फोटो फिचर

एमाले महाधिवेशनको कुरुप पाटो:

राजमार्ग ठप्प पार्दा जाममा फसे एम्बुलेन्स, बिरामीको बिचल्‍ली

एमालेको भव्य उद्घाटन महाधिवेशनमा मानवताकै धज्जी !

अनुज बज्राचार्य |
मंसिर १०, २०७८ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारामा गर्दा राजमार्ग ठप्प भएको छ । एमाले कार्यकर्ता र सर्वसाधारणले पुर्व–पश्चिम राजमार्ग ठप्प पार्दा एम्बुलेन्सलाई समेत बाटो दिएनन् । जसकारण बिरामी बोकेका एम्बुलेन्स जाममा फसेका छन् ।


एम्बुलेन्स जाममा फस्दा बिरामीको अवस्था बिजोग बनेको छ । जामले बिरामीको अवस्था झन् जटिल बनेपछि एम्बुलेन्सबाट निकालेर जाम छिचोल्दै आफन्तले अस्पताल पुर्‍याएको दृश्य इकागजको लेन्समा परेको छ ।

जामकै कारण बिरामीसम्म पुग्न गाह्रो परेको छ । लामो समय पर्खिदा पनि एमाले कार्यकर्ता र सर्वसाधारणले बाटो नछाड्दा एम्बुलेन्स जाममा फसेको हो । अन्ततः बिरामीको अवस्थालाई हेरेर आफन्तले एम्बुलेन्सबाट निकालेर केही समय एम्बुलेन्सको छतमा राखेर आराम दिएका थिए ।

कतिपयले भने बिरामीलाई ओरालेर भुईंमा राखेका थिए । तत्काल अस्‍पताल लगेर उपचार गर्नुपर्न‍े बिरामीलाई भुईमै राखेर पानी दिइरहेकाे भावुक दृश्‍य क्यामेराकाे लेन्‍समा परेका छन् ।

जाममा फस्‍दा अवस्था झन् जटिल बनेपछि उनीहरुले एम्बुलेन्सबाट ओरालेर बिरामीलाई हिडाउँदै अस्पताल लगिएको दृश्यमा देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने भाषण गरिरहदा नारायणी पुल नजिकै ती बिरामीको बेहाल बनेको थियो । 

 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार