विश्व

मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला

इकागज |
चैत १७, २०८० शनिबार १६:५० बजे

सांकेतिक तस्बिर

ओक्साका, मेक्सिको- दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।

पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा परेको अभियोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुर्घटनामा एक व्यक्ति बाँच्न सफल भएका बताइएको छ ।  
 
प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिहरू आप्रवासनको लागि अमेरिकातर्फ जान लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाका पीडितहरू एसियाली मूलका भएको विश्वास गरिएको छ ।


सान फ्रान्सिस्को डेल मारको प्लाया भिसेन्टे किनारमा शवहरू फेला परेको र उक्त मार्ग संयुक्त राज्य अमेरिका पुग्न खोज्ने मानिसहरूले बारम्बार प्रयोग गर्ने मार्ग हो । 

हजारौं कागजातविहीन आप्रवासीहरू–प्रायः आफ्नो देशमा हिंसा, अशान्ति र गरिबीबाट भागेर–प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन् । आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मेक्सिको पार गर्दा पक्राउ परेका अधिकांश आप्रवासीहरू चीन, भारत र उज्बेकिस्तानलगायतका देशबाट आएका प्ष्टि भएको थियो । (एएफपी)
 


Author

थप समाचार
x