सिनेमा

२०७८ मा मनोरञ्जन क्षेत्रका ८ काण्ड

सामीप्यराज तिमल्सेना |
बैशाख १, २०७९ बिहीबार १७:४२ बजे

कोभिड महामारीका कारण यो साल ज्याद्रो विधि केही भएन । तर यो साल जे भयो त्यो मनोरञ्जनको इतिहासमा पहिले कहिलै भएको थिएन । 

पहिलो लकडाउनपछि हल नखुले पनि सेलिब्रेटीले मनोरञ्जन गराउने काममा कुनै कसर बाँकी राखेका थिएनन् । कसैले कालो चिया पकाउन जानेको त कसैले भारतीय साथीलाई मुख देखाउने चिन्ता व्यक्त गरेपछि दर्शकले कलाकारको बौद्धिकताबाट राम्रै मनोरञ्जन लिएका थिए । अझ गत साल दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई केको महानायक भनेर व्यंग्य गरेपछि दर्शकले लिएको दीपाश्रीको सातो यो साल मुस्किलले फर्कियो । महानायकपछि सदाबहार नायक भुवन केसी पनि गत साल आफैँले डेब्यु गराएकी हिरोइनसँग भिडेका थिए जुन अदालतमा पुगेर मुल्तबीमा छ । यो साल पनि फाट्टफुट्ट काण्ड नभएका होइनन् तर पल शाह काण्डकोे अगाडि बाँकी सबै काण्ड ‘बिचरा’ साबित भए । 


‘रियल हिरो’को जेल यात्रा

यो साल पल शाह सुरुदेखि अन्त्यसम्म नै समाचारमा रहे । वर्षको उत्तरार्धतिर जेलको छिँडीतिर लाग्नुअघि लकडाउन अवधिभर पल शाह म्युजिक भिडियो खेलेर र समाजसेवा गरेर चर्चामा रहे । ३० दिन सालाखाला हुने महिनामा भनिन्छ, पल शाह २५ दिन म्युजिक भिडियो सुटिङ गर्थे । सरकारले सुटिङ रोकेको समयमा भने पल शाह धुर्मुस सुन्तलीले झैँ चामल बोरा बोकेर मेचीदेखि महाकालीसम्म पुगे । उनको यो मेहनत देखेर उपाधि दिन माहिर पत्रकार प्रकाश सुवेदीले उनलाई रियल हिरो उपाधि पनि दिइहाले । राजेश हमाललाई महानायक उपाधि पनि आफैँले दिएको उनको दाबी रहने गरेको छ । 

यसरी नक्कली हिरोबाट सक्कली हिरो बनेका पल शाह नाबालिग बलात्कारको मुद्दामा फँसेपछि यो घटना यो सालको सबैभन्दा चर्चित घटना बन्यो । नाबालिगले आफूलाई ललाइफकाइ करणी गरेको उजुरी दिएपछि पल शाह अहिले तनुहँको खोरमा छन् । यो काण्डमा के के भयो, पाठकलाई बताइरहन जरुरी छैन ।  
 

प्रियंकाको बेबी बम्प 

समाचार र प्रियंका कार्की एक अर्काका पर्यायवाची जस्तै छन् । एक अर्काविना दुवै बाँच्न सक्दैनन् । प्रियंका कार्कीले विवाह गरेपछि यो सम्बन्ध मत्थर भएको थियो तर जुन दिनबाट प्रियंका गर्भवती भएको समाचार आयो, त्यो दिनबाट यो सम्बन्धमा फेरि नयाँ उछाल आयो । पेटभित्रको बच्चा हुर्कंदै गएपछि प्रियंका सामाजिक सञ्जालमा सक्रिय हुन थालिन् ‘बेबी बम्प’को प्रदर्शन गर्न थालिन् । यसले समाजमा भने तरङ्ग सिर्जना गर्यो । कतिले यसलाई जाती माने त कतिले नजाती । एक समय त यस्तो भयो कि प्रियंकाको बेबी बम्पलाई लिएर सामाजिक सञ्जालमा ठीक छ भन्ने र ठीक छैन भन्ने युद्ध नै चल्यो । प्रियंकाले बच्चा जन्माएपछि मात्र यो युद्ध थामियो ।

प्रकाश सपुतको ‘पिर’ले दिएको पिर

सामाजिक सन्देशसहितका गीत प्रस्तुत गर्दै आएका प्रकाश सपुतले वर्षको अन्त्यतिर सार्वजनिक गरेको ‘पिर’ गीत पनि यो सालको चर्चित काण्ड रह्यो । माओवादी जनयुद्धलाई पृष्ठभूमिमा राखेर बनाएको गीतलाई माओवादीका नेता÷कार्यकर्ताले ‘अपमान’को रूपमा चित्रण गरेपछि गीत, गीत मात्र रहेन माओवादी खुइल्याउने विष्फोटक हतियारका रूपमा दर्ज भयो । गीतलाई एमाले र यसका भ्रातृ संगठनले माओवादीलाई ‘साइज’मा ल्याउने अवसरका रूपमा लिए जसलाई माओवादी मन नपराउने जमातले पनि होस्टेमा हैँसे गर्यो । यसको असर के भयो भने यो गीतले पाँच दिनमै करोड दर्शक पायो । यति भएपछि प्रकाश सपुतले पनि माओवादीले आपत्ति जनाएको केही दृश्यलाई सम्पादन गरेर फेरि अपलोड गरे । अहिले यो गीत पनि ५० लाख दर्शकले हेर्न लागिसकेका छन् । 

धुर्मुस–सुन्तलीको समाजसेवा

हुन त सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले जमेर कलाकारिता नगरेको धेरै भइसक्यो । यो साल उनीहरूले वैवाहिक वर्षगाँठ गीतबाट मनाए भने ओटिटीका लागि ‘म त मर्छु कि क्या हो’ भन्ने एउटा फिल्म पनि निर्माण गरे । तर यी दुवै सिर्जना उनको असफल समाजसेवाको प्रयासमा ओझेलमा परे । बडो तामझामका साथ चितवनमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको धुर्मुस–सुन्तली जोडीले यो साल आफूहरूबाट यो काम फत्ते हुन नसक्ने भन्दै हात उठायो । यो घोषणा सानोतिनो काण्डकै रूपमा केही समय चर्चामा रह्यो । पहिला वाह धुर्मुस–सुन्तली भन्ने नै उनीहरूको उछित्तो काढ्नमा अगाडि रहे । प्रकरण तातिँदै जाँदा उनीहरूका विरुद्धमा अख्तियारमा उजुरी पनि परेको छ जसको अवस्था के छ भन्ने अज्ञात छ तर यो साल समाजसेवा कसरी गर्नुहुन्न भन्ने कुरा बुझाउन धुर्मुस–सुन्तली प्रकरण गतिलो पाठको रूपमा रह्यो । 

शोभित बस्नेतका अनेक महानायक

अघिल्लो साल दीपाश्री निरौलाका कारण राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने विवाद चर्किएको थियो । शोभित बस्नेतले यो साल यो विवादलाई फेरि एक पटक चर्काए । आफूले निर्देशन गरेको फिल्म ‘डाँडाको वरपीपल’को गीत सार्वजनिक कार्यक्रममा शोभित बस्नेतले राजेश हमाल होइन, भुवन केसी महानायक भएको आशय व्यक्त गरे ।

उता सोही कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिका घोषणा गरेपछि उपाधि विवाद फेरि एक पटक चर्कियो । शोभित बस्नेत र फिल्मलाई सामाजिक सञ्जालमा खेद्न थालेपछि शोभित बस्नेतले राजेश हमालको फोटो राखेर ट्रेलर सार्वजनिक गरे । यसले विवाद सल्टनुको साटो झन् चर्कियो । फिल्म रिलिज भएर मायालाग्दो व्यापार गरेपछि बल्ल यो चर्चा सेलायो । 

‘मुन्द्रेको कमेडी क्लब’मा जितुको दुःखेसो 
 

जितु नेपालले निर्माण तथा सञ्चालन गरेको ‘मुन्द्रे’को कमेडी क्लबमा जितुले अघिल्लो साल दीपाश्री निरौलालाई हटाएर करिष्मा मानन्धरलाई राखेपछि यो घटना पनि मनोरञ्जन क्षेत्रमा राम्रै चर्चाको विषय बनेको थियो । तर यो साल यो सो निर्माण गर्ने एजेन्सीले नै जितुलाई धोका दिएपछि जितुको गुनासोले मनोरञ्जन क्षेत्र गुञ्जायमान बन्यो । आफैँले ल्याएर मौका दिएको उमेश राई उर्फ फुलन्देको आमालाई एजेन्सीले जितुलाई पत्तै नदिई अर्को कार्यक्रममा पठाएपछि जितुले कार्यक्रममा नै अचानक बन्द गर्ने निर्णय गरे । जितुको यो कदमले केही समय राम्रै तरङ सिर्जना गर्यो । 

पूजा शर्माको पल प्रेम

मनोरञ्जनका समाचारमा कुन कलाकारका समाचार कति आए भनेर खोज्ने हो भने आँखा चिम्लेर पूजा शर्माको नाम लिए हुन्छ । ब्रेकअप प्रेम र पल प्रेमको पूजाको नमुना यही साल छरपस्ट भए । यो साल पूजाले आकाश श्रेष्ठसँग सम्बन्ध तोडिन् र युद्ध बानियाँसँग अफेयर सुरु गरिन् । यता उनले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को रिलिजको संघारमा पल शाह जेल चलान भएपछि त उनले बलात्कारको नयाँ परिभाषा निर्माण गर्नेदेखि लिएर पल प्रेमले ओतप्रोत भएका अनेक अभिव्यक्ति दिइन् । यसले पल शाहसँगै पूजालाई पनि चर्चाको उचाइमा राखिराख्न मद्दत गर्यो । 
 

करिष्माको एमाले प्रवेश र सूर्जेकुमारीको कथा 

फिल्ममा धेरै समयदेखि देखिन छाडेकी करिष्मा मानन्धर पछिल्ला साल पढाइका कुराले समाचारमा आउने गरेकी थिइन् । यो साल १२ पास गरेपछि करिष्मालाई धेरैले प्रेरक व्यक्तित्वका रूपमा उल्लेख गरे । १२ पास गरेसँगै करिष्माले ब्यालर पढ्न सुरु गरेको कुरालाई पनि मानिसले निको मानेर चर्चा गरे । तर वर्षको अन्त्यतिर करिष्माले एमाले पार्टी प्रवेश गरेर राजनीतिको भोक नमेटिएको संकेत दिइन् । यतिसम्म त ठीकै थियो तर आफू जन्मजातले नामले एमाले भएको जनाउन आफ्नो न्वारनको नाम नै सूर्जेकुमारी रहेको बताए पछि करिष्मा हल्का बनिन् । उनलाई गिज्याउने गरी आफ्नो न्वारनको नाम राख्ने होडबाजी नै चल्यो । यही कारण करिष्मा ट्रोलरको निशानामा पनि परिन् ।


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x