मधेश

‍तन्त्रपूजाको पर्याय छिन्नमस्ता

जहाँ मुसलमानको पनि आस्था छिपेको छ

सौरभ यादव |
कात्तिक ९, २०७७ आइतबार १५:१८ बजे

नेपालमा ५१ वटा शक्तिपीठ छन् । जसमध्ये एक शक्तिपीठ हो–छिन्नमस्ता भगवती मन्दिर ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा पर्ने यो शक्तिपीठ तान्त्रिक पूजाका रुपमा चर्चित छ । राजविराजदेखि १० किलोमिटर दक्षिणतर्फ यो शक्तिपीठ भेटिन्छ । पौराणिकस्थल सखडा गाउँस्थित ठुलो पोखरीको उत्तरी डिलमा छिन्नमस्ता भगवती मन्दिर अवस्थित छ । 


प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरदेखि तीन किलोमिटर दक्षिणतर्फ भारतको विहार राज्य पर्छ । यहाँ हिन्दू मात्र होइन मुस्लिम समुदायका हजारौं मानिसहरु आउँछन् । विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर मुसलमानहरु फूलहैस गर्छन् । 

मूल मन्दिर ६ बिघा १७ धुर सात कठ्ठा जमिनमा फैलिएको छ । मूल मन्दिरभन्दा पुर्वतर्फ शिव मन्दिर, हनुमानसहित अन्य मूर्तिहरू छन् । यस मन्दिरमा अनेक किसिमका पूजा गरिन्छ । जसमध्ये दुईवटा पूजा महत्वपूर्ण र चर्चित छन् । ती हुन्, नशा र तान्त्रिक पूजा । 

वर्षका चारवटै नवरात्रिमा ५६ प्रकारका परिकार बनाएर मध्यरातमा नशा पूजा गरिन्छ । पूजामा बाधा उत्पन्न हुन थालेपछि तान्त्रिकलाई बोलाएर तन्त्रमन्त्रद्वारा पूजा गराई भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमी राति तान्त्रिक विधिद्वारा पूजा गरिन्छ ।

तत्कालिन राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए । त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा भनिन्–तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशुल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौ, ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ ।’ 

देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ अहिले पनि सप्तरीमा सुनिन्छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीको वेवसाइटमा उल्लेख छ ।

एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकिदिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो । 
मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो । जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरुको विश्वास छ । 

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब एक सय २५ वर्षअघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो । जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो ।  र, त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामिण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।

वि.स.२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालिन भारतीय रेल मन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला बनाइयो । त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र शाह भगवतीको दर्शनार्थ जाँदा पाँचलाख रुपैयाँ चन्दा दिए । सो रकमबाट तत्कालिन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए । 

सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनर्निर्माण गरिए पनि त्यहाँका मूर्तिहरु शुद्ध पालवंशी शैलीमा बनाइएका छन् । नेपालमा पालशैली भारतबाट आएको हो । सत्यमोहन जोशीद्वारा लिखित पुस्तकमा पनि पालवंशपछि सेनवंशको उदय भएको उल्लेख गरिएको छ । 

सेनहरुको पालामा वैष्णव धर्मको प्रधानता देखिन्छ । सन् १८९९ मा मुसलमानी आक्रमणले गर्दा सेन वंशको पतन भयो । त्यसैक्रममा सकारण विहार वंगालका धर्म, संस्कृति र कलाका पे्रमीहरु आफ्नो संस्कृतिको सुरक्षार्थ भारतबाट आश्रय लिन नेपाल आएको इतिहासका जानकारहरु बताउँछन् । 

पछिल्लो समय छिन्नमस्ता भगवतीको दर्शनका लागि थुप्रै भारतीयहरु आउँने गरेका छन् । जसमा भारतका गन्नेमान्ने व्यक्तिहरु पनि पर्छन् । भारतका योग गुरु बाबा रामदेव ०७४ साल पुस महिनामा छिन्नमस्ताको दर्शनकै लागि यहाँ आएका थिए । 

मन्दिरको दर्शनपछि बाबा रामदेवले बली प्रथा अन्त्य गर्नुपर्ने बताएका थिए । दर्शनकै क्रममा उनले मन्दिरका लागि महन्थलाई एक लाख रुपैयाँ चन्दा दिएका थिए । तर, भगवतीप्रतिको  अस्थाका कारण अहिलेसम्म बली प्रथा रोकिएको छैन । दैनिक रुपमा भक्तजनहरुले मन्दिरमा बली चढाउने गरेका छन् ।

दसैंमा सुनसान छिन्नमस्ता 

बडादसैंको आश्विन शुक्ल सप्तमीका दिन पनि मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ सुनसान देखियो । अघिल्ला वर्षहरुमा दसैंका बेला भरिभराउ रहने यो शक्तिपीठ यस वर्ष कोभिड महामारीका कारण सुनसान बनेको हो।

शक्तिपीठमा फूलहैस (भाकल) गराए सन्तान प्राप्तिका साथै मनोवाञ्छित फल प्राप्ति हुने जनविश्वास रहिआएको छ । संकटपूर्ण अवस्थामा माता सखडेश्वरीको स्मरणले मात्र सहायता प्राप्त हुने आस्थाले शक्तिपीठमा नेपालका साथै भारतको विहारदेखि नयाँ दिल्लीसम्मका भक्तजनहरु दर्शन र पुजापाठका लागि आउने गर्छन् ।
भाकल पुरा भएपछि विशेष पुजापाठको बेला अर्थात् वडादसैंमा पुनःआएर बोका बली चढाउनुपर्ने परम्पराअनुसार वर्षेणी यहाँ भीडभाड हुने गर्दथ्यो । तर, यस वर्ष भने कोभिड संक्रमणको त्रासले मन्दिर सुनसान छ ।

शक्तिपीठका पीठाधिस महाकान्त ठाकुर भन्छन्,‘कोरोनाको त्रासले पनि श्रद्धालुहरुको आवागमन कम भएको छ।’


Author

थप समाचार
x