विश्व

उत्तर कोरियाको भ्रमणका लागि पुटिनको तयारीलाई नजिकबाट नियालिरहेका छौं : दक्षिण कोरिया

इकागज |
जेठ ३१, २०८१ बिहीबार २०:२२ बजे

सोल- दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ । 

उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् र सन् २०२२ मा युक्रेनमा आक्रमणपछि यी दुई मुलुकबीचको सम्बन्ध गहिरो भएको छ । 


उत्तर कोरियामाथि युक्रेनमा युद्धका लागि रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाइएको छ । क्रेमलिनले ‘अनावश्यक’ भन्दै उक्त आरोपको खण्डन गरेको छ । 

पुटिनको अपेक्षित भ्रमणका लागि कुनै पनि पक्षले भ्रमण कार्यक्रमको पुष्टि गरेको छैन । 

'सरकारले राष्ट्रपति पुटिनको उत्तर कोरियाको भ्रमणको तयारीलाई नजिकबाट नियालिरहेको छ,' दक्षिण कोरियाको विदेश मन्त्रालयले भनेको छ, 'रुस र उत्तर कोरियाबीचको आदान–प्रदान तथा सहयोग सुरक्षा परिषद्को प्रस्तावको पालना गर्दै कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतामा योगदान दिने तरिकाले हुनुपर्छ ।'

क्रेमलिने गत महिना रुसी सरकारी मिडियालाई भ्रमणको ‘तयारी भइरहेको’ बताएको थियो । 

गत महिना पेन्टागतले एक रिपोर्टमा भग्नावशेषको विश्लेषण गर्दै रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरिरहेको बताएको थियो । 

पुटिनको अपेक्षित भ्रमणका क्रममा उत्तर कोरियाले रुसबाट खाद्यान्न र ऊर्जा आयातको बदलामा युक्रेनमा प्रयोग हुने थप युद्ध सामग्री निर्यात गर्न दबाब दिने विश्लेषकहरूले बताएका छन् । 

यसअघि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीले पुटिनको ‘केही दिनमा’ उत्तर कोरियाको भ्रमण हुने अपेक्षा गरिएको बताएका थिए । अधिकारीका अनुसार सोलमा दक्षिण कोरियाली र चिनियाँ अधिकारीहरूबीच हुने भेटघाटको समयमै पुटिनको उत्तर कोरियाको भ्रमण हुनेछ । 

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उक्त बैठक आगामी साताको सुरुमा हुने भएको छ । 

सरकारी सञ्चार माध्यमका अनुसार उत्तर कोरियाका नेता किम जोङ उनले बुधबार रुससँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गरेका थिए । 

बुधबार आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) मा पुटिनलाई दिइएको सन्देशमा किमले लेखेका छन्, उत्तर कोरिया र रुसबीचको सम्बन्ध कमरेड्स–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको छ ।'

केसिएनएका अनुसार किमले दुई मुलुकबीचको ‘सार्थक’ सम्बन्धले नयाँ युगमा ‘अनन्त कोसेढुङ्गालाई थप बलियो बनाउने’ बताएका छन् । 

किमले गत वर्ष रुसमा पुटिनसँग भेट गर्न दुर्लभ विदेश भ्रमण गरेका थिए । सो बेला उनले मस्कोसँग उत्तर कोरियाको सम्बन्ध आफ्नो मुलुकको ‘एक नम्बर प्राथमिकता’ रहेको बताएका थिए । रासस/एएफपी


Author

थप समाचार
x