आमचुनाव २०७९

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

इकागज |
मंसिर १३, २०७९ मंगलबार २२:१६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिए । स्याङ्जा र बाजुरामा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उनको भनाइ थियो । 


पार्टीका उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए । स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ ।

उपसभापति गुरुङले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न चाँडो निर्देशन दिने विश्वाससमेत व्यक्त गरे । 


Author

थप समाचार
x