कृषि

हिउँदमा हिउँमै बिताउँछन् चौँरीपालक किसान

इकागज |
पुस ६, २०८० शुक्रबार १३:१ बजे

फाइल तस्बिर

मनाङ -यहाँको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बोसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि  हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् । 

पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला । यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछन् । 


सानो उमेरदेखि नै गोठ र याकचौँरीसँगै जीवन गुजार्दै आएको उनी बताउँछिन् । उनी भन्छन्, 'चौरी जता हामी पनि उतै जान्छौँ । चौरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ । हाम्रो त छोराछोरी जस्तै हो याकचौँरी । यिनीहरुको स्याहारसुसारमै जीवन बितेका छ । हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ ।' बेँसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनी सुनाउँछन् । 

त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामा चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताउँछन् । उनी भन्छन्, 'याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुज्रिदैँ गएको थाहा पाएन । यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ । अहिले हामी गोठमा छौँ । तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ ।' १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनाम गोठ सार्दा सार्दै  बिहे भएको आफ्नो अनुभव सुनाउँछन् । 

चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, 'गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायो । अहिलेसम्म पनि हामीले गोठ र याकचौँरीसँगै छ । तर, याकचौँरीपालन छाड्न सकेका छैनौँ । हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि १ आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौँ ।'

याकचौँरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उनी बताउँछन् । मुख्य आयस्रोत नै याकचौँरी भएको उनी बताउँछन् । पहिले हामीले याकचौँरी रु २५ हजारदेखि ३५ हजारमा याकचौँरी बिक्री गरिन्थ्यो । तर अहिले याकको रु एक लाख ५० हजारसम्म र चौँरीको रु ९० हजारसम्म मूल्य पाउने गरेको उनी बताउँछन् । यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौँरी हो । 

त्यसैगरी, फुगाउँका कर्म तेन्जिङ हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताउँछन् । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनी बताउँछन् । मनाङका अन्यत्र क्षेत्रमा याकचौँरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनी सुनाउँछन् । 

फुगाउँका ङिमा एञ्जो लामा भँछन्, 'हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउदैनन् ।' अहिले त जमाना फेरिएको उनी बताउँछिन् । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् । 

मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान भने गोठमै रहन्छन् । चौँरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै । विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ । 

याकचौँरीपालनमा व्यस्त रहेका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामा संघीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताउँछन् । उनी भन्छन्, 'स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ । तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ । माथिल्लो तहबाट सहयोग आवश्यक छ ।'

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामा अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताउँछन् । अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उनी बताउँछन् । तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उनी बताउँछन् । यस क्षेत्रमा सडक अभाव रहेको उनले सुनाए । सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उनी बताउँछन् । सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ । 
रासस


Author

थप समाचार
x