प्रवास

राहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

इकागज |
चैत ५, २०८० सोमबार १४:५७ बजे

पोर्चुगल- पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासको टोली यही मार्च २४ मा पोर्चुगल आउने भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले एक सातासम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने जनाइएको छ ।


पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।

टोलीले राहदानी हराएका, क्षति भएका तथा २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएकाहरूको राहदानीका लागि दरखास्त सङ्कलन गर्ने राजदूत भट्टराईले बताए । 

यस्तै पोर्चुगलको अध्यागमन निकाय (आईमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका र हुर्केका बालबालिकाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरिने उनले बताए ।

विद्युतीय राहदानीका लागि समय लिन र अनलाइन फारम भर्न सेवाग्राहीलाई दूतावासले आग्रह गरेको छ । राहदानी सेवा शिविर मार्च ३१ सम्म सञ्चालन हुने बताइएको छ । गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

यसअघि पोर्चुगलमा रहेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेको समाचार सम्प्रेषण भएको थियो । टोली आउने भएपछि नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाएर समस्यामा परेका नेपालीलाई राहत हुने भएको छ । पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय (आईमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी लाभान्वित हुने भएका छन् । रासस


Author

थप समाचार
x