प्रवास

शान्ति मिसनमा नेपाली सेनाः एक लाख ४० हजारभन्दा बढी सहभागी, ७२ जनाले गुमाए ज्यान

इकागज |
चैत २३, २०७८ बुधबार १६:४७ बजे

फाइल तस्वीर

काठमाडौं –​ कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ छन् । 

कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङकाे मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको छ । 


नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो । नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो । 

नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ । यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन् । 

नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ । अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ । 

‘नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ । यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्,’ नेपाली सेनाका प्रवत्ता सिलवालले भने । 

हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन् । 

अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन् । 

सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए । यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन् । 


Author

थप समाचार
x