मोरङ-सुनसरी सडक एक महिनाभित्र सम्पन्न हुने
विराटनगर- मोरङको रानीदेखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको छ लेनको बाटो आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।
रानीदेखि तरहरासम्मको करिब ३७ दशमलव चार किमी सडक करिब रु छ अर्बभन्दा बढीको लागतमा निर्माण गर्ने गरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी लागेको ठेक्का अहिलेसम्म पनि पूर्ण रुपमा निर्माण हुन सकेको छैन् । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा निर्माण हुने पुल कहिलेसम्म सम्पन्न हुने हो, त्यसको यकिन हुन सकेको छैन ।
दुहबी बजारमा करिब ढेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए। सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न भएको समस्या र योजनाको काममा भएको ढिलाइप्रति अभिरुचि राख्दै जिल्ला प्रशासन कार्यालयले आज राखेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले यो सडक निर्माणमा निकै ढिलाइ भएको बताएको छ ।
बाटो निर्माणमा भएको ढिलाइका कारण जनताले धेरै समस्या भोगेको बताउँदै उनीहरुले छ लेनको बाटो बनाउँदा गरिएको डिपिआरमा निकै त्रुटी भएको, वर्षातको पानी निकास हुन नसक्दा विराटनगर क्षेत्रको वडा नं १३, १५, १६ डुबानमा परेको र वडा नं १४ एकीकृत भन्सार जाँच चौकी विराटनगरको बाटो निर्माण भएको कारण डुबान पर्ने गरेकाले यसतर्फ योजनाको ध्यान जानुपर्ने बताएका छन् ।
सडक निर्माण हुँदै गर्दा खण्ड–खण्डमा भत्किन पनि सुरु भएकाले योजनाको डिजाइनमा निकै त्रुटी भएको सहभागीले बताएका छन् । कछुवा तालमा बनेका यो सडकका कारण दुर्घटना भइरहेको, सडक बत्ती लाग्न नसकेको, सडकमा जहीत्यही डिभाइडर राख्नाले सडक वारपार गर्ने मानिसले दुर्घटना व्यहोर्नुपरेको समस्या मात्र होइन, यसले योजनाले समयमै निर्माण कम्पनीलाई आ–आफ्नो जिम्मेवारी पूरा गराउनेतर्फ ध्यान नदिएको गुनासो सहभागीहरुले गरेका छन् ।
सहभागीले सुनसरीको इटहरीदेखि तरहरासम्मको बाटो अन्तर्राष्ट्रियस्तरको हुने र इटहरीदेखि मोरङ रानीसम्मको बाटो अवस्था निकै कमजोर देखिएकाले योजनाको लापर्वाही नै हो की भन्ने प्रश्न पनि गरेका थिए।