विश्व

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मूल्यमा कस्तो असर पर्ला ?

इकागज |
बैशाख ३, २०८१ सोमबार १०:४१ बजे

काठमाडौँ- अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्‍यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । इजरायल-इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरु भएको छ ।

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ । इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन् ।


यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउने छ । इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ । 

स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ । यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो । त्यसयता कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ ।

अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू हुन् ।

विश्लेषकहरुले वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने अवस्थामा छैन । इजरायलले गाजामा युद्ध लडिरहेको छ । यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्दैनन् । त्यसैले तेलको मूल्यमा थोरै वृद्धि हुने भएपनि धेरै बढ्ने सम्भावना नरहेको तर्कसमेत गरिएको छ ।

यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबीसमेत गरिएको छ । अहिले भइरहेको मनोवैज्ञानिक युद्ध हो । यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही नगरेसम्म केही भन्न गाह्रो छ ।

कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरू बताउँछन् । खासगरि भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मूल्य बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिन्छ । नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउँछ ।

मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च विन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ ।


Author

थप समाचार
x