कर्पोरेट

कोका-कोला नेपालको ५०औँ वार्षिकोत्सव सम्पन्न

इकागज |
माघ १५, २०८० सोमबार २१:४४ बजे

काठमाडौँ- कोका-कोलाले नेपालमा सञ्चालन भएको ५० औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो ।

सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका-कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो । पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका-कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौँ र चितवन गरी कोका-कोलाको नेपालमा दुई ओटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका-कोलाले १ हजारभन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ भने ५ हजारभन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।


उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन.एन सिंहले भने, 'लजिस्टिक र संस्थागत संरचना पूर्ण रूपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो । हालसम्म आइपुग्दा कोका-कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ । कोका-कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो । कोका-कोलालाई माया गर्नुहुने सम्पूर्ण नेपाली ग्राहकवर्गहरू, कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई हामी कोका-कोला कम्पनीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।'

आफ्नो ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोका-कोलाले 'कोका-कोला फिफ्टी इयर्स क्विज टाइम' नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दैछ जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्र मार्फत आकर्षक उपहारहरू जित्ने मौका पाउन सक्नेछन् । आफ्नो स्मार्टफोनमा खल्ती एप खोलेर यस क्विजमा सहभागी हुन सकिनेछ । यसै सन्दर्भमा कोका-कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले भने, 'हाम्रा लोकप्रिय ब्रान्डहरूप्रति नेपालीहरूले देखाउनुभएको मायाले हामी अत्यन्तै प्रभावित भएका छौँ । कोका-कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको छ र हामी यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिनुभएका कर्मचारी एवम समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतालाई जारी राख्नेछौँ ।'

युनाइटेड ब्रुअरीज लिमिटेडमा विभिन्न भूमिकाहरूमा १५ वर्षभन्दा बढी समय बिताएकी चन्द्रिका कालिया हालै कोका-कोलामा आबद्ध भएकी हुन् । यस भूमिकामा उनले बोटलिङ र बिजनेस पार्टनरहरू लगायत ग्राहकहरू र नेपालका अन्य सरोकारवालाहरूसँग नजिकै रहेर काम गर्नेछिन् । कोका-कोलाले नेपालको सामाजिक तथा आर्थिक वृद्धिमा समेत सकरात्मक प्रभाव पारेको छ । २०१५ को भूकम्पको समयमा ‘फेरी उठ्ने छ नेपाल’ तथा कोभिड-१९ महामारीको बीच ‘स्टप द स्प्रेड’ जस्ता प्रभावकारी एवम् सफल अभियानहरू सञ्चालन गरेको थियो ।

यस सन्दर्भमा जोड्दै कोका-कोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर दीपक नाथ सेन्थिलले भने, 'नेपालमा कोका-कोलाको ५० औं वर्ष मनाउँदै गर्दा हामीलाई सबैभन्दा ठूलो एफएमसीजी ब्रान्ड बनाउनुका साथै कोका-कोलालाई नेपालीहरूको लोकप्रिय खाजा मोमोको साथी बनाएकोमा हाम्रा ग्राहकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । हामी नेपालमा पेय पदार्थहरू मात्र बिक्री नगरेर रोजगारी श्रृजना गर्दै समुदाय एवम् राष्ट्रकै बृहत आर्थिक सेवाप्रति प्रतिबद्ध छौं । हामीलाई यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने हाम्रा बिजनेस पार्टनरहरू, डिस्ट्रिब्युटरहरू, रिटेलरहरू, ग्राहकहरू लगायत हाम्रा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।'

महिलाहरूलाई उद्यमशीलता सम्बन्धी शिक्षा र तालिम दिने ‘सक्षम’ कार्यक्रम मार्फत् कोका-कोलाले नेपाली समुदायसँगको संलग्नतालाई थप विस्तार गरेको छ । कोका-कोला र एटेलियर प्लेटफर्म प्रा.लि.को सहकार्यमा सक्षमले पछिल्लो २ वर्षमा नेपालभर २,००० भन्दा बढी महिलालाई सशक्तीकरण गरिसकेको छ । यस कार्यक्रममा सहभागी महिलाहरूलाई आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्नुका साथै आर्थिक स्वतन्त्रता प्राप्त गर्न र समुदायको सकारात्मक परिवर्तनमा योगदान दिन सक्षम हुन सहयोग गरेको छ । साथै कोका-कोलाले ग्लोकल प्रालिसँगको साझेदारीमा ‘युथ डाइलग’ कार्यक्रम अन्तर्गत नेपालभरका थुप्रै कलेज र विश्वविद्यालयहरूसँग युवाको समग्र विकास तथा सशक्तीकरणमा पहल गरेको छ ।

कोका-कोलाले प्रत्येक वर्ष नेपालीहरूको महान चाड दशैँ, तिहार एवम् छठको अवसर पारेर ग्राहकहरूलाई विभिन्न उपहार योजनाहरू सार्वजनिक गर्ने गरेको छ । हालैको दशैंको अवसरमा सार्वजनिक गरिएको 'सम्बन्ध उत्सव' तीनै क्याम्पेनहरू मध्य एक हो जसले नेपालीहरूलाई आफ्नो सम्बन्ध अझ बलियो बनाउन र अनेकतामा पनि एकताको आनन्द लिन प्रोत्साहित गरेको थियो ।

कोका-कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लु डब्लू एफ, माइती नेपाल, डब्लु एच आर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयर लगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । साथै जाजरकोटमा हालै गएको भूकम्पबाट प्रभावित समुदायलाई पनि कोका-कोला फाउन्डेसनले सहयोग गरेको छ ।

कोका-कोलाले नेपाली हिम-श्रृंखलाहरूको सरसफाई एवम् संरक्षणमा पनि अटल भूमिका खेलेको छ । विगत ३ वर्षदेखि कोका-कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन-अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको छ । नेपालमा कोका-कोला कम्पनीको कोका-कोला लगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरू उपलब्ध रहेका छन् ।

गत ३ वर्षदेखि कोका-कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन-अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको छ ।
नेपालमा कोका-कोला कम्पनीको कोका-कोला लगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरू उपलब्ध रहेका छन् ।


Author

थप समाचार
x