कृषि

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

इकागज |
पुस ४, २०८० बुधबार १४:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो । बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।


उद्योग र सरकारी अनुदान गरी अब किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । किसानहरूले भने उखुको खरिद मूल्य प्रतिक्विन्टल ७ सय ५० पुर्याउनुपर्ने माग राख्दै आएका थिए ।

त्यस्तै प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मुख्यसचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजनासहित कार्ययोजना प्रस्तुत गरेको जानकारी दिइन् ।

प्रवक्ता शर्माले मन्त्रिपरिषद् बैठक बस्नका लागि मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको नयाँ हललाई पनि प्रयोगमा ल्याइएको बताइन् । मन्त्रिपरिषद्को नियमित बैठक भने बिहिबार बस्ने प्रवक्ता शर्माको भनाइ छ । 


Author

थप समाचार
x