कृषि

अनुदानको बीउबाट राम्रो उत्पादन नहुँदा किसान चिन्तित

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १९:२७ बजे

फाइल तस्बिर

चितवन- खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।

खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताए । उनले भने, 'अघिल्ला वर्षहरूमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।'


नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उनले भने, 'यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।' आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उनले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गरे । पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ/छैन भन्ने बुझेर मात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उनले बताए । 

अघिल्ला वर्षहरूमा सावित्री धान लगाउने गरेका पाठकले अहिले धानको बीउमा परिवर्तन गरेका हुन् । यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो । ७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए । सङ्घीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उनले बताए । उनले भने, 'सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।'

यस धानमा ९० प्रतिशतमा रोग र कीराको प्रकोप देखिएको उनले बताए । सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट (दाना डडुवा) जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । 

अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशतमात्र उत्पादन भएको उनले बताए । रासस


Author

थप समाचार
x