सिनेमा

सुटिङमा निस्कियो ‘महाजात्रा’, शृंखलामा थपिए हरिवंश

इकागज |
कात्तिक १६, २०८० बिहीबार १०:४८ बजे

काठमाडौँ -  निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को सुटिङ सुरु भएको छ । बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो । सो अवसरमा निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट सुरु भएको जानकारी दिएको थियो ।

सुटिङ अघि मन्दिरमा विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले हवन गरेका थिए । चार घण्टा चलेको पूजामा सिनेमाको ‘कास्ट एण्ड क्रु’ सहभागी थियो । पूजापछि मुहूर्त समारोह सम्पन्‍न गरिएको थियो । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिचिएको थियो ।  ४५ दिनको छायांकन सेड्युल तय गरिएको सिनेमालाई काठमाडौं र जनकपुरमा खिचिनेछ ।


निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमाको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए । ‘महाजात्रा’ ट्यागलाइन ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईले यो सिनेमामा धेरै घटना जोडिने बताए । ‘जात्रा एउटा घटनामा आधारित थियो । जात्रैजात्रा दुई टिमको कथा थियो । महाजात्रा धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

तेस्रो श्रृंखलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको समेत उनले बताए । निर्देशक भट्टराईले भने, ‘जात्रा भनेको एउटा सामूहिकता पनि हो । यही जात्रालाई राम्रोसँग मनाउन सके सेलिब्रेसन हुन्छ । नसके बर्बाद । महाजात्रामा पनि यस्तै केही नसोचेको कुरा भइदिन्छ ।’

कथावस्तु अनुसार कलाकारलाई कास्ट गरिएको निर्देशक भट्टराईले बताए । ‘सिनेमामा कलाकारलाई हाल्नको लागि लिएका होइनौं । पटकथाको संरचना बनाइसकेपछि कास्ट गरिएको हो,’ उनले भने ।

शुभमुहूर्तको अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले उत्साह व्यक्त गरे । हरिवंश क्यारेक्टर लुकमै पत्नीसहित उपस्थित थिए । सिनेमामा हरिवंश र विपिनका अलवा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ ।

आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको सिनेमाको निर्मातामा म्याक्स दीपेश खत्री छन् । सिनेमाको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्धन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपकप्रताप अधिकारी र भारत बाहेकको विदेश रिलिज एमएसएम इन्टरटेनमेन्टले गर्नेछ ।

 

 


Author

थप समाचार
x