फोटो फिचर

तस्बिरमा हेरौँ भाले हाँस

अजय अलौकिक |
माघ १२, २०७७ बजे

भाले हाँस

बेइजिङ :  यो रङ्गीचङ्गी चरा भाले हाँस हो । अनि पोथी नि ? भालेवादी समाजमा सदा भालेकै चर्चा ? अवश्य पनि यस्ता प्रश्नहरू झट्टै मनमस्तिष्कमा उब्जिए होलान् । तर यो सुन्दर रङ्गीचङ्गी चरा भाले हाँस नै हो । 

बेइजिङको तालतलैयामा सदा देखिने यी मंडारिन हाँसलाई हालको हिउँदमा धेरै नजिकबाट नियाल्न पाइन्छ । बेइजिङको यूयुआनथान पार्कमा जमेको तालछेउमा रमाइरहेका यी रङ्गीचङ्गी हाँसले सिरेटोबीच पनि मन र आँखालाई न्यानो बनाएको थियो ।


एक तमास यिनीहरूको जलक्रिडामा रमाइरहेँ । यो मंडारिन हाँस घरगाउँतिर पाइने हाँसभन्दा फरक छ नै साथै निकै सुन्दर र आकर्षक पनि देखिन्छ । तर यो रङ्गीचङ्गी हाँस भाले मंडारिन हाँस हो । अर्थात् भालेपोथी मंडारिन हाँसमा भाले रङ्गीन र चित्ताकर्षक देखिने रहेछ । त्यसो त खैरो रङ्गको पोथी पनि फरक र आकर्षक नदेखिने होइन ।

यसै मनमोहक दृश्यका केही तस्बिर :

भाले हाँसको शरीरमा धेरै रङ्गको मिश्रण भएकोले निकै आकर्षक देखिन्छ, पोथीको तुलनामा । अचम्म छ संसार ! भाले सिँहको टाउकोमा बाक्लो रौं (जुरो) हुने, भाले कुखुरोको सिउर हुने अनि रङ्गीन मयुर पनि भाले । किन यस्तो ? केही बेर मनले सोच्ने प्रयत्न गर्यो । यो मंडारिन हाँसमा पनि भालेको बेग्लै पहिचान या रूपरङ्ग ।

यो मंडारिन हाँस चीनसँगै विशेषत पूर्वी एसियामा पाइन्छ। चिनियाँ भाषालाई मंडारिन भने जसरी यो चीनमा पाइने या चिनियाँ हाँस भने होइन । यस्तै प्रजातिका हाँस अमेरिकादेखि यूरोपसम्म पाइन्छ । तर चिनियाँ बीच यो मंडारिन हाँसको चर्चा धेरै हुने गर्दछ ।

चिनियाँहरू मंडारिन हाँसलाई प्रेमी प्रेमिका हाँस पनि भन्दछन् । एक जोडी हाँस सधैँ सँगै रहने भएकाले प्रेमको प्रतीकको रूपमा पनि मान्दछन् । साथै चिनियाँ साहित्यमा पनि मंडारिन हाँसलाई पुरूष र महिलाबीचको प्रेमसँग तुलना गरिएको पनि पाइन्छ ।

यसबाहेक (मंडारिन हाँसबारे खोजी गर्दा पाइएको ), यो मंडारिन हाँस एउटा यौगिक शब्द पनि हो जहाँ मंडारिनले भालेलाई बुझाउँदछ भने हाँसले पोथीलाई जनाउँदछ ।

 



Author
थप समाचार