ब्रान्‍ड

ग्रे मोबाइलको कारोबार बन्द गरौँ : दिपक मलहोत्रा

मार्जिन बढाऔँ ग्रे बन्द हुन्छ : व्यवसायी

इकागज |
असार १६, २०८१ आइतबार १८:५ बजे

काठमाडौँ- मोबाइल फोन इम्पोर्टर एसोसियसनका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अवैध तरिकाबाट भन्सार छलेर भित्रिएका मोबाइल ग्रे फोनको कारोबार बढेको बताएका छन् ।

मोबाइल व्यवसायी महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई नगरकोटमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले ग्रे मोबाइलले  बजारको ठूलो हिस्सा ओगटेको र त्यसले देशको राजश्वमा समेत नकारात्मक असर गरेको बताए ।


`ग्रे मोबाइलले बजार बिगारेको छ, ग्रे फोनको कारोबार सबै मिलेर बन्द गरौं, व्यवसायी, इम्पोर्टर, डिस्टिव्युटर सबै ग्रेलाई रोक्न लागौं, त्यसले देशको राजश्वलाई पनि घाटा भएको छ,´ मलहोत्राले भने । उनले ग्रे फोनको कारोबार बन्द भए व्यवसायीले पाउने मार्जिनसमेत बढाउन सकिने बताए ।

`तपाईंहरू ग्रे फोनको कारोबार बन्द गर्न लाग्नुस्, ग्रे फोनको कारोबार बन्द भए मोबाइल बिक्री गर्दा तपाईंहरूले पाउने मार्जिन बढाउन सकिन्छ,´ मलहोत्राले भने ।
मलहोत्राले मोबाइल व्यवसायलाई मर्यादित बनाउन आफू निरन्तर लागिरहेको बताउँदै सरकारले मोबाइल फोनमा तत्काल एमडिएमएस प्रणाली लागू गरेर मोबाइल सेवालाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल व्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रूपमा समेत स्पष्ट नीति लिनु पर्ने बताए । `मोबाइल व्यवसायीले देशलाई ठूलो अंकमा राजश्व बुझाएका छन्, तर व्यवसायीले मोबाइल मर्मत तथा बिक्री गर्दा समस्या झेल्नु परिरहेको छ, सेकेन्ड ह्यान्डको बिक्रीमा स्पष्ट नीति छैन, सेवाग्राही मोबाइल बिग्रेर बनाउन आउँदा व्यवसायीले झमेला व्यहोर्नु परिरहेको छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।

भट्टराईले व्यवसायीले पाउने मोबाइल फोन बिक्री वापतको मार्जिनलाई बिनाअलमल सरकारले निर्धारण गरेअनुसार दिइनु पर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष सोभित प्रसाइँले मोबाइलमा व्यवसायीलाई दिइने मार्जिन बढाए ग्रे फोनको कारोबार आफैँ रोकिने धारणा राखे । हाल व्यवसायीले मोबाइल बिक्री गर्दा पाँच प्रतिशत मार्जिन पाउने गरेका छन् ।

`हामी छौं´ अभियान

नेपाल मोबाइल व्यवसायी महासंघले व्यवसायीलाई असहज अवस्था पर्दा सहजीकरण गर्न `हामी छौं´ अभियान सुरु गरेको छ । नगरकोटमा सम्पन्न केन्द्रीय समिति बैठकमार्फत महासंघले व्यवसायीलाई कुनै पनि आपत विपतका समयमा सहजीकरण गर्न अभियान सुरु गर्ने घोषणा गरेको हो । `प्राकृतिक प्रकोप, विपद अथवा अन्य कुनै पनि असहज अवस्थामा व्यवसायीको साथमा संस्था हुनै पर्दछ, त्यस्तो अवस्थामा सहजीकरण गर्नका लागि महासंघले हामी छौं अभियान सुरु गरेको छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।

सो अभियानमार्फत भविष्यमा अन्य पक्षलाई समेत समेट्दै लैजाने लक्ष्य महासंघले लिएको छ । महासंघले केन्द्रीय समिति बैठक मार्फत व्यवसायीको दक्षता वृद्धि गर्न आवश्यक नीति तय गर्ने, आवश्यकता अनुसार जिल्ला तथा प्रदेशमा सर्भिस सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरेको छ ।


Author

थप समाचार
x