विश्व

अफगानिस्तानलाई पाकिस्तानको आग्रह, ‘राजदूत फिर्ता नबोलाउ’

इकागज |
साउन ४, २०७८ सोमबार १६:४३ बजे

काठमाडौँ- गत शुक्रबार पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिलकी छोरीलाई इस्लामाबादमा कयौँ घण्टाका लागि बन्धक बनाइयो । अपरिचित समूहले नजिबकी छोरी सिलसिलाई बन्धक बनाएको र यातना पनि दिएको अफगानिस्तानको भनाई छ । यो घटनापछि अफगानिस्तानले आइतबार आफ्ना राजदूत र दूतावासका अन्य कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । 

छिमेकी अफगानिस्तानले राजदूत नै फिर्ता लाने निर्णय गरेपछि पाकिस्तान चिन्तित बनेको छ । उसले अफगानिस्तानलाई आफ्नो निर्णयबारे पुर्नविचार गर्न आग्रह गरेको छ । ‘राजदूत फिर्ता बोलाउने अफगानिस्तान सरकारको निर्णय दुखद छ । हामी आशा गछौँ अफगानिस्तानले निर्णयमा पुर्नविचार गर्नेछ,’ पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ । यसैगरी पाकिस्तानी अधिकारीहरूले घटनाबारे उच्च स्तरमा छानबिन गरिरहेको पनि बताएका छन् । 


उता अफगानिस्तानले काबुलमा रहेका पाकिस्तानी राजदूतसमक्ष घटनाका विषयमा कडा आपत्ति जनाएको अल जजिराले लेखेको छ । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्धमा बारम्बार उतारचढाव आउने गरेको छ । यस घटनाले दुई छिमेकीबीचको दूरी फेरि बढाउने अनुमान गरिएको छ । 

पाकिस्तान सरकारले घटनाको छानबिन भइरहेको बताए पनि उसका गृहमन्त्री शेख रसिद अहमदले विवादमा पर्नसक्ने टिप्पणी गरेका छन् । स्थानीय टेलिभिजन च्यानल जियो न्यूजसँग कुरा गर्दै अहमदले भनेका छन्, ‘उनी (सिसिला अलिखिल) अपहरणमा परेकी होइनन् । यद्यपि हामीले उनको दाबी अनुसार नै उजुरी दर्ता गरेका छौँ । सीसी टिभीको फुटबेज हेर्दा त्यस दिन उनले कम्तिमा तीन ट्याक्सी परिवर्तन गरेको देखिन्छ । ती ट्याक्सीका चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ,’ अमहदले भनेका छन् । 

पाकिस्तानी गृहमन्त्री अहमदले सिलसिलामाथि अर्को आरोप पनि लगाएका छन् । उनले अफगानी राजदूतकी छोरीले आफ्नो मोबाइल अनुसन्धानका लागि प्रहरीसमक्ष बुझाउनुअघि सम्पूर्ण ‘कन्टेन्ट’ मेट्टाएको आरोप लगाएका छन् ।     


Author

थप समाचार
x