सिनेमा

‘महानायिका’ उपाधिमा गौरीको टिप्पणी : उपाधि हैन मलाई काम दिनोस्

इकागज |
असोज ४, २०७८ सोमबार १६:५५ बजे

काठमाडौँ - आइतबार अभिनेताद्वय भुवन केसी र शिव श्रेष्ठले अभिनेत्री गौरी मल्ललाई महानायिकाको असली हकदार भनेपछि महानायक झैं महानायिकाको उपाधि पनि विवादमा आएको छ । किनकि केही समयअघि महानायकमा विवादित राजेश हमालको बाहुलीबाट अभिनेत्री करिष्मा मानन्धरले यो उपाधि लिएकी थिइन् ।

तर आइतबार ‘डाँडाको बर पीपल’ शीर्षकको फिल्मको गीत सार्वजनिक कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीले यदि कोही महानायिका हो भने त्यसको पहिलो हकदार गौरी मल्ल भएको दाबी गरे ।


यसो गर्नमा उनीहरूले गौरीको अभिनय क्षमतालाई मुख्य आधार मानेको बताएका थिए । यसमा रोचक के छ भने गौरी मल्ल र करिष्माले एकै फिल्म ‘सन्तान’बाट डेब्यु गरेका थिए भने भुवन केसी यो फिल्मका एक हिरो थिए । त्यसयता पनि दुवै हिरोले दुवै हिरोइनसँग थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।

यसरी हठात् दुवै हिरोले करिष्माले पाएको उपाधिलाई चुनौती दिने गरी गौरी मल्ललाई महानायिका घोषणा गरेपछि सञ्चारकर्मीले भर्खरै प्राप्त महानायिका उपाधिमाथि गौरीको धारणा जान्न चाहेका थिए । ‘के तपाईँ महानायिका उपाधि स्वीकार गर्नुहुन्छ ?’ सञ्चारकर्मीको यो प्रश्नमा उनले आफू यस्ता उपाधिको विरोधमा रहेको जनाउँदै उनले आफूलाई महानायिकाको उपाधि हैन काम दिन आग्रह गरेकी थिइन् । सोही समयमा उनले व्यक्त गरेको विचार जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ । 
०००
चलचित्रको दुनियाँमा ३०–३५ वर्षदेखि काम गरिरहेकी छु । त्यो आधारमा पनि उहाँहरूको निक्र्योल होला कि यस्तो पनि गर्न सकिन्छ । त्यो सबैले सोच्न सक्छन् । यसमा दुई मत छैन । जहाँसम्म मैले यो पद लिने नलिने, यो गर्ने नगर्ने भन्ने कुरा छ, यसमा म एउटै कुरा भन्न चाहान्छु, कुनै पनि उपाधि, जुन पनि चाहे जसले सुकै देओस्, महानायक, महानायिका, सर्वश्रेष्ठ, सुपरस्टार, विशिष्ट, धुरन्धर, जे उपाधि दिए पनि त्यो कागलाई हेल्मेट लगाए जस्तो नहोस् ।

जसले पाए पनि, धान्न सक्ने पनि हुनु पर्यो नी । डिजर्भ पनि गर्नुपर्यो । त्यो चिज लिँदा खेरी त्यो सम्मानको लायक म छु कि छैन भन्ने अन्तर्बोध पनि हुनुपर्यो । कसैले अन्तर्बोध गरेर मनैदेखि स्वीकार्न सक्छ भने त्यो पनि ठीकै छ । 

हामीले आफ्नो काम सुरु गर्दा म महानायिका हुन्छु, महानायक हुन्छु सर्वश्रेष्ठ बन्छु भनेर गर्या त होइन । एउटा सानो प्लेटफर्मबाट हिँड्दै हिँड्दै यहाँ आएको हो । खास भन्ने हो भने यो देशमा यस्ता उपाधिको कुनै औचित्य थिएन ।

म आए दिन देखिरहेकी हुन्छु, विभिन्न किसिमका उपाधि सिंगारिरहेका हुन्छौँ । मानौँ कुनै तस्बिरलाई सिंगारिएको होस् । भित्तामा सजाइदिनलाई मात्र यो गरिरहेका छौँ । मलाई उपाधि चाहिँदैन । काम दिनोस् । हामी श्रमजीवि हौँ । हामीलाई श्रम गर्ने मौका दिनोस् ।

हामीले के गर्यौँ, के गरेनौँ भोलिको पुस्ताले मूल्यांकन गर्ने कुरा हो । तर, यी सब कुरा भनिरहँदा एउटा कुरा भन्न चाहान्छु, आज तपाईं जे कुरा भन्नुहुन्छ भोलि त्यो इतिहास बन्छ ।

हिजो राणाकालमा के भयो, जंगबहादुरको उदय कसरी भयो ? हामीलाई ठ्याक्कै थाहा छैन । कसैले भनेको कुरा विश्वास गरिरहेका छौँ । त्यसैले यो क्षेत्रमा पनि एबिसिडीइएफ जे सुकै होस् जुनै पनि शृंगार, अलङ्कार दिनुस्, सही मान्छेलाई डिजर्भ गर्ने मान्छेलाई दिनुस् ।

यो होइन कि चार जना मान्छेलाई खुशी बनाउन दिन्छौँ यसमा के फाइदा छ ? तपाईंहरूको गल्ति भोलि इतिहास बन्छ । त्यो इतिहासले हाम्रो जेनेरेसनको मनस्थिति बिगारिदिन्छ । सत्य त्यही हुन्छ जे कुरा आज तपाईंहरू बोल्नुहुन्छ, लेख्नुहुन्छ । त्यो सत्यलाई नबिगार्नुस् । म त यो चिजदेखि पर भाग्छु । म त काम गर्ने मान्छे हो । श्रम गर्ने मौका दिनुस् । हामी कामले प्रुभ गर्छौं कि हो भनेर कि होइन भनेर । यस्ता चिजहरूको पछि नलागौँ । 


Author

थप समाचार
x