अदालत

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड

इकागज |
माघ ३, २०७९ मंगलबार २१:३१ बजे

फाइल फोटो

काठमाडौँ - राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । 
       
मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१ औँ स्मृतिसभा कार्यक्रममा उनीहरूले सङ्क्रमणकालीन न्यायलाई लम्ब्याउन नहुनेमा जोड दिएका हुन् । 

नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले सङ्क्रमणकालीन न्याय लम्बिँदै गएको हुनाले ऐन संशोधन गरेर जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए । 


सांसद तथा द्वन्द्वपीडित मैना कार्कीले द्वन्द्वकालीन घटनाले धेरै परिवारलाई पीडा दिएको हुनाले उनीहरूको सामान्य माग पूरा गर्दै सङ्क्रमणकालीन न्यायलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

मानवअधिकारकर्मीद्वय चरण प्रसाईं र कनकमणि दीक्षितले न्यायको पर्खाइमा पीडितले धेरै दुःख पाइसकेको हुनाले सङ्क्रमणकालीन ऐन संशोधनमा सरकारले ध्यान दिएर न्याय दिन ढिलाइ गर्न नहुने धारणा राखेका थिए ।  

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विस्तृत शान्ति सम्झौता गरेको लामो समय बितिसक्दा पनि द्वन्द्वकालका घटनाका पीडितले अझै न्याय पाउन नसक्नु पीडादायी भएको र त्यसलाई सबैले मिलेर पूरा गर्नुपर्ने बताए । 
       
सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेश सात वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।
रासस


Author

थप समाचार
x