टबाट सुरु गर्छु भनेको हो भन्दा नजिकै बसेका अर्थमन्त्री सुवर्ण शमशेर पेट मिचीमिची हाँसेका रहेछन् । यो घटनाले उनी कति व्यावहारिक थिए भन्ने स्पष्ट हुन्छ ।
परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि १६ राष्ट्रसँग दौत्य सम्पर्क स्थापना गर्न लेखापढी भयो । त्यस बेलासम्म काठमाडाँैमा भारत र ब्रिटिस राजदूतावास मात्रै थियो । उनको कार्यकालमा अमेरिका, चिनियाँ, रुसी र इजरायलको दूतावास थपिए । विदेशमा पेकिङ, मस्को, वाशिंगटन र न्युयोर्कमा नेपालको दूतावास स्थापना गरिएको थियो । त्यति बेला इजरायलसँग भारतको दौत्य सम्बन्ध कायम भइसकेको थिएन । नेपालको संसद्मा परराष्ट्रमन्त्रीले इजरायलसँग सम्बन्ध स्थापना भएको जानकारी गराएको खबरलाई आधार बनाई भारतस्थित मिश्रको दूतावासबाट भारतसँग सम्बन्ध नभएको देशमा नेपालले कसरी सम्बन्ध स्थापना भयो भनेर सोधनी भएको पत्र आएछ ।
जवाफमा सार्वभौम देशले अर्को देशसँग सम्बन्ध कायम गर्न सक्छ । भारत र नेपालको सम्बन्ध यसको कारणले तलमाथि नहुने बरु इजरायलसँग सम्पर्क विस्तार गर्न काठमाडाँै पनि उपयुक्त स्थान हुन सक्ने भन्ने जवाफ पठाएर एक स्वतन्त्र राष्ट्रको परिचय दिन सफल भएको देखिन्छ ।
संयुक्त राष्ट्र संघको सम्मेलनमा जाँदा भेटिएको एक अमेरिकी जोडीले कार्यक्रमपछि आफ्नो घर आउने निमन्त्रणा दिए । दुई दिनको बसाइमा उनीसँग अति प्रभावित भएछन् । उनीहरू अथाह सम्पत्तिका मालिक रहेछन् । आलिसान दरबारमा चारजना स्याहार सुसारेहरूलाई छोरी समान पालेका रहेछन् । शेषपछि उनीहरूलाई जनही एक लाख डलर छुट्याएको थियो । छोराछोरीलाई सम्पत्ति दिँदा अपमान ठान्ने हुँदा दमनराजलाई काम छाडेर हामीसँग आउनु भएको सम्पत्ति तिम्रो भयो भन्ने प्रस्ताव राखेका रहेछन् । भविष्यमा सरकारको दूत भएर काम गर्ने योजना बनेको छ सम्पत्तिकै लागि सबै छाडेर के अपुताली खानु ? भनेर दश वर्षसम्म सरकारी जागिर छोड्न मिल्दैन भनेर टारी दिएछन् ।
अमेरिकाबाट फर्केर केही दिन बेलायत बसेर फ्रान्स पुगी राजाको आदेशअनुसार १२ वटा रेनल्ट गाडी किनेर दिल्ली पठाई केही दिन फ्रान्समा बसेर दिल्ली पुगी भन्सारको काम सकी नेपाल फर्केका रहेछन् । २०१४ श्रावण ११ मा डा. के.आई. सिंहको सरकार बन्यो ।
अब उप्रान्त दूतावासमा गरिने पत्राचारमा कुनै अनुरोध गरियो भने प्लिज अनिवार्य लेख्नुपर्ने, कुनै कर्मचारी दूतावासको कार्यक्रममा जाँदा के-कस्तो कुरा भयो भोलि पल्टै प्रमलाई जानकारी गराउनुपर्ने, दूतावासका कर्मचारीहरूले आफूलाई प्रयोग गर्ने भनी प्रशस्त रक्सी चुरोट झिकाई बजारमा बेच्न सक्ने हुँदा सबैले के-कति झिकाउँदै छ जानकारी पाएपछि मात्रै भन्सारबाट निकाल्न सकिने जस्ता निर्णयहरूलाई उनको १०८ दिनको शासनकाल सबैका लागि चुनौती पूर्ण रह्यो ।
मुस्ताङमा चाइनिज सेनाले गोली चलाउँदा जमदार बमप्रसादको मृत्यु भयो । यो घटनाले नेपाल र चाइनाबीच केही समय समस्या आयो । दुवैतर्फबाट पटकपटक पत्राचारहरू भए । चाइनिज राष्ट्रपति चाउ वेनलाईले नहुनुपर्ने घटना घट्यो त्यसमा क्षमा याचना गर्दै नेपाल सरकाले मागे जति क्षतिपूर्ति दिने प्रस्ताव आयो ।
यसलाई सकारात्मक ठानी गल्ती स्वीकार गर्नु मुख्य कुरा हो । मानिसको मोल बढी बढाउ गर्नु उचित होइन त्यसैले क्षतिपूर्तिबापत रु. १ तिरे हुन्छ भन्ने आशयको पत्र तयार गरी प्र.म. बी.पी. कोइरालालाई देखाउँदा कहाँ हुन्छ यसरी ५० हजार जरिवाना हुनुपर्छ भन्दा यसरी मानव मूल्य तोक्दै जाने भए अन्तमा त्यो जरिवाना बुझ्ने मानिस पनि बाँकी नरहन सक्छ भन्ने तर्क गरेका थिए तर उनको सुनुवाइ भएन ५० हजार जरिवाना असुल गरी ६/७ हजार मृतकको परिवारलाई दिएर बाँकी पैसा सरकारको सर्वसञ्चित कोषमा दाखिला गर्यो । पार्टी र सरकारको नेतृत्व एकै व्यक्तिमा हुनुहुँदैन भन्ने सिद्धान्त प्रतिपादन गरी आफ्नै दाइ मातृका कोइरालाको हातबाट अध्यक्ष पद खोस्ने बी.पी. आफैँ चुनाव जितेपछि भने दुवै पद आफैँले राख्दा पार्टीमा ठूलो विग्रह आयो ।
चितवनबाट तोरी ल्याएर काठमाडौँमा बेच्ने योजनामा साथीहरूसँग काम गर्न सके त राम्रै हुने साथै भुवनमान सिंहसँग ‘पर्वत’ चुरोटको डिलरसिप लिन सके दुइटै काम एकैपटक हुने सल्लाह भयो । केही दिनपछि उनीसँगै वीरगन्ज जाने तयारीमा थिए । त्यस अगाडि दरबारबाट आफूलाई लिन दुईजना मानिस घरमै आइपुगे । के रहेछ भनी जाँदा २००८ देखि २०१७ सालसम्मका राजा महेन्द्रका सबै भाषण योजनाहरू समेटेर पुस्तिका बनाउन आदेश भयो । राजाका अंग्र्रेजी भाषणहरू लेखी दिनुपर्ने भयो ।
यति ठूलो जिम्मेदारी पाएपछि तोरी व्यापारी र चुरोट डिलर हुने योजना रोकियो । त्यसैताका राइजिङ नेपाल गोरखापत्र मा २६ साल पुस, माघसम्म सक्रिय भए । एकदलीय व्यवस्था भए पनि थुप्रै गुट उपगुट भएकाले पञ्चायतले सोचे जति राम्रो काम गर्न सकेको थिएन त्यसैले बरु संविधान नै परिवर्तन गरी दुइटासम्म दललाई राजनीति गर्न अनुमति दिने हो कि भनी राय सुझाव राजासमक्ष विन्तीपत्र नै लेखेका थिए । राजाले तिम्रो कुरा तर्कसंगत छ भनेका थिए । त्यसपछि फेरि काम नभएको महसुस भई कुनै व्यवसाय गर्ने सुर कसेका थिए ।
कृषि विकास बैंकसँग ४५ हजार ऋण लिएर आफूसँग भएको ३०/३५ हजारले तराईबाट भैंसी किनेर काम गर्ने मान्छेहरूसहित ल्याएर ‘महिषासुर दुग्ध उत्पादन केन्द्र’ स्थापना गरे । सुरुमा त राम्ररी भएको थियो तर झरी परेर जाडो मौसम सुरु भएपछि तराईका काम गर्ने केटा काठमाडौँमा बस्न नसकेर भागेपछि भैंसी पाल्ने सम्भावना भएन, मासुको मोलमा बेच्न बाध्य भएका थिए ।
इरानको राजतन्त्रले २५ सय वर्षको वर्षगाँठ मनाउने कार्यक्रममा राजा महेन्द्र पनि सामेल हुने कार्यक्रम बन्यो । यस अवसरमा एउटा दस्तावेज तयार पार्ने इच्छा राजाको भएकाले नेपाल एन्ड इरान, अ टेल अफ टु ल्यान्डस् पुस्तक तयार गर्ने निर्णय भएअनुसार काम सुरु भयो ।
तोकिएको समयमा उक्त पुस्तक तयार हुन सकेन । अहिले हतार गर्न परेन सन् १९७१ भित्र पूरा भए हुन्छ भन्ने आदेश भयो । तर १९७२ जनवरी १९ मा मात्र पुस्तक तयार भयो । त्यतिबेला राजा महेन्द्र भरतपुरमा भएको हुँदा त्यहीँ पुगेर भेट्ने सुर पनि चलेको थियो तर माघ १९ गते काठमाडौँ फर्कने कार्यक्रम भएको हुँदा कुर्ने नै उचित लाग्यो । तर माघ १६ गते राजाको स्वर्गारोहण भएको खबर आएपछि आफ्नो सारा संसार डुबेको जस्तो लाग्यो । आफूलाई सम्हाल्न प्रयास गरी एउटा लामो कविता लेखे राजाको बारे ।
जीवनभरि राज्यलाई विभिन्न माध्यमबाट सेवा गरेको र विशेषत: परराष्ट्र मामिलाका पोख्त अंग्रेजीमा पारंगत अनुभवी त छँदै थिए राजासँगको अति नै सामीप्य भएकाले पनि केही दिन भित्रै कुनै ठूलो देशको राजदूत नियुक्ति हुने पक्कापक्की थियो । अब त्यो पूरा हुने भएन । जीवनको उत्तरार्धमा अन्योल र अभावको स्थिति आयो । यो घटनापछिको अवस्थाबारे पुस्तकमा केही उल्लेख गरिएको छैन । अप्रत्याशित रूपमा राजाको मृत्यु भएको खबरले विचलित भई सबै काम छाडेको देखिन्छ तर त्यसपछि के भयो खुल्दुलीको विषय गर्भमै रहेको छ ।
एक इमानदार स्वाभिमानी मिहिनेती गुमनाम व्यक्तिको जीवनको उतारचढावमा तत्कालीन नेपाली समाजको प्रत्येक पाटाको असली रूप देखिनसक्छ । उनीबारे सार्वजनिक नभएका बाँकी तथ्यहरू पत्ता लागाई सार्वजनिक गर्ने दायित्व इतिहासकारहरूको नै हुनेछ । (बेलायत बस्ने श्रेष्ठ अधिवक्ता हुन् । उनको आत्मकथा मेरो आधा शताब्दी प्रकाशित छ ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया