अदालत

न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्याय सम्पादन हुनुपर्छः कानुन व्यवसायीहरु

इकागज |
पुस ७, २०८० शनिबार १७:१ बजे

काठमाडौँ - कानुन व्यवसायीहरूले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन् । 

न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । शनिबार नेपाल बार एशोसिएसनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा भेला भएका कानुन व्यवसायीहरूले न्याय पाउने कुरा खर्चिलो हुन नहुने आवश्यकता पनि औंल्याएका छन् । वरिष्ठ अधिवक्ता उषा मल्ल (पाठक) ले न्यायालयमा जनआस्था अभिवृद्धिका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्ने बताइन् । उनले न्यायालयको सुधारका लागि यस भित्र देखिएका विकृति र विसंगतिको अन्त्यका लागि नेपाल बार एशोसिएशनले नेतृत्व दायी भुमिका निर्वाह गर्नुपर्ने बताइन् । 


वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘न्यायालय भित्र राजनीतिक दबाब पनि छ । अब यहाँ न्यायाधीशहरू नियुक्तिको विषयलाई लिएर पनि धेरै कुराहरू बाहिर आइराखेको तपाईहरुलाई थाहा नै छ । जनआस्था घट्नुमा चाहिँ जतिपनि यहाँ मुद्दामामिलाहरु आउँछन् । त्यसलाई राजनीतिकरण गरिएको छ । त्यसले गर्दा पनि जनताले छिटो न्याय नपाएको अवस्थामा, न्याय खर्चिलो भइरहेको अवस्था भईरहेकाले जनतालाई न्यायालयप्रति अविश्वास हुनु स्वाभाविकै हो । यसलाई विश्वासिलो बनाउनका लागि कानुन व्यवसायीहरू आफैं पनि विश्वासिलो हुनु पर्दछ । यस भित्रको विकृति, विसंगतिको अन्त्यका लागि नेपाल बारले पनि त्यत्तिकै भुमिका निर्वाह गर्नु पर्दछ । नेपाल बारसहित न्यायपालिका भित्र रहेका सबै अवयवहरुको भुमिकाले मात्रै न्यायालयप्रति जनआस्था बढाउन सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा इमान्दारिता नै हो । अबका दिनहरुमा न्यायपालिका भित्र जनआस्था अभिवृद्धि गर्ने कुरामा, छिटोछरितो न्याय पाउने कुरामा त्यो चाहिँ प्राप्त होस् भन्ने मेरो कामना छ ।’

नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाएर न्यायालयप्रति जनविश्वास बढाउने सकिने बताइन् । उनले नेपाल बारले पनि न्यायालयप्रति जनविश्वास आर्जन गराउनका लागि परेको दाबी समेत गरिन् । 

महासचिव खनालले भनिन्, ‘अदालतप्रतिको जनआस्था बढाउने, न्याय सम्पादनमा वकिलको भुमिका बढाउने कुरामा नेपाल बार लागि राखेको छ । यो आस्था अब बिस्तारै बढ्छ भन्ने मलाई लाग्छ । जनविश्वासलाई कायम राख्नका लागि न्याय सम्पादनको कामलाई छिटो छरितो गर्ने हो । न्याय सम्पादनका लागि उचित न्याय प्रणालीको व्यवस्थापन गर्ने हो । त्यो कुरामा हाम्रो मात्रै होइन, मिडिया, वकिल सबैको रोल समान रुपमा हुन्छ भन्ने लाग्छ मलाई । हामीले स्वतन्त्र र निष्पक्ष न्यायालय होस् भन्ने नेपाल बारको सधैं चाहना हुन्छ । अहिले पनि त्यही हो ।’

अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाई राख्नका लागि नेपाल बार एशोसिएसनको भुमिका महत्वपूर्ण हुने बताए । उनले न्यायमा पहुँच नभएका नागरिकको न्याय निरुपण गर्ने कुरामा अदालत, कानुन व्यवसायी सबैले मिलेर काम गर्नुपर्ने बताए । 

अधिवक्ता मराईले भने, ‘अदालतले पनि कानुनी राज्यको अवधारणाअनुसार चल्नुपर्छ । मुलुकमा कानुनको शासन प्रत्याभूति गराउनका लागि सक्रिय हुनुपर्ने अदालत नै हो । अब केही विषयहरूमा अदालत विवादित भएपनि समग्रतामा अदालतले आफू कानुनको शासन प्रत्याभुत गराउने विषयमा अगाडि बढ्नुपर्ने आवश्यकता नै हुन्छ । र, पछिल्लो चरणमा केही घटनाहरूमा विवादित भएपनि फेरी अदालत र नेपाल बार भनेको चाहीँ एउटा सिक्काको दुई वटा पाटाजस्ता छन् । अदालतको परिपूरक नेपाल बार पनि हो । अदालतको आस्था जोगाइराख्नका लागि नेपाल बारको महत्वपूर्ण भुमिका रहन्छ । खास गरी भुइँ मान्छेलाई न्याय निरुपण गर्ने, गराउने प्रयत्‍नमा नेपाल बारको रहन्छ । र अदालतको पनि त्यो किसिमले अगाडि बढ्नुपर्ने हुन्छ ।’

अधिवक्ता मराईले न्यायालय कानुनी राज्यको अवधारणाअनुसार चल्नुपर्ने पनि बताए । 


Author

थप समाचार
x