विश्व

इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्वजनिक, एयर बेसमा नोक्सान भएको दाबी

इकागज |
बैशाख ९, २०८१ आइतबार १७:५६ बजे

काठमाडौँ- इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्वजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ ।

शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको छ ।


इरानको इस्फाहान सहरमा रहेको एयर बेसमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त भएको देखिएका दुईवटा तस्बिरको बिबिसीले गरेको विश्लेषणमा इरानको एयर बेसमा नोक्सान पुगेको पाइएको छ ।

अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि मिसाइल हमला गरेको दाबी गरे पनि इजरायलले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । पछिल्लो समय इजरायल र इरानबीच तनाव बढेको छ ।

गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमाण्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सयभन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो । यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए । इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ ।

शुक्रबार इरानमा इजरायलले हमला गरेपछि इजरायलले कुन इरानी स्थानलाई निशाना बनाएको भन्ने प्रश्न उठिरहेको छ । इस्फाहान इरानको आणविक कार्यक्रमको केन्द्र पनि हो ।

इजरायलले आफ्नो आक्रमणमा कुन प्रकारको हतियार प्रयोग गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर स्याटेलाइट तस्विरमा एयर बेसमा क्षति पुगेको देखिन्छ । एजेन्सी


Author

थप समाचार
x