सिनेमा

इनास नेपालको अध्यक्षमा गीतकार दयाराम पाण्डेयको नेतृत्व

इकागज |
कात्तिक १६, २०८० बिहीबार ९:५५ बजे

काठमाडौँ - काठमाडौं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको अध्यक्षमा गीतकार दयाराम पाण्डेय निर्वाचित भएका छन्।  काठमाडौंमा बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय सन् २०२३-२०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए।

 त्यस्तै इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् । महासचिवमा गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत भएका छन् ।


 त्यसैगरी कार्यसमिति सदस्यहरुमा नायक पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र  श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरालले सपथ ग्रहण गराएका थिए।  उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेयले आफ्नो प्रतिबद्धता पत्र प्रस्तुत गर्दै पुरानो कार्यसमितिका सम्पूर्णलाई बधाई ज्ञापन गर्दै नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई स्वागत गरेका थिए। 'एक्लैले केही गर्न सकिँदैन', अध्यक्ष पाण्डेयले भने, ' संघ संस्था भनेको टिमवर्कले अगाडि बढ्ने हो, त्यसैले सबै एकढिक्का भएर अगाडि बढौँ।"

 इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले  नयाँ कार्यसमितिको अगाडि ठूलो चुनौती रहेको र नयाँ टिम हेर्दा आफू निकै आशावादी भएको बताए। उनले भने,'यो टिमले पक्कै राम्रो गरेर इनासलाई नयाँ उचाईमा पुर्याउनेछ।'

 सो अवसरमा इनास ग्लोबल वरिष्ठ  उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्षद्वय अर्जुन काफ्ले, सावु गदाल, कोषाध्यक्ष कुलराज थापा र एसिया संयोजक लोकराज अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित यस संस्थाको केन्द्रीय कार्यालय नेदरल्यान्डमा रहेको छ भने हाल विश्वका ७३ वटा देशमा यसको शाखा विस्तार भैसकेको छ।


Author

थप समाचार
x