विश्व

बहुपक्षीयताको पक्षधर चीन

चाइना जर्नल

अजय अलौकिक |
कात्तिक १, २०७७ शनिबार ९:५३ बजे

संयुक्त राष्ट्र संघको ७५ औँ महाधिवेशनको महासभा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा सेप्टेम्बर १५ मा भिडियो सम्मेलनमार्फत् शुरु भयो । जहाँ १ सय ९३ सदस्य मुलुकका प्रमुखले भिडियोमार्फत सम्बोधन गरे । समग्र विश्व कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित भएपछि विश्वका नेताहरू भौतिक रुपमा न्यूयोर्कमा भेला हुन पाएनन् । सम्बोधनमा अधिकांश सहभागीले बहुपक्षीय सहयोग र महामारीविरूद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्ने विषयलाई प्राथमिकतामा राखेका छन् । सन् १९४५ अक्टोवरमा स्थापित संयुक्त राष्ट्र संघको ध्येय, उद्देश्य पनि विश्व शान्तिसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक र मानवीय समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्धलाई अभिवृद्धि गर्नु हो ।

दोस्रो विश्व युद्धले समग्र विश्व आत‌‌ंकित बनिरहँदा विश्व शान्ति तथा भाइचारा टड्कारो रूपमा खट्किएको छ । सन् १९४२ बाट एउटा यस्तो संघको निर्माण गर्ने धारणासँगै सन् १९४५ मा स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा प्रदान गर्न, विश्वको आर्थिक, सामाजिक तथा सांस्कृतिक र मानवीय समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध उकास्ने उद्देश्यले संयुक्त राष्ट्र संघको स्थापना भएको थियो ।


यसले आजको दिनसम्म समग्र विश्वलाई एउटै छातामा ओत लाग्न सहयोग गरिरहेको छ । र यहीँबाट बहुराष्ट्रको हित गर्ने बहुपक्षीय मोडलको विकास भएको मान्न सकिन्छ । यही बहुपक्षीय आडमा विश्व एउटा सानो गाउँमा रूपान्तरण भइसकेको छ । एक अर्काको सभ्यता, भाषा, संस्कृतिमा रमाउने, अनुभव बाँड्ने, आर्थिक लेनदेनको उच्च विकाससँगै ज्ञान, सीपको आदान–प्रदान भइरहेका छन् । ब्रह्माण्डमा समग्र मानव जातिले जीतको झण्डा फहराउन अग्रसर छ । यद्यपि यसै अवस्थामा गत (२०१९ डिसेम्बर) वर्षान्तमा देखिएको कोभिड–१९ महामारीले भने विश्वलाई हल्लाइदिएको छ ।

अहिलेसम्म पनि यसको कहरले विश्वका ठूला साना सबै देशहरू चपेटामा परेका छन् । एकल रूपमा यसको प्रत्याक्रमण गर्न असमर्थ झैं छन् । यसरी महामारी, युद्ध तथा विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीयता, एकता तथा सहकार्यको खाँचो सबै देशलाई आवश्यक छ । कुनै पनि देशले विश्वव्यापी चुनौतीको एक्लै समाधान गर्न सम्भाव्य देखिँदैन । यो महामारी यसैको प्रमाण बनेको छ । यसै कारण, राष्ट्र संघीय महासभामा अधिकांश सदस्य राष्ट्रले बहुपक्षीयता, एकता तथा सहकार्य गर्न आह्वान गरेका छन् ।

चीनले दुई वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय उद्दार सामग्री प्रदान गर्ने वचनबद्धतालाई व्यवहारमा उतार्ने, कृषि, गरिबी न्यूनीकरण, शिक्षा, महिला तथा बालबालिका र जलवायु परिवर्तनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्ने, विभिन्न मुलुकको आर्थिक सामाजिक पुनःउत्थानका लागि सहयोग गर्ने जनाएको छ ।

महासभालाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय जगत् सँगसँगै संयुक्त प्रयास गर्दै कोभिड-१९ महामारीलगायत विश्वव्यापी चुनौतीको सामना गर्ने चीनको दृढ अठोट रहेको बताए । हाल चीनले सफलतापूर्वक महामारीको रोकथाम तथा नियन्त्रणसँगै अर्थतन्त्रलाई पुनःजागृत गरिसकेको छ । यो उपलव्धीलाई समग्र विश्वले कहर र सन्त्रासमाथि जितको रूपमा लिएको छ र बाँकी विश्वले पनि यसबाट लाभ पाउने आशा राखेको छ ।

चिनियाँ राष्ट्रपति सीले सम्बोधनमा चीनले अरु मुलुकसँग पनि कोभिड–१९ प्रतिरोध तथा उपचारको अनुभव बाँड्दै जाने, आवश्यक मुलुकलाई समर्थन र सहयोग गर्दै जाने, विश्व कोभिड–१९ प्रतिरोध सामग्रीको आपूर्तिलाई प्रत्याभूति गर्ने, सक्रिय रूपमा कोरोना भाइरसको अध्ययन सम्बन्धमा निरन्तर लाग्ने बताए । साथै तेस्रो चरणको क्लिनिकल परीक्षण सफल भएपछि कोभिड–१९ खोपलाई विश्व सार्वजनिक उत्पादनका रूपमा विस्तार गरिनुका साथै प्रथमतः विकासोन्मुख मुलुकलाई प्रदान गरिने वचन पनि दिए । साथै ठूलो मुलुकले आफ्नो उपस्थिति देखाउनुका साथै ठूलो मुलुकको जिम्मेवारी र कार्यभार बहन गर्नुपर्ने उनको भनाइ थियो । 

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा चार वटा प्रस्ताव प्रस्तुत गरे, प्राथमिकतामा ‘जनता’ भन्ने विचारधारा व्यवहारमा लागू गर्ने, एकतालाई सबल पारी एकआपसमा सहयोग गर्ने, चौतर्फी रूपमा महामारीको रोकथाम तथा नियन्त्रण कदमको तर्जुमा गर्ने र विशेषगरी अफ्रिकी देशलगायत विकासोन्मुख मुलुकमाथि ध्यान दिने । यी प्रस्तावहरू चिनियाँ अनुभवको समीक्षा हुनुका साथै महामारीविरूद्ध अन्तर्राष्ट्रिय समाजको सहकार्यका लागि महत्वपूर्ण अर्थ बोकेका छन् । तर वर्तमान अवस्थामा संयुक्त राज्य अमेरिका र उसका पक्षधर केही पश्चिमा मुलुक भने संरक्षणवादलाई अंगिकार गर्ने पक्षमा पुगेको देखिन्छ । अमेरिका तथा पश्चिमा मुलुकहरूले बहुपक्षीय तथा विश्वव्यापीकरणबाट लाभ उठाइरहेका थिए नै । चीनको उदयलाई लिएर यी मुलुकहरू संरक्षणवादको पोषण र बहुपक्षीयताको विरोध गरिरहेका छन् ।

कोभिड–१९ कहरले अहिलेसम्म विश्वका ठूला साना सबै देशहरू चपेटामा परेका छन् । एकल रूपमा यसको प्रत्याक्रमण गर्न असमर्थ झैं छन् । यसरी महामारी, युद्ध तथा विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीयता, एकता तथा सहकार्यको खाँचो सबै देशलाई आवश्यक छ । कुनै पनि देशले विश्वव्यापी चुनौतीको एक्लै समाधान गर्न सम्भाव्य देखिँदैन । यो महामारी यसैको प्रमाण बनेको छ । यसै कारण, राष्ट्र संघीय महासभामा अधिकांश सदस्य राष्ट्रले बहुपक्षीयता, एकता तथा सहकार्य गर्न आह्वान गरेका छन् ।

यी मुलुकहरू जसरी विश्वमा बहुपक्षीयता तथा विश्वव्यापीकरणको नाममा सर्वशक्तिसम्पन्न बन्‍न र हैकमवाद तथा प्रभुत्ववाद फैलाउन चाहेका थिए । आज एउटा विकासोन्मुख राष्ट्रको विशाल फड्को देखेर धरमराइरहेका छन् । यहाँ चिनियाँ राष्ट्रपतिको सम्बोधन अंश जोड्नु मुनासिब छ, ‘हामीले कहिले पनि प्रभुत्ववादलाई स्वीकार गर्दैनौं । अरूमाथि आक्रमण गर्दैनौं । आफू पृथक रहेर विकास गर्दैनौं ।’

तर मुख्य रूपमा भित्री अर्थव्यवस्थाको विकास गर्दै अन्तर्राष्ट्रिय विश्व अर्थव्यवस्थामा नयाँ विकासको सम्भावना खोजेर विश्व आर्थिक विकास पुनःउत्थानका लागि प्रयास गर्ने उद्देश्य हाम्रो छ । चिनियाँ राष्ट्रपतिको यो भनाइ सारगर्भित छ । राष्ट्रपति सीले आफ्नो सम्बोधनमा देश-देशबीचको मतभेद सामान्य रहेको बताउँदै यसलाई सम्झौता वार्तामार्फत् समाधान गर्नुपर्नेमा जोड पनि दिए । देश–देशबीच प्रतिस्पर्धा रहन्छ । तर त्यो प्रतिस्पर्धा सकारात्मक हुनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनुपर्छ ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा अर्थतन्त्रको विश्वव्यापीकरणको वातावरणमा कसैले यसको उपेक्षा र प्रतिरोध गरेमा त्यो गतिविधि ऐतिहासिक विकास व्यवस्थाको उल्लंघन हुने समेत औंल्याए । साथै उनले विश्वमा एकबाट अर्को मुलुक अलग रहन नसक्ने र कसैले यो विश्वलाई विभाजन गर्न नसक्ने बताए । आज महामारीले आक्रान्त बनाएको विश्व जनको हित र संरक्षणका लागि फेरि एकजुट हुनु पहिलो आवश्यकता र अपरिहार्य छ । महामारीबाट विश्व जन र अर्थतन्त्रमा परेको प्रभावलाई कम पार्न विश्वव्यापी सामञ्जस्य जरूरी छ ।

चीन सदा नै बहुपक्षीयताको दृढ समर्थकको रूपमा रहेको छ । यस पटकको महासभामा संयुक्त राष्ट्र संघलाई समर्थन दिन राष्ट्रपति सीले राष्ट्र संघीय कोभिड-१९ महामारीको मानवीय सामना परियोजनालाई थप पाँच करोड अमेरिकी डलर दिने, पाँच करोड डलरको चीन–एफएओ दक्षिण-दक्षिण सहयोग कोष (तेस्रो चरण) को स्थापना गर्ने, सन् २०२५ मा चीन राष्ट्र संघीय शान्ति तथा विकास कोष पूरा भएपछि फेरि पाँच वर्ष विस्तार गर्ने र राष्ट्रिय विश्व भौगोलिक सूचना ज्ञान तथा नयाँ सिर्जना केन्द्र तथा दिगो विकासको बिग डेटा अनुसन्धान केन्द्रको स्थापना गर्ने, यी चारवटा कदमको घोषणा गरेका छन् । यसले चीन बहुपक्षीयतालाई समर्थन दिने मुख्य शक्ति भएको पुष्टि गर्दछ ।

साथै चीनले दुई वर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय उद्दार सामग्री प्रदान गर्ने वचनबद्धतालाई व्यवहारमा उतार्ने, कृषि, गरिबी न्यूनीकरण, शिक्षा, महिला तथा बालबालिका र जलवायु परिवर्तनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई गहन पार्ने, विभिन्न मुलुकको आर्थिक सामाजिक पुनःउत्थानका लागि सहयोग गर्ने पनि जनाएको छ ।

यसर्थ, मानवजातिको साझा भाग्य समुदायको अवधारणासहित चीनका विचारहरूले अधिकांश देशहरूको साझा आवाजलाई प्रतिनिधित्व गरेको छ । अधिकांश देशले एकपक्षीयता तथा संरक्षणको विरोध र बहुपक्षीयता तथा विश्वव्यापीकरणको समर्थन गरिरहेका छन् । साथै बहुपक्षीयता समग्र विश्व हितका लागि र एउटै विश्व निर्माण गर्ने माध्यम पनि हो ।

यसैगरी राष्ट्रपति सीले सेप्टेम्बर ३० तारिख संयुक्त राष्ट्र संघको जैविक वस्तुको विविधता सम्बन्धी शिखर सम्मेलनलाई पनि भिडियोमार्फत् महत्वपूर्ण सम्बोधन गरेका थिए । त्यहाँपनि राष्ट्रपति सीले विश्व जलवायु जोखिमको चुनौतीको सामना गर्दा सबै देशहरू एउटै डुंगामा सवार एउटै भाग्य र एकै गन्तव्य भएकाले एकपक्षीयतावादले सबैको मन जित्न नसक्ने र सँगै मिलेर सहकार्य गर्नु नै सही हुने बताएका छन् ।  

सीले सम्बोधनमा व्यक्त गरेजस्तै मानव जातिले अन्त्यमा कोरोना भाइरसलाई पराजित गर्ने नै छ र विश्वले विजय प्राप्त गर्ने छ । अवश्य, यसका लागि अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीयताको खाँचो छ । बहुपक्षीयवाद नै आजको विश्वको चौतर्फि विकासका लागि एक मात्र विकल्प हो ।

(चिनियाँ अन्तराष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवाका भाषा विज्ञ अलौकिक  इकागजका चीन प्रतिनिधि हुन )  


Author

थप समाचार
x