कृषि

धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने सरकारको निर्णय

कार्यविधि बनाएर राहत बाड्न कार्यदल

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १९:२१ बजे

फाइल फोटो

काठमाडौँ - बेमौसमी बाढी र डुबानका कारण ठूलो धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुबानका कारण क्षति व्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार १० कठ्ठाभन्दा बढी जग्गामा लगाएको धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई पनि क्षतिको ३० प्रतिशतसम्म राहत दिने निर्णय भएको पनि बताए ।


यस्तै ३ विघादेखि बढी जग्गामा लगाएको धानबालीमा क्षति व्यहोरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय सरकारले गरेको उनले बताए । यो राहत बाड्ने काम भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा गठन गरिने कार्यदलले गर्नेछ । कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाएर सरकारलाई हस्तान्तरण गर्नेछ । 

दुई हप्ताअघिको अविरल बेमौसमी वर्षाले पहाड र तराईको धानबाली डुबानमा परेपछि क्षतिको विवरण संकलन तथा अध्ययन गर्न सरकारले गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 


Author

थप समाचार
x