सिनेमा

सलमानको ‘दबङ टुर’ रद्द , ज्याकलिन, चुनाव र पानीको बहाना

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:५० बजे

काठमाडौँ - आउँदो शनिबार हुन लागेको सलमान खानको ‘दबंग टुर’ रद्द भएको छ । आयोजक ओडीसी इभेन्टले औपचारिक रुपमा जानकारी नदिए पनि कार्यक्रम निर्धारित मितिमा हुन नसक्ने स्रोतले इकागजलाई जानकारी दियो । स्रोतले चुनाव तथा पानीको कारण देखाउँदै कार्यक्रम सार्न लागेको बताएको छ । 

‘मानिसहरू चुनावमा व्यस्त भएको र अपेक्षित रुपमा टिकट बिक्रि नभएको भन्ने कुरा छ । तर भोलि बस्ने बोर्डले यसको औपचारिक निर्णय गर्नेछ,’ स्रोतले भने । 
सलमानसँग कोअर्डिनेसन गरिरहेका राधेश्याम भनिने ज्याकसनले भने कार्यक्रम रद्द नभएको बताए । उनले भोलि बेलुकीसम्म धैर्य गर्न आग्रह गरेका थिए । ‘रद्द गर्ने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन । भोलि मुम्बईबाट सामान लिएर जहाज आउँदैछ । भोलि बेलुकीसम्म पर्खनुहोला,’ उनले भने ।


आयोजकले ज्याकलिन फर्नान्डेजलाई पनि कार्यक्रम रद्द गर्नुपर्ने कारणको रुपमा व्याख्या गरेको छ । ठगसँगबाट सम्बन्धमा रहेर महंगा गिफ्ट लिएको आरोप लागेकी ज्याकलिनलाई विनाअनुमति मुम्बई छाड्न निषेध गरिएको छ । केही दिनअघि उनले नेपाल आउन अनुमति दिन गरेको आग्रह अदालतले खारेज गरिदिएको थियो । नेपालमा भने ज्याकलिनको फोटो राखेर टिकट बिक्री गरिएकाले भोलि यसमा मुद्दा पर्ने सम्भावनाका कारण पनि आयोजकले कार्यक्रम सार्न चाहेको स्रोतले बतायो । 
केही दिनपछि लगत्तै गर्नलाई सलमानसँग बाँकी कलाकार आइफा अवार्डमा व्यस्त हुने भएकाले सल्लाहमा नयाँ मिति घोषणा गरिने स्रोतको दाबी छ । योबाहेक सामान लिएर आउने १० वटा ट्रक बाटोमा रोकिएका कारण पनि निर्धारित समयमा कार्यक्रम गर्न नसकिएको आयोजकको स्पष्टिकरण छ । 
आयोजकले बिक्री भइसकेका टिकट फिर्ता लिन चाहानेलाई फिर्ता दिने र नगर्नेलाई पछि सोही टिकटबा कार्यक्रम हेर्न दिने तयारी गरेको पनि स्रोतले बताएको छ । 

टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो । यसै गरी नेपालबाट शिव परियार, सुशान्त केसी, माला लिम्बू, मुना गौचन आदिले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम थियो । 


Author

थप समाचार
x