सिनेमा

‘लालसिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ : दर्शक आएनन्, गतिलो पनि भनेनन्

इकागज |
साउन २६, २०७९ बिहीबार १३:२६ बजे

आजबाट भारतसँगै नेपालमा पनि रिलिज भएको दुई बलिउड फिल्म ‘लालसिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ले कमजोर सुरुवात गरेका छन् । भारतमा यी दुवै फिल्मले बिहानको समयमा १५ प्रतिशत हाराहारी मात्र व्यापार गरेको व्यापार विश्लेषकले आँकडा निकालेका छन् । आमिर खानका यसअघिका फिल्मले पहिलो दिननै २० करोड बढीको व्यापार गर्ने गरेका थिए । तर ‘लालसिंह चढ्ढा’ले पहिलो दिन १० करोडको पनि व्यापार नगर्ने अनुमान थालिएको छ । 

यता अक्षयकुमार अभीनित ‘रक्षा बन्धन’को पनि अवस्था त्यस्तै रहेको रिपोर्ट छ । यो फिल्मले ‘लालसिंह चढ्ढा’को भन्दा कम व्यापार गरेको छ र यो फिल्मले पनि गतिलो समीक्षा पाएको छैन ।


‘लालसिंह चढ्ढा’लाई समीक्षकले कमजोर मान्दै हलिउड फिल्मको कमसल अनुवादको रुपमा उल्लेख गरेका छन् । हाफ टाइम अगाडि फिल्म ठीक ठाक भए पनि हाफ टाइमपछाडि फिल्म सुस्त र अल्छी लाग्दो भएको बताएका छन् । यो फिल्म सन् १९९४ मा रिलिज भएको हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो । 

आनन्द एल राय निर्देशित ‘रक्षा बन्धन’ले पनि समीक्षकबाट गतिलो समीक्षा पाएको छैन । फिल्मलाई समीक्षकले बासी र धेरै मेलोड्रामा भएको भन्दै फिल्ममा अक्षयकुमारले राम्रो काम गरेको भए पनि यो फिल्मले फ्लपको शृंखलालाई निन्तरता दिने बताएका छन् । अक्षयकुमारका यसअघि ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ पनि फ्लप भएका थिए । 

नेपालमा पनि दुवै फिल्मको व्यापार कमजोर छ । बिहानीका सो खाली खाली चलेको रिपोर्ट छ भने दिउँसोको सोमा ५० प्रतिशत पनि दर्शक छैनन् । यसमध्ये ‘लालसिंह चढ्ढा’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा नेपाल आएको हो । यो फिल्मलाई नेपाल ल्याउन वितरकले २ करोडभन्दा माथिको रकम तिरेको समाचार आएका थिए । 


Author

थप समाचार
x