प्रवास

रसअल खैमाहमा पासपोर्ट नवीकरण तथा जनसचेतना घुम्ती शिविर सम्पन्‍न

इकागज |
माघ ११, २०८० बिहीबार १२:३२ बजे

काठमाडौँ- यूनाईटेड अरव ईमिरेट्स (यूएई) को रसअल खैमाह राज्यमा पासपोर्ट नवीकरण तथा जनचेतना घुम्ती शिविर आयोजना सम्पन्‍न भएको छ ।

नेपाली दूतावासको आयोजना र नेपाली समाज यूएईको संयोजन सहकार्यमा गत आइतबार २१ जनवरीमा सम्पन्न उक्त शिविरमा ३ सय १५ जना नेपालीहरूले पासपोर्ट नवीकरण गरेका थिए ।


कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सामाजिक सुरक्षा, टेलिमेडिसिन सेवा तथा सुरक्षित विप्रेषणको बारेमा जानकारी गराएका थिए । श्रम सहचारी आबेद अन्सारीले विद्यमान श्रम कानुन र त्यसको उपयोगिताको बारेमा विशेष जानकारी दिए ।

 नेपाली दूतावास अबुधाबीका प्रवक्ता तथा मिनिस्टर काउन्सिलर विशाल भट्टराईले रस अल खैमाह राज्य अन्य राज्यहरू भन्दा टाढा रहेको र यहाँ बाट अबुधाबी पुग्न पैसा र समयको हिसाबले निकै कठिन भएको हुनाले श्रमिकहरूको सुविधाको लागि यो शिविर आयोजना गरिएको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका थिए । नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले नेपाली समाजको स्थापना नै नेपाली श्रमिकहरूको हितको लागि भएकोले दूर दराजमा आयोजित यो कार्यक्रममा धेरै नेपालीहरूले सेवा प्राप्त गर्नु भएकोमा आफू हर्षित भएको बताए ।

एनआरएनए यूएईका अध्यक्ष विकाश शाहीले नेपाली श्रमिकहरूको सेवामा आयोजना हुने जुनसुकै कार्यक्रममा सबैसँग सहकार्य गर्ने बताए । रास अल खैमहा क्षेत्रका सामाजिक अभियन्ता रेशम लामाले हरेक ६ महिनामा कम्तीमा एक पटक यस राज्यमा घुम्ती शिविर आउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा यूएईकै अर्को टाढाको राज्य फुजेराहबाट आएका १ सय भन्दा बढी सेवाग्राहीहरुले पनि सेवा प्राप्त गरेका थिए । दूतावासले अघिल्लो साता १४ जनवरीका दिन पनि फुजेराहमा यस्तै प्रकृतिको घुम्ती शिविर आयोजना गरेको थियो ।

एनआरएनएले संयोजन गरेको उक्त शिविरमा २ सय ३९ जना कामदारहरूले पासपोर्ट नवीकरण गरेका थिए । यूएईमा ३ लाख भन्दा धेरै नेपालीहरू कार्यरत छन् भने रस अल खैमाह राज्यमा मात्र १० हजार भन्दा बढी नेपालीहरू कार्यरत रहेको अनुमान छ ।

पछिल्लो तथ्यांक अनुसार यूएई नेपाली श्रमिकहरूको पहिलो रोजाइको गन्तव्य मुलुक बनेको छ । रस अल खैमाह राज्य अवुधावीबाट ३ सय किमी टाढा रहेको छ । जनचेतना कार्यक्रममा झण्डै ५ सय कामदारहरू उपस्थित थिए ।


Author

थप समाचार
x