विश्व

कोभिड-१९ प्रतिरोधका लागि  १ अर्ब खोप उत्पादन गर्दैछ चीन

अजय अलौकिक |
कात्तिक ९, २०७७ आइतबार १७:२३ बजे

बेइजिङ : अक्टुबर २४ तारिख विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वमा कोभिड-१९ सङ्क्रमित हुनेको संख्या ४ करोड २० लाख ५५ हजार पुगिसकेको छ । विश्वमा फैलिएको यो महामारीलाई जित्ने हो भने खोपकै भर पर्नुपर्ने देखिन्छ । यस्तो पृष्ठभूमिमा चीनले आउने वर्ष १ अर्ब खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । साथै यस वर्षको अन्त्यसम्ममा चीनले ६१ करोड खोप उत्पादन गर्ने भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य समिति चिकित्सा, स्वास्थ्य तथा प्रविधि विकास अध्ययन केन्द्रका प्रमुख चङ चोङवैले गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस वर्षको अन्त्यसम्ममा चीनले कोभिड-१९ प्रतिरोधका लागि ६१ करोड खोप उत्पादन गर्ने जनाएको हो । साथै आउने वर्ष चीनले १ अर्ब खोप उत्पादन गर्ने लक्ष्य लिएको पनि उनले बताए । उनले हाल आपत्कालिन प्रयोगका लागि चीनले उक्त कोभिड-१९ खोपलाई अनुमोदन गरिसकेको पनि बताए । साथै उनले खोप लगाएका व्यक्तिमा कुनै पनि प्रतिकूल वा गम्भीर प्रभाव नदेखिएको पनि जानकारी दिए ।


हाल महामारीको अवस्था देखिएका देशहरूमा यो खोप लगाएर रोजगार तथा अध्ययनका लागि गएकाहरूमा सङ्क्रमण नदेखिएको पनि उनले औंल्याए । पछिल्लो समय विदेश जानेहरूलाई चीनले उक्त खोप उपलब्ध गराउँदै आएको छ । सर्वप्रथम चीनको चच्याङ प्रान्तमा यो खोप दिइएको थियो । चच्याङ प्रान्तका केही शहरमा आवश्यक व्यक्तिलाई यो खोप दिइएको हो । स्थानीय सञ्चार माध्यमका अनुसार, दुई डोजको यस खोप पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्छ । एक डोजको दुई सय चिनियाँ युआन मुल्य तोकिएको खोपको प्रति डोज सेवा शुल्क २८ युआन छ । 

यसै बीच १३ वटा चिनियाँ खोपको क्लिनिकल परीक्षण जारी छ, त्यसमध्ये तीन वटा (इनएक्टिभेटेड) निष्क्रिय खोप र एउटा एडिनोभाइरस भेक्टर खोपको तेस्रो चरणमा विदेशमा परीक्षण भइरहेको विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकासकालागि विज्ञान र प्रविधि विभागका उपप्रमुख थयेन बाओक्वोले बताएका छन् । परीक्षणका क्रममा खोप लगाएका ६० हजार सहभागीहरूमा कुनै गम्भीर समस्या नदेखिएको पनि उनले बताए ।

यसै बीच सम्मेलनमा परराष्ट्र मन्त्रालयका अधिकारीले विश्वव्यापी जनताका साथै विशेषत विकासोन्मुख देशहरूकालागि सुरक्षित र प्रभावकारी खोपहरूको उचित र समान पहुँचका लागि प्रवर्द्धन गर्ने वाचालाई पूरा गर्ने बताए । यसका साथै अक्टुबर ८ मा विश्व स्वास्थ्य संगठन र उनका अरू साझेदारहरूको नेतृत्वमा विश्वव्यापी रूपमा खोपको समान पहुँच सुनिश्चितताका लागि पहल गर्न खोलिएको कोभ्याक्समा चीन सम्मिलित भएको थियो ।

गत मङ्गलबारसम्म यस पहलका लागि १८४ वटा देश तथा क्षेत्रहरू जोडिएका छन् । खोपको अनुसन्धान तथा विकासमा अन्तर्राष्ट्रिय सहयोग जति सघन र छिटो हुन्छ, खोप त्यति छिटो बजारमा पाइन्छ र बढीभन्दा बढी मानिसहरू लाभान्वित हुने छन् । हाल महामारीको प्रतिरोध नै सम्पूर्ण मानवजातिको साझा र मुख्य लक्ष्य हो । विश्वका ३१ वटा मुलुकले खोपको अनुसन्धान तथा विकास गर्दैआएका छन् । कुनै पनि मुलुकले सुरक्षित र प्रभावकारी कोभिड-१९ खोपको विकास गरेमा विश्व सङ्कटबाट मुक्त हुन सक्ने छ ।


Author

थप समाचार
x