कृषि

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

इकागज |
चैत १२, २०८० सोमबार २१:२१ बजे

फाइल तस्बिर

म्याग्दी- म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्याएको हो । 

रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत असिनाले पूर्ण रूपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।


असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ । 

रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो । 

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यबालीसँगै तरकारी खेतीमा ठूलो क्षति पुर्याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिए । ‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक असिना पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ,' कृषक बानियाँले भने । 

असिना पानीले हिउँदेबालीमा क्षति पुर्याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन् । असिना पानीले पुर्याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।


Author

थप समाचार
x