पेटभित्र लुकाएर लागुऔषध तस्करी : सिटीस्क्यान गरेपछि खुल्यो पोल
काठमाडौँ : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । व्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनगरी गत चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो ।
उनी यसअघि पनि लागूऔषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्यूरोले जनाएको छ । ३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो ।
सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो । लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए ।
पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्यूरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए । उनीसँगै प्रहरीले लागुऔषध कारोबार अभियोगमा अन्य एक जनालाई पनि पक्राउ गरिएको व्यूरोले जनाएको छ ।