समाज

धेरै फोहर संकलन गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार

इकागज |
बैशाख १५, २०८१ शनिबार २१:६ बजे

फाइल तस्बिर

तनहुँ- व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत सरसफाइ अभियानअन्तर्गत धेरै फोहर संकलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ । 

व्यास नगरपालिका–४ दमौलीका अभियान्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दी–चुँदीखोलामा बृहत् सरसफाइ अभियान गर्न लागिएको हो । उनका अनुसार धेरै फोहर संकलन गरी प्रहिलो हुनेलाई रु १० हजार र दोस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । 


बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यले वृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताए । उनले भने, 'भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।'

बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा आगामी जेठ ५ गते सरसफाइ अभियान सञ्चालन गरिने उनले जानकारी दिए । उनले भने, 'यसलाई बचाउन सकिए भने भविष्यमा बुल्दीखोला र चुँदीखोलाको अस्तित्व संकटमा पर्नेछ ।'

अभियानका लागि हरेक टोल र क्लबसँग समन्वय गरिएको बताउँदै उनले एउटा टोलीमा १५ जना सहभागी हुनसक्ने जानकारी दिए । उनले भने, 'सरसफाइ अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लबसँग सहकार्य गर्नेछु । सरसफाइ अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।'

बुल्दी र चुँदीखोला सरसफाइ अभियानलाई निरन्तरता दिने उनको भनाइ छ । प्रतियोगितात्मक रूपमा वर्षको एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा सरसफाइ अभियान हुने उनले जानकारी दिए । उनले भने, 'जबसम्म बुल्दी र चुँदीखोला कञ्चन हुँदैन, तबसम्म सरसफाइ अभियान जारी रहनेछ ।'

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, 'महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।'


Author

थप समाचार
x