विश्व

पछिल्लो १० वर्षमा ३६ हजार​ आप्रवासीको डुबेर मृत्यु : राष्ट्रसङ्घ

इकागज |
चैत १३, २०८० मंगलबार २१:४६ बजे

काठमाडौँ- पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६ हजार पुगेको छ । 

आइओएमले पछिल्लो दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित थिए । समुद्रमा भएका ती मृत्युमा २७ हजारभन्दा धेरै मृत्यु भूमध्यसागरमा भएका छन् । उत्तरी अफ्रिकादेखि दक्षिणी युरोपसम्म पुग्ने प्रयास गर्ने धेरै आप्रवासीले धेरै वर्षदेखि उक्त मार्गको अनुसरण गरिरहेका छन् ।


यद्यपि आइओमले प्रतिवेदनमा प्रकाशित आँकडा अपूर्ण रहेको बताएको छ । रेकर्ड गरिएका मामिलामा तीनमध्ये दुई मामिला अज्ञात छन् । आधाभन्दा धेरै मामिलामा आइओएमले आप्रवासीको लिङ्ग र उमेर स्थापित गर्न सकेन । 

तथ्याङ्क सीमित भए पनि आइओएमले आप्रवासन मार्गमा ‘करिब पाँच हजार पाँच सय महिला’ र ‘करिब तीन हजार पाँच सय बालबालिका’ को मृत्यु रेकर्ड गरेको थियो । पहिचान गर्न सकिने अवस्थामा एक तिहाईभन्दा बढी ‘द्वन्द्वग्रस्त मुलुक वा शरणार्थीहरूको जनसङ्ख्या ठूलो भएका मुलुकहरू’ बाट आएका थिए । 

प्रतिवेदनमा उक्त आँकडाले ‘सुरक्षित बाटोबिना द्वन्द्वग्रस्त क्षेत्रबाट भाग्ने प्रयास गर्नेहरूसामु आउने खतराहरू’ लाई उजागर गर्ने उल्लेख छ । 

सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा आठ हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसबाट आइओएमले एक दशकअघि आँकडा सङ्कलन सुरु गरेपछिको यो सबैभन्दा घातक वर्ष बनेको छ । 

सङ्गठनले सन् २०२४ मा अहिलेसम्मको आँकडा ‘कम चिन्ताजनक नभएको’ बताएको छ । भूमध्यसागरीय मार्गका लागि सन् २०२३ को तुलनामा आगमनको सङ्ख्यामा कमी आए पनि मृत्युको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब त्यति नै धेरै छ । 

आइओएमले थप मृत्युहरू रोक्नका लागि ‘बलियो खोजी तथा उद्धार क्षमताहरू’ का साथै ‘सुरक्षित, नियमित आप्रवासन मार्गहरू’ तत्काल आवश्यकता रहेको बताएको छ । समुद्रमा सङ्कटमा फसेका आप्रवासीहरूका लागि ‘अन्तर्राष्ट्रिय कानून र मानवताको सिद्धान्तअनुसार’ थप सहायताको आवश्यकता रहेको पनि आइओएमले बताएको छ । एजेन्सी


Author

थप समाचार
x