स्वास्थ्य

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

इकागज |
बैशाख १५, २०८१ शनिबार २१:५० बजे

काठमाडौँ- पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।

सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्ति विकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 


सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताए । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्र हित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उनले बताए ।

'वायु प्रदूषणका कारण विद्यालय बन्द हुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जीविकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौँ । साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ,' उनले भने । 

विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानीकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो । 

प्रतिवेदनले बालबालिकाका समग्र हितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औँल्याएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरूको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।


Author

थप समाचार
x