कृषि

व्यवसाय गर्न कृषि मिटरको माग गर्नेको संख्या बढ्दै

मुलुकभर साढे ३ लाख बढीले लिए कृषि मिटर

इकागज |
फागुन ८, २०८० मंगलबार १४:८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- विभिन्न जिल्लामा कृषि गर्न कृषि मिटर प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । विद्युत प्राधिकरणले सहजै कृषि मिटर उपलब्ध गराउने भएपछि कृषकलाई सहज भएको छ ।

केही समय अघि खेतीयोग्य बालीमा सहजै सिँचाइ व्यवस्था हुन नसक्दा सरकारले विद्युत मिटरको व्यवस्था गरेको थियो । जसबाट विद्युतीय मोटर प्रयोग गरि पानी खेतीमा पुर्‍याउने गरिन्छ । पानी पुग्न नसक्ने खेतीबालीमा विद्युतीय मोटरको प्रयोग गरिने गरिएको छ ।


पछिल्लो सयम गैर किसानले समेत कृषि मिटरको माग गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । माछा पालन तथा उखु पेलान गर्न समेत कृषि मिटरको माग बढेको छ ।

खेतीयोग्य तथा खाद्यबाली उत्पादनका गर्न वितरण गरिने कृषि मिटर माछा व्यवसाय तथा साना उद्योगका लागि दिनुपर्ने भन्दै माग हुन थालेको कृषि मन्त्रालयकी सवनम सिवाकोटी अर्यालले जानकारी दिइन् ।

‘विद्युत प्राधिकरणलाई कृषि मन्त्रालयले खाद्यबाली उत्पादन गर्न कृषि मिटर उपलब्ध गराउन परिपत्र गरिसकेको छ,’ उनले भनिन्,’  अहिलेसम्म जुन प्रयोजनका लागि कृषि मिटर दिनु भनेका छौ । सोही अनुसार मात्र कृषि मिटर वितरण भएका छन् ।‘

तर, मन्त्रालयमा हालसम्म कुन-कुन जिल्लाका कति कृषकले सिँचाइ मिटर प्रयोग गरेका छन् त्यसको तथ्यांक छैन । सिवाकोटीका अनुसार कृषि मिटरको सम्पूर्ण अधिकार, वितरण र प्रयोगको मापदण्ड विद्युत प्राधिकरणलाई दिएको छ ।

मापदण्ड पुगेका किसानले सहजै कृषि मिटर पाउने गरेको उनको भनाइ छ । विद्युत पुगेका सबै ठाउँमा कृषि मिटर उपलब्ध गराउन निर्देशन दिएको उनले बताइन् ।

नेपाल विद्युत प्राधिकारी उपकार्यकारी निर्देशक मनोज सिलवालले मुलुकभरका सबै जिल्लाका माग गरेबमोजिम कृषकलाई कृषि मिटर उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार विभिन्न जिल्लाका किसानलाई गरी ३ लाख ५० हजार बढी कृषि मिटर वितरण भएका छन् । कृषि मिटरमा प्रति युनिट २ रुपैयाँ ३८ पैसा शुल्क लाग्ने गरेको छ ।

‘माग गरेका सबै किसानलाई कृषि मिटर गरिएको छ,’ उनले भने,’ आवश्यक पर्ने किसानले गरेका छन् उनीहरूले सहजै पाउने गरेका छन् ।‘

व्यवसाय गर्ने किसानलाई कृषि मिटर नदिएको सिलवालले बताए । ‘व्यवसायी किसानलाई व्यवसाय वर्गमा राखिएको छ,’  उनले अगाडि थपे ।

 

 

 


Author

थप समाचार
x