सिनेमा

दसैँ ‘क्राउडेड’ भएको भन्दै फागुन पुग्यो ‘परदेशी २’

इकागज |
साउन २७, २०७९ शुक्रबार १७:५७ बजे

काठमाडौँ- दसैँतिहारको समयमा रिलिज क्यालेन्डर क्राउडेड भएको भन्दै ‘परदेशी २’ले पछि सर्ने निर्णय गरेको छ । असोज १४ लाई प्रदर्शन मिति तोकेको फिल्म अब फागनु ५ मा प्रदर्शनमा आउनेछ । 

निर्माता राजेश बंशलले आफूले रिलिज गर्न ताकेको समयमा नेपाली र हिन्दी फिल्मको भिडभाड भएकाले पछि सर्ने निर्णय गरेको बताए । ‘यो पटक भदौदेखिकै फिल्मको चाप छ । हामीले रिलिज गर्ने भनेको समयमा पनि हिन्दी र नेपाली फिल्म प्रशस्त छन् । एक हप्ताअघि प्रेमगीत ३ पनि रिलिज हुँदैछ । नेपालका लागि यो फिल्मको खास महत्व छ । यसलाई पनि धेरै दर्शकले हेर्नुहोस् भन्ने हाम्रो चाहाना हो । त्यही भएका कारण हामी पछि सर्ने निर्णय गरेका हौँ,’ बंशलले भने । 


निर्माता बंशलले आफूले बनाएका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ लामो समय चलेकाले पछि आउँदो यसैगरी ज्यादा दर्शकले हेर्छन् कि भन्ने आसय राखेको पनि बताए । ‘गोर्खा पल्टनले ५१ दिन र परदेशीले ७५ दिन मनाएका थिए । यो फिल्मलाई पनि धेरै दर्शकलाई देखाउने हाम्रो चाहना हो । तर दसैँमा रिलिज गर्दा अलि गाह्रो हुने देखियो,’ बंशलले भने ।

‘प्रेमगीत ३’ भारतमा समेत रिलिज गर्ने भएपछि यो फिल्मले पाएको हाइप र लगत्तैको हप्ता रिलिज हुन लागेको ‘दुई नम्बरी’को टिजरले दर्शक रत्तिएको देखेपछि ‘परदेशी २’ निर्माण टिम रिलिज सार्ने छलफलमा जुटेको थियो । यही मितिमा ऋतिक रोशन र सैफ अली खान अभीनित बलिउड फिल्म ‘विक्रम बेधा’ र विक्रम र ऐश्वर्या राय अभीनित दक्षिण भारतीय फिल्म ‘पन्नियन सेल्भन’ आउने चर्चा छ । यी सब कारण देखाउँदै अन्ततः फिल्म ५ महिना पर सरेको छ । नारायण रायमाझीको निर्देशन रहेको फिल्मबाट प्रकाश सपूतले फिचर फिल्ममा डेब्यू गर्दैछन् । 


Author

थप समाचार
x