सिनेमा

‘कबड्डी ४’पछि ‘२ नम्बरी’मा सौगात र दयाको हिट जोडी

इकागज |
असोज ९, २०७९ आइतवार १०:१७ बजे

काठमाडौँ- नायकद्धय सौगात मल्ल र दयाहाङ राईको जोडी फिल्मको पर्दामा हिट छ । उनीहरुले ‘कबड्डी ४’मा गरेको सहकार्यलाई दर्शकले अत्याधिक मन पराए । सौगात र दयालाई दर्शकले फिल्म ‘लुट’मा पनि औधी मन पराएका हुन् ।

यी नायकले थुप्रै फिल्म छुट्टाछुट्टै रुपमा खेलेका छन् । तर, कहिलेकाही यी दुई एकसाथ पर्दामा आउँदा दर्शकलाई भुतुक्कै बनाएका पनि छन् । असोजको २१ गतेबाट फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । यो फिल्ममा सौगात र दयाको जोडीलाई हेर्न पाइन्छ । फिल्ममा यी दुइको मित्रताले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । फिल्मको टिजरमा सौगात र दयालाई एकसाथ देखेर दर्शक उत्साहित छन् ।


निर्माणपक्षले मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गर्दैछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा दयाको जोडीको रुपमा उगेन छोदेन र सौगातको जोडीको रुपमा उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।

फिल्म ‘२ नम्बरी’लाई कतिपयले ‘कबड्डी ४’को स्वाद झल्काउने समेत भनेका छन् । तर, निर्देशक लामा फिल्ममा सौगात र दयाको जोडीलाई दर्शकले रमाइलो शैलीमा हेर्न पाउने बताउँछन् । यसमा २ मित्रहरुको कथा भनिएको उनको भनाई छ । ​दसैँको टीका लगतै दर्शकले रमाइलो फिल्म हेरेर फ्रेस हुन सक्ने उनको भनाइ छ । 


Author

थप समाचार
x