६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी
फाइल फोटो
सुर्खेत - सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।
विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९र८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।
यो गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।
देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले यो पटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।
उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।
कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया