विश्व

ट्वीटरको हालको मूल्य २० अर्ब डलर

इकागज |
चैत १३, २०७९ सोमवार १५:५४ बजे

फाइल फोटो

न्यूयोर्क - एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो ।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।


क्षतिपूर्ति योजनाले ट्वीटरको मूल्य २० अर्ब डलर तोकेको छ । यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो । 

तेस्ला इंक र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्वीटरले आफ्ना कर्मचारीलाई हरेक छ महिनामा सेयर नगद गर्न अनुमति दिने बताएका छन् । 

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले बताएका छन्, “ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको थियो । 

यसअघि, मस्कले ट्वीटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भनेका छन्, “ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ ।”

उनले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिएका थिए । ट्वीटरका बहुसङ्ख्यक शेयरहोल्डर मस्कले भने, “कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ ।”

मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार ५०० कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झारेका छन् । 

उनले २५० अर्ब अमेरिकी डलरको मूल्यांकनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको एएफपीलाई प्राप्त इमेलमा बताएका छन् । रासस


Author

थप समाचार
x