विश्व

भाजपालाई चारमध्ये तीन राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित

इकागज |
मंसिर १८, २०८० सोमबार १७:१२ बजे

फाइल तस्बिर

नयाँ दिल्ली - भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले आइतबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जित हासिल गरेको छ । 

निर्वाचन आयोगको वेबसाइटअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ । 


कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ । 

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन् । “छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने संकेत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जाल एक्समा भने । 

कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरे । “विचारको लडाइँ जारी रहने छ”, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले एक्समा भनेका छन् । 

विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए । 

नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूबीच हिँडे । सम्बोधनमा उनले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए । 

करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् । 

यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ । 

निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए । 


Author

थप समाचार
x