रोजगारी

सीप मेला २०८१

१९ गतेसम्म फारम भर्नेहरूको तालिम तालिका वैशाख २८ भित्र उपलब्ध गराइने

वैशाख २० पछि फारम भर्नेहरूलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा समावेश गरिने

इकागज |
बैशाख २२, २०८१ शनिबार १७:४४ बजे

काठमाडौँ- ‘सीप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् ।

तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फारम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ । 


२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फारम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फारम भर्ने अवसर दिइएको थियो । 

यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फारम भरेका छन् । वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फारम भर्नेको संख्या १० हजार बढी छ ।

यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सीप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए । 

ढकालका अनुसार वैशाख १९ गतेभित्र फारम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फारम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिनेछ ।


Author

थप समाचार
x