विश्व

पाकिस्तानको २४औँ प्रधानमन्त्रीमा शाहबाज शरिफ निर्वाचित, दाेस्राे कार्याकाल सुरु

इकागज |
फागुन २०, २०८० आइतबार १७:१६ बजे

इस्लामाबाद- पाकिस्तानमा शाहबाज शरिफ देशको २४औँ प्रधानमन्त्री बनेका छन् ।

शहबाज शरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरिफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् ।


प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे ।

आफ्नो जितको घोषणापछि शहबाजले जेठा भाइ नवाजलाई अँगालो हालेकाे पाकिस्तान समाचार संस्था 'डान' ले जनाएकाे छ । उसका अनुसार प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज शरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । १ मिनेट २४ घण्टाको भाषणमा शाहबाजले भने, ‘गाजामा प्यालेस्टाइन र भारतमा कश्मीरी माथि दमन भइरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ ।’

यसअघि शाहबाजले भनेका थिए, ‘मेरो भाइ तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरिफले पाकिस्तानलाई खडा गरेका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन ।’

शाहबाज शरिफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरेका छन् । उनले भने, 'पीएमएल एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन् । यस संसदमा पाकिस्तानको डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन् । यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पर्छन् ।’

शाहबाजले अगाडि भने, ‘मेरो जेठो भाइ नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन् । पुरानो शासन (इमरान खानको शासन) लाई उद्धृत गर्दै उनले भने, उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन् ।’

प्रधानमन्त्री शरिफले थप भने, ‘यो नेतृत्व र त्यो नेतृत्वमा फरक छ । हामीले कहिल्यै बदलाको राजनीतिको बारेमा सोचेका छैनौं भन्ने कुराको सम्पूर्ण भेला साक्षी हो । हाम्रो शासनकालमा कुनै पनि भवन भत्किएको छैन । तर, वैशाख ९ गते सेनाको मुख्यालय र सरकारी भवनमा आक्रमण भएको दिन देशले देख्नु लज्जास्पद छ ।’

शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज शरिफ देशको प्रधानमन्त्री बनेका थिए ।


Author

थप समाचार
x